संसद्ले प्रधानमन्त्री बनाउने प्रणाली गलत : वामदेव गौतम

मिडियाले कसैलाई भाइरल बनाउने र कसैलाई ठाउँ नदिने काम नगर्न आग्रह

हिमाल प्रेस २२ पुष २०७९ १९:३९
14
SHARES
संसद्ले प्रधानमन्त्री बनाउने प्रणाली गलत : वामदेव गौतम फाइल तस्बिर।

काठमाडौँ– कम्युनिस्ट एकता अभियन्ता एवम् कम्युनिस्ट नेता वामदेव गौतमले संसद्ले प्रधानमन्त्री बनाउने प्रणाली गलत भएको बताएका छन्। शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिद्वारा आयोजित ‘सुशासन प्रवर्द्धनमा सांसद तथा मिडियाको भूमिका’ विषयक छलफलमा उनले यस्तो बताएका हुन्।

संसद्ले प्रधानमन्त्री बनाउने प्रणाली गलत भएको तथा सांसद मन्त्री हुने शासन प्रणाली गलत भएकाले त्यसलाई नसच्याएसम्म भ्रष्टाचार अन्त्य गर्न चुनौती हुने उनको भनाइ छ।

छलफलमा सहभागी वक्ताहरूले राष्ट्र र जनहितका लागि दुवैको भूमिका प्रश्न गर्ने भएकाले मिलेर जान आवश्यक रहेको धारणा राखे। सदस्यहरूले मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न संसदीय समिति र सञ्चार क्षेत्रले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

‘जसले भ्रष्ट्राचारविरुद्ध आवाज उठाउँछ, त्यसलाई निर्वाचन हराउने प्रवृत्ति बाहिर मात्र होइन, पार्टीभित्र पनि छ, व्यक्ति-व्यक्ति भ्रष्टाचारमा संलग्न छन्। जनतामा आधारित शासन, भ्रष्टाचारलाई फेला पार्ने कानून र त्यसमा संलग्न हुनेलाई कारबाही गरिने संस्कृति र परम्परा बसाल्नेतर्फ जानुपर्छ,’ सदस्यहरूको भनाइ छ।

समिति सभापति प्रकाश पन्थले सदन वा समितिको बैठकमा व्यक्ति विशेषले बोलेको एउटै शब्द भाइरल हुने तर अर्काले स्थान नै नपाउने गुनासोलाई सञ्चार क्षेत्रले अन्त्य गर्न सक्नुपर्ने बताए।

वरिष्ठ पत्रकार हरिबहादुर थापाले सुशासनका मुद्दा पछिल्लो समय कमजोर भएकाले भ्रष्टाचार न्यूनीकरणका लागि दुवैको पहल र प्रयासलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको विचार राखे।

समिति सदस्य रमेशजंग रायमाझीले भ्रष्टाचार न्यूनीकरण साझा मुद्दा भएकाले त्यसको अन्त्य गर्न जनप्रतिनिधि र सञ्चारजगत मिलेर काम गर्न जरुरी रहेको बताए। समिति सदस्य सिंहबहादुर विश्वकर्माले भ्रष्टाचार अन्त्यका लागि शासन प्रणालीदेखि ठूलो नेटसम्म दोषी रहेको विचार व्यक्त गरे।

सांसद कमला पन्त र नन्दा चपागाईंले सञ्चार क्षेत्रले दल विशेषका आधारमा नभई स्वतन्त्र भएर समाचार सम्प्रेषण गर्न सुझाव दिए। समिति सदस्य विमला घिमिरेले भ्रष्टाचार नीति र विधिसँग मात्र नभई नैतिकतासँग जोडिएको हुँदा समाजले पनि निगरानी गर्नुपर्नेमा जोड दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =