राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहले एकीकरण अभियान सुरु नगरेर यथास्थितिमा यसै छिन्नभिन्न रहेका बाईसे चौबीसे राज्यलाई रहन दिएका भए तिनीहरूको अस्तित्व आज के हुने थियो होला भन्ने अनुमान गरौँ। अवश्य पनि ती विलुप्त हुने थिए। यसै पनि दुई ठूला साम्राज्यका बीचमा आफ्नो स्वतन्त्र अस्तित्व जोगाइराख्नु कठिन काम हो। त्यसमाथि साम्राज्यवादीहरूबीचको टक्कर र स्वार्थको घेरामा विकसित राजनीतिक घटनाक्रम, अधिनायकवादी सोच र आक्रमणकारीहरूको रणनीतिका अगाडि साना टुक्रे राज्यहरूले टिकेर सत्ता बचाउन सक्ने अवस्था कति सम्भव हुन्थ्यो, सोचनीय विषय छ।
विश्वराजनीतिले अनेक मोड पार गरेर यहाँ आइपुग्दा हामी एउटा स्वतन्त्र हिमाली राज्यका रूपमा नेपालको सार्वभौमिकता जोगाइराख्न सफल भएका छौँ। विश्वले कुनै पनि समय कुनै शक्ति राष्ट्रले औपनिवेशिक दासता स्वीकार गराउन नसकेको र सगर्व सार्वभौम राष्ट्रका रूपमा आफूलाई राख्न सक्षम मुलुक भनेर हामीललाई सम्मानसाथ चिन्दछ।
नेपालको सार्वभौमिकता भनेको नेपाल नामसँग जोडिएका भौतिक साँधसिमानाको मात्र कुरा होइन। यो त गौरवपूर्ण इतिहासमा बहादुरीको गाथाले भरिएको नेपाली पहिचान र अस्तित्व हो। हिमाली अधिराज्यलाई एक ढिक्का बनाइराख्न र असली हिन्दुस्तान बनाउने दिशामा काम गर्न एउटा एकीकृत र सबल नेपाल आवश्यक थियो।
त्यस क्रममा दूरदृष्टि भएका, जनताको अभिमतको कदर गर्न सक्ने, स्वाभिमानी, सुयोग्य, सबल र दृढनिश्चयी पराक्रमी राजा पृथ्वीनारायण शाहको उदय भयो। उनको लक्ष्य नेपाल एकीकरण अभियान आफ्नो राज्यको सीमा वा भूगोल विस्तार गर्नु भन्दा पनि सबल, एकीकृत नेपालको निर्माण गर्नु थियो। यस्तो नहुँदो हो भने उनले विस्तारित राज्य आफ्ना छोराहरूलाई भागबण्डा गरिदिने थिए। उनका छोराहरूले कतै यस्तो कामना पनि गरेका थिए भन्ने इतिहासवेत्ताहरूले उल्लेख गरेका छन्।
सबल राष्ट्रको निब राख्ने अभियानमा लागेका पृथ्वीनारायणले यस्तो कुत्सित ध्येय पूरा हुन दिएनन्। यद्यपि उनका बहादुर छोरा र बुहारीहरूले एकीकरणको अभियानलाई निरन्तरता दिँदै पिताको इच्छालाई पूरा गरेको इतिहास साक्षी छ।
पृथ्वीनारायण शाह नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राज्य भएको र यसको संरक्षण, सम्वर्द्धनमा सबैको उत्तिकै योगदान र महत्त्व भएको वास्तविकताबारे भलिभाँती परिचित थिए। आफ्नो राज्यभित्र विभिन्न जातजातिका मानिस र तिनीहरूको रहनसहन र सामाजिक सहअस्तित्वको विषयमा पनि परिचित थिए।
आफ्नो बाल्यकाल गाउँबेसी गर्दै समवयका साथीहरूसँग खेल्दै हुर्केका हुँदा जनजीविका र आफ्नो परिवेशको राम्रो हेक्का थियो। यही ज्ञानको कारणले त भनेका हुन्, ‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो।’ अहिले हामीले संविधानमा लेखेर भने जस्तो ‘इन्क्लुसिभ’ अर्थात् समावेशी सिद्धान्तको पारखी त उनै पृथ्वीनारायण शाह पो रहेछन्। उतिबेलै उनले आफ्नो सेनामा पाँचथरको महत्त्व देखेका थिए। आफ्नो मन नहुँदै गर्दा पनि जनमतको कदर गर्दै पाँडेलाई सरदार कज्याइँ दिएका थिए।
बडामहाराज पृथ्वीनारायण शाह व्यक्ति स्वतन्त्रताको पनि सम्मान गर्दा रहेछन् भन्ने कुरा दासप्रथा उन्मूलन गर्ने सम्बन्धमा उनले जारी गरेको दुई लालमोहरले यथेष्ट वर्णन गर्दछ। प्रजाछेउ जजसले ऋण दिएको छ सो रुपैयाँको ब्याज कसैले लिन पाउँदैन। ‘साउँ साउँ मात्र लेऊ ब्याज लिनु छैन। थिचोमिचो गरी बाँधा लिन्या तेल हाली कमारा कमारी तुल्याउन्यालाई डँडाइ पाउला’ भन्ने लेखिएको छ।
यसरी मानवीय समवेदनाले भरिएका अर्थात् अहिलेको भाषामा भन्ने हो भने मानवअधिकारवादी थिए पृथ्वीनारायण शाह। वास्तवमा पृथ्वीनारायण शाहले काठमाडौँ विजयपछि जीवित कुमारीको पाउ छुनु एउटा सांस्कृतिक सम्मानका साथै जनताको सम्मानसमेत हो।
कसैको मूल्यांकन कसरी गर्ने भन्ने महत्त्वपूर्ण विषय हो। देश निर्माणमा विशेष भूमिका खेलका एउटा शालीन व्यक्तिको मूल्यांकन गर्दा अथवा अरू कुनै महत्त्वपूर्ण घटना वा विषयको चर्चा गर्दा सापेक्षताका आधारमा हेरिनुपर्छ। अहिलेको परिप्रेक्ष्यमा विगतको मूल्यांकन गर्दा त्यो अपूरो, एकांगी र अनुचित हुन जान्छ। कुनै घटना उद्घाटित हुनुमा विविध आयाम जिम्मेवार हुन्छन्।
पश्चिमाहरूले भारतमा अवलम्बन गरेको नीति नेपालमा पनि लागू गरेका छन्। त्यो के भने पहिला जनजाति र अल्पसंख्यकलाई लक्षित गर र बिस्तारै केन्द्रको परिधिभित्र पस। हिन्दु धर्मविरोधी गुटसँग सहकार्य बढाऊ र राजनीतिज्ञहरूलाई प्रलोभनमा खरिद गर।
पृथ्वीनारायण शाहको मूल्यांकन गर्दा त्यही कालखण्डको परिवेश, पात्र र कारण सापेक्षित हुन्छन्। त्यस समयको आवश्यकता र परिणति नेपाल एकीकरण थियो। प्रश्न यत्ति थियो कि एकीकरणको बीजारोपण कहाँबाट र नेतृत्व कसले लिने? त्यस बखतको नेपाल मण्डलभित्रका कान्तिपुर, ललितपुर र भक्तपुर एकआपसको प्रतिस्पर्धाबाट शक्ति क्षीण नभएको भए कान्तिपुरका राजाले नै त्यो अभिभारा लिएका हुने थिए।
किरातकाल र लिच्छविकालदेखि नै विशाल नेपालको आधार चिह्न कोरिएकै थियो। बीचको अवधिमा छिन्नभिन्न भएर टुक्रिएका थिए। पृथ्वीनारायण शाहलाई आक्रमणकारी र अरूको राज्य बलात् हमला गरेर लिएको भनी सोच्नु गलत छ। युद्धमा सिपाही मात्र होइन, भाइभारदार र सहोदर दाजुभाइ पनि मारिन सक्दछन् भनेर उनले गोत्र फेरेका हुन्। युद्धमोर्चाको अग्रपंक्तिमा आफू स्वयम् उपस्थित भएर युद्धको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाह हुन्। शाहवंशीय राजाहरूमा युद्धमोर्चाको अग्रपंक्तिमा आफैँ डटेर लड्ने कुनै राजा छैनन्।
केही विदेशी इतिहासकारले उल्लेख गरेको कीर्तिपुरको घटना आवेश प्रेरित अतिरञ्जित हो भन्ने कुरा त त्यहीँ उल्लिखित बेमेल तथ्यहरूले बताइरहेको छ। ती त कान्तिपुरका राजाले आश्रय दिएर राखेका इसाई धर्मका पादरी कापुचिन, धर्म प्रचारका लागि उनलाई दिइएको उन्मुक्ति, पृथ्वीनारायण शाहको विजयपछि अर्का पादरी जिसेपसहित उनलाई देशनिकाला गरेको प्रतिशोधमा लेखिएका बयान हुन्।
खासमा ती दुई पादरीलाई धर्मको कारण नभई राजनीतिक विद्रोहका लागि उचालेकाले देशनिकाला गरिएको थियो। उनीहरूको देश निकालापछि इसाई धर्म प्रचार र धर्मान्तरण रोकिएको हुँदा पश्चिमा लेखक, अन्वेषक र विभिन्न विषयका विज्ञ नेपालप्रति पक्षपाती रहँदै आएका छन्। कतिपय त अझै पनि दृष्टिदोष पालेर बसेका छन्।
पश्चिमाहरूको वैदेशिक सम्बन्ध र सहयोग सञ्चालनको एउटा अदृश्य तर महत्त्वपूर्ण पाटो इसाई धर्म प्रचार र धर्मान्तरण रहने गरेको तथ्य विभिन्न अध्ययनले देखाउँदै आएका छन्। यस्तो सहयोग अमेरिका, बेलायत मात्र होइन कि नर्डिक मुलुक पनि समावेश छन्। हामीलाई लाग्छ, लोकतान्त्रिक भनिएका अमेरिका तथा बेलायतजस्ता मुलुकहरू साम्यवादलाई शत्रुवत् व्यवहार गर्न रुचाउँछन्। तर तिनै लोकतान्त्रिक मुलुकहरू तेस्रो अल्पविकसित मुलुकमा माओवादी सशस्त्र आन्दोलनलाई गुप्त रूपमा सहयोग गर्दछन्। यसको अन्तर्य के हो?
यसको पहेली बुझ्न केही कठिन छैन। सीधा कुरा के हो भने हिन्दु बाहुल्य मुलुकको यथास्थितिमा दरार ल्याऊ, सांस्कृतिक पहिचान र धरोहर नष्ट गरिदेऊ। यसो गर्दा त्यो समाज कमजोर हुन्छ र धर्मान्तरण गर्न सजिलो हुन्छ। यो अभियान दशकौँदेखि चल्दै आएको छ। पश्चिमाहरूले भारतमा अवलम्बन गरेको नीति नेपालमा पनि लागू गरेका छन्। त्यो के भने पहिला जनजाति र अल्पसंख्यकलाई लक्षित गर र बिस्तारै केन्द्रको परिधिभित्र पस। हिन्दु धर्मविरोधी गुटसँग सहकार्य बढाऊ र राजनीतिज्ञहरूलाई प्रलोभनमा खरिद गर। नेपालमा यो पश्चिमा नीति २०४७ को परिवर्तपछि सफलतापूर्वक सञ्चालन हुँदै आएको छ।
भलै पृथ्वीनारायण शाहले भावनात्मक एकीकरण गर्न समयले भ्याएनन् होला। तर भौतिक एकीकरण गरेर एकीकृत र सबल राष्ट्र हामीलाई दिएर गएका हुन्। उनको यो महान् योगदानलाई अनदेखा गरेर उनीपछिका यो पुस्ता उदासीन र निरपेक्ष कसरी रहन सक्छ?
माओवादीले सञ्चालन गरेको एक दशकको आन्तरिक द्वन्द्वमा हिन्दु धर्ममाथि धेरै प्रहार भयो। अरू कोही दुर्गम स्थानहरूमा कार्यक्रम सञ्चालन गर्न सक्दैन थिए। तर यी मिसनरी भने विभिन्न बहानामा काम गरिरहेका थिए। यही सहकार्य थियो कृष्णबहादुर महराले पादरीको आशीर्वाद थापेको, माधवकुमार नेपाल सन मनुको पिस फाउन्डेसनद्वारा सञ्चालित कार्यक्रममा सक्रिय रहेको र केपी ओलीले होली वाइन पिएको।
यी र यस्तै कर्मलाई पृष्ठभूमिमा राखेर हेर्दा बाह्य शक्तिको चलखेलका कारणले पृथ्वीनारायण शाहका सालिक ढालिए, फोरिए र अपमानित गरिए। राज्य सञ्चालनको बागडोर हातमा लिएकाहरूले वर्षौँदेखि उल्लासमय वातावरणमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसको महत्त्वलाई न्यूनीकरण गरी पहिला राष्ट्रिय बिदा कटौती गर्दै यसको अस्तित्व समाप्त गर्ने दिशातर्फ उन्मुख भएको देखिँदैछ।
कुनै पनि मुलुकका जनताले गर्व गर्ने भनेकै यस्तै नायक र तिनीहरूले कोरेको इतिहासका डोबलाई हुन्। भलै पृथ्वीनारायण शाहले भावनात्मक एकीकरण गर्न समयले भ्याएनन् होला। तर भौतिक एकीकरण गरेर एकीकृत र सबल राष्ट्र हामीलाई दिएर गएका हुन्। उनको यो महान् योगदानलाई अनदेखा गरेर उनीपछिका यो पुस्ता उदासीन र निरपेक्ष कसरी रहन सक्छ?
अरू मुलुकहरू आफ्नो इतिहास र राष्ट्रिय स्वाभिमानलाई पर्वका रूपमा मनाएर सम्झछन् र पुर्खाको योगदानप्रति नतमस्त हुन्छन्। जर्मनीको एकीकरण गर्ने अटो भ्यान बिस्मार्कको सम्झनामा प्रत्येक वर्ष जर्मन दिवस मनाइन्छ। यसरी एकता दिवस मनाउने मुलुक धेरै छन्। छिमेकी भारतले पनि एकता दिवस मनाउँछ। बेलारुस, रुस, बुल्गेरिया, बुरुन्डी, जर्जिया, कजाकस्तान, ताजकिस्तान, अमेरिका जस्ता मुलुकहरूले गर्वका साथ राष्ट्रिय एकता दिवस मनाउँछन्। हामी नेपालीहरू आफ्नो गौरवपूर्ण इतिहास भएर पनि ‘माल पाएर चाल नपाएजस्तो’ बडामहाराजधिराज पृथ्वीनारायण शाहको अवमूल्यन गर्ने प्रयत्न गरिरहेका छौँ।
कसैलाई ‘महाराज आँखा नझिम्क्याई बक्स्योस्’ भनेर भाषण गरेको आधारमा नायक बनाइन्छ। कोही बाहुनको जनै छिनालेर भैँसीपूजा गर्नेलाई अवतारी सम्झन्छन्। कोही होली वाइनको चुस्कीमा राजकीय सान देख्नेलाई शिरपोस लगाउन आतुर छन्। तर रणभूमिमा आफूलाई उत्सर्ग गर्न तयार राष्ट्रनायकलाई एक दिन सम्झने फुर्सद कसैलाई छैन। पृथ्वीनारायण शाहलाई गणतान्त्रिक मुलुकका शासकहरूले भुल्दै गएका छन्। जनमानसमा भने उनीप्रतिको श्रद्धा कायमै छ। त्यसैले राष्ट्रिय एकता दिवसको महत्त्व र उपादेयता अपरिहार्य हुँदै गएको छ।