बाँकेमा माघी मेलाको तयारी सुरु

हिमाल प्रेस २४ पुष २०७९ १६:२१
4
SHARES
बाँकेमा माघी मेलाको तयारी सुरु

राँझा- माघीको रौनकले बाँकेलाई छुइसकेको छ। थारू समुदायको मुख्य पर्व माघी मनाउन बाँकेका गाउँ-गाउँमा माघी मेलाको तयारी सुरु भइसकेको छ।

राप्ती सोनारी गाउँपालिका-३ भुवरभवानी मन्दिर परिसरमा यही पुस २९ देखि आगामी माघ ४ सम्म मेला लाग्नेछ। मेलाको तयारी धमाधम भइरहेको मूल आयोजक समितिका संयोजक सुरज परियारले बताए।

उनका अनुसार माघी मेलामा यस वर्ष राष्ट्रिय स्तरका ख्यातिप्राप्त थारू कलाकारको प्रस्तुति रहनेछ। यसवर्ष नयाँ अभ्यासका रूपमा थारू गाउँको छुट्टै कक्ष राखेर थारू गाउँ सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको छ। मेलामा करिब पाँच सय कक्ष राखेर महोत्सवकै रूपमा लैजाने तयारी भएको स्थानीय कलाकार विश्वसागर परियारले बताए।

महोत्सव स्थलमा रहेको भुवरभवानी मन्दिर रंगरोगन, मैदान मर्मत र प्रदर्शनी कक्ष दर्ताको काम भइरहेको उनले बताए। माघी मेलामा भक्तजनको उल्लेख्य सहभागिता रहन सक्ने राप्तीसोनारी-३ का अगुवा तुलसीराम थारूले बताए। ‘भुवरभवानी मन्दिर परिसरमा हुने मेलामा हरेक वर्ष बाँकेका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजन आउने गर्छन्,’ उनले भने, ‘यो मन्दिर नेपाल र भारतमा पनि प्रख्यात छ। यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ। पर्यटक भित्र्याउन मेला सहयोगी हुन सक्छ।’

२०१३ सालमा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजा हुने गर्छ। साथै, मेला पनि लाग्ने गर्छ। जहाँ व्यापार-व्यवसायसँगै मनोरञ्जनात्मक कार्यक्रम पनि हुने मेलाका संरक्षक तथा राप्तीसोनारी वडा नंं ३ का वडाध्यक्ष मीनकुमार थारूले बताए।

मेलामा थारू समुदायको कला-संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गर्छ। माघीमा नेपालगञ्जमा पनि पुस २७ र २८ मा लुम्बिनी प्रदेशस्तरीय माघी महोत्सव हुनेछ।

थारू कल्याण कारिणी नगरसभाको आयोजना र विभिन्न थारू संघसंस्थाको समन्वयमा हुने कार्यक्रममा थारूको पहिचान झल्कने वेशभूषा र सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ। साथै, विविध सांस्कृतिक कार्यक्रम पनि हुने गरेको थारू पत्रकार संघ बाँकेका अध्यक्ष भगतराम थारूले बताए। -रासस

प्रकाशित: २४ पुष २०७९ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =