नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौँमा, विकासका लागि रणनीतिक सहकार्य गर्न चीन तयार

हिमाल प्रेस २४ पुष २०७९ १२:४०
32
SHARES
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौँमा, विकासका लागि रणनीतिक सहकार्य गर्न चीन तयार

काठमाडौँ- नेपालका लागि चीनका नयाँ राजदूत छन् सोङ काठमाडौँ ओर्लेका छन्। चिनियाँ पूर्व राजदूत होउ यान्छीले आफ्नो चार वर्षे कार्यकाल सकाएर गत २५ अक्टोबरमा स्वदेश फर्किएपछि चीनले नयाँ राजदूतका रूपमा सोङलाई काठमाडौँ पठाएको हो।

उनी केही समयअघि नै काठमाडौँ आउने भनिए पनि चीनमा पुनः फैलिएको कोभिड-१९ का कारण ढिला भएको बताइएको छ।

यसअघि सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया विभागका उपमहानिर्देशक थिए। उनी चीनको विदेश मन्त्रालयअन्तर्गत रहेको एसिया मामिला विभागमा रहेका पाँच जना उपमहानिर्देशकमध्ये एक हुन्। उनले नेपाल र अफगानस्तानसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका थिए।

यसअघिका राजदूत यान्छी नेपालमा सक्रिय थिइन्। उनको कार्यकालमा सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेका थिए। त्यसबाहेक उनको कार्यकालमा नै नेपाल र चीनबीच महत्त्वपूर्ण सम्झौता र भ्रमणसमेत भएकाले अहिले आउने राजदूतले थप काम गर्नुपर्ने देखिन्छ।

गएको अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को २०औँ महाधिवेशनपछि चीनले नेपालमा नयाँ राजदूत पठाउने निर्णय लिएको हो।

काठमाडौँ ओर्लिने बित्तिकै नेपालका लागि चीनका २२औँ राजदूतले भने, ‘फूलले भरिएको सुन्दर मुलुक नेपाल आउन पाउँदा खुसी लागेको छ। हिमाल र नदीले जोडिएको नेपाल र चीन सम्बन्ध मजबुत छ। १६ सय वर्षभन्दा अघि देखिको यो सम्बन्ध थप बलियो हुनेमा मेरो विश्वास छ।’

औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ देखि सुरु भए पनि नेपाल र चीनको सम्बन्ध नेपाली शिल्पकार अरनिकोको समयदेखिको भएको उनले प्रतिक्रिया दिएका छन्। उनले भने, ‘भूकम्प होस् या कोभिड हामी एकले अर्कोलाई सहयोग गरिरहेका छौँ। हामी समान व्यवहार, मैत्री सहयोग र आपसी हितका आधारमा सम्बन्ध अगाडि बढाउँदै जानेछौँ।’

राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल चीनबीचको सम्बन्धलाई थप स्पष्ट पारेको उनको भनाइ छ। चीनले बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गत सहयोग सूचीमा नेपाललाई राखेको छ। ट्रान्स हिमालयन बहुआयामिक सहकार्य र सम्पर्क सञ्जाल पनि सहकार्यको मुख्य पाटो भएको नवनियुक्त राजदूत सोङले बताए।

नेपालमा नयाँ सरकारले पूर्णता पाउने अवस्थामा रहेकोमा खुसी व्यक्त गर्दै उनले परिवर्तन र नयाँ परिस्थितिलाई चीनले सधैँ साथ दिने धारणा राखे। ‘नेपालको सर्वाभौमिकता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न चीनले सधैँ सहयोग गर्नेछ,’ उनले भने, ‘वर्तमान सरकारसँग मिलेर विकास निर्माणका काममा हातेमालो गर्न चीन तयार छ। साझा विकास र सहकार्य अहिलेको अपरिहार्य आवश्यकता हो।’

राजदूत सोङले अगाडि भने, ‘चिनियाँ भनाइ छ- सबैले काठ जोडे आगो बल्छ। नेपाली भनाइ छ- थोपाथोपाले घैला भर्छ। यसैलाई आधार बनाएर सहकार्य गर्न हामी जहिल्यै सकारात्मक छौँ।’

प्रकाशित: २४ पुष २०७९ १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =