मनाइयो पृथ्वी जयन्ती [तस्बिरहरू]

दिपेश श्रेष्ठ २७ पुष २०७९ १३:५१
4
SHARES
मनाइयो पृथ्वी जयन्ती [तस्बिरहरू]

काठमाडौँ- हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी थिइन्।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत राजसंस्था शुभेच्छुक तथा सर्वसाधारणलगायतले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए। विभिन्न संघ संस्थाहरूको अगुवाइमा र्‍याली पनि निकालिएको थियो।

१७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदैछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =