नेपाली युवा पहिलोपटक प्रविधि पढ्न जापान र लेखा सिक्न भारत पुग्दाका ती दिन

सन्तोष खडेरी २३ पुष २०७९ ७:४६
नेपाली युवा पहिलोपटक प्रविधि पढ्न जापान र लेखा सिक्न भारत पुग्दाका ती दिन

आजभन्दा १२१ वर्षअघि सन् १९०२ मा नेपालबाट पहिलोपटक ८ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि जापान पठाइएको थियो। सोही वर्ष अन्य दुई युवालाई लेखा प्रणाली सिक्न भारत पठाइएको थियो।

जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इन्जिनियरिङ अध्ययनका लागि जापान गएका थिए। देवनरसिंह राणा र बालनरसिंह रायमाझी खनिज विषयको अध्ययननका लागि गएका थिए। यसैगरी हेमबहादुर राजभण्डारी मेकानिकल इन्जिनियरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स तथा लेकर भेस विषय अध्ययनका लागि जापान गएका थिए। विचारमान सिंहले विषय परिवर्तन गरी रेसमखेती पढेका थिए। दीपनरसिंह राणालाई कृषि विषय अध्ययन गर्न पठाइएको थियो।  (शताब्दी पूर्व जापानमा अध्य्यन गर्ने अग्रज नेपाली विद्यार्थीहरू, हरेन्द्र बरुवा) 

नेपालले सरकारकै खर्चमा प्राविधिक शिक्षा हासिल गर्न विद्यार्थीलाई जापान पठाएको विषयमा त्यतिबेला भारतको एउटा मासिक पत्रिकाले यसरी लेखेको थियो, ‘नेपालले पनि पश्चिमा विकासको शैलीबाट प्रभावित भएर आफ्ना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका जापान पठाएको छ। ती विद्यार्थी नेपाल सरकारकै खर्चमा त्यहाँ अध्ययन गर्नेछन्। त्यहाँबाट फर्किएपछि उनीहरूलाई सरकारकै सेवामा लगाइनेछ। नेपालमा प्रशस्त खनिजको स्रोत छ। नेपालको तालिम प्राप्त आफ्नै दक्ष जनशक्ति हुँदा उसले आफ्नो स्रोतहरूको उपयोग गर्न सक्यो भने त्यहाँका जनताका लागि प्रशस्त लाभ मिल्नेछ।’ (दी मोर्डन रिभ्यु, अगस्ट १९०२)

नेपाली युवा अध्ययनका लागि जापान गएको विषयमा अनुसन्धान गरी नेपाली, अंग्रेजी र जापानी तीनवटै भाषामा अध्येता हरेन्द्र बी बरुवाले शताब्दी पूर्व जापानमा अध्ययन गर्ने अग्रज नेपाली विद्यार्थीहरू नामक पुस्तक सन् २००२ (२०५९ साल) मा प्रकाशित गरेका छन्।

बरुवाले उक्त पुस्तकमा योकोहामा समुद्री बन्दरगाहको आप्रवासन अभिलेखअनुसार ती नेपाली युवा सन् १९०२ जुन १७ मा योकोहामा पुगेको उल्लेख गरेका छन्। तर योकोहामाबाट साप्ताहिक रूपमा प्रकाशित हुने स्थानीय अखबारमा भने उनीहरू जुन ९ मा योकोहामा पुगेको उल्लेख छ।

भारतको बम्बईबाट उनीहरू कागोसिमा मारु नामक पानीजहाजबाट योकोहामा पुगेका थिए। उनीहरू सुरुका केही दिन योकोहामा फुजी ट्रेडिङ कम्पनी, २५१ नम्बर, यामासिताचो योकोहामामा बसेका थिए।  समाचारमा ती आठ जनामध्ये चार जना टेक्निकल केजल अफ टोकियो इम्पेरियल युनिभर्सिटी, तीन जना टोकियो टेक्निकल स्कुल र एकजना कोम्बाको एग्रिकल्चर कलेजमा जाने उल्लेख थियो। (दी जापान विक्ली मेल, योकोहामा, २१-जुन-१९०२)

आठ नेपाली विद्यार्थीका साथ १७ जना कामदार गएका थिए। उनीहरूका अभिभावकका रूपमा स्वामी विवेकानन्दका शिष्य भारतीय स्वामी पुरानन्द गिरीलाई पठाइएको थियो। यसरी नेपाली टोलीमा आठ विद्यार्थी, १७ कामदार र एकजना पथप्रदर्शक गरी २६ जना थिए।

उनीहरूलाई जापान जान सुरुमा ६ हजार ७०० रुपैयाँ दिइएको थियो। त्यस्तै नेपाल सरकारका तर्फबाट जापानमा एक वर्षका लागि थप १२ हजार ८४० भारु वीरगन्जस्थित खजानाबाट दिने उल्लेख थियो। उनीहरू सन् १९०२ को अप्रिल २९ मा बम्बेबाट कोलम्बो, रंगुन, सिंगापुर, हङकङ, कोबे हुँदै योकोहामा तर्फ लागेका थिए। (शताब्दी पूर्व जापानमा अध्ययन गर्ने अग्रज नेपाली विद्यार्थीहरू, हरेन्द्र बरुवा)

नेपाली विद्यार्थी अध्ययनका लागि जापान पुगेको कुरा धेरैलाई थाहा छ। यसबारे पुस्तक पनि प्रकाशित भइसकेको छ।

त्यसै वर्ष नेपालले लेखा प्रणालीबारे सिक्न दुई युवालाई भारत पठाएको विषय भने हामीमध्ये कमैलाई जानकारी हुन सक्छ। किनकि त्यो विषय त्यतिबेला कहीँकतै सार्वजनिक भएको थिएन। सन् १९०२ (१९५९ कात्तिक) मा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले दुई युवालाई लेखाप्रणाली सिक्न भारतमा पठाएका थिए।

ती दुई युवालाई भारतको युनाइटेड प्रोभिन्स अफ आग्रा एन्ड अबध (हालको उत्तरप्रदेश) को इलाहाबादमा ती प्रान्तको लेखाप्रणालीबारे सिक्न पठाइएको थियो। त्यसका लागि नेपालमा रहेका ब्रिटिस रेजिडेन्ट र प्रधानमन्त्री चन्द्रशमशेरका बीच पटकपटक पत्राचार भएको थियो। नेपालस्थित ब्रिटिस रेजिडेन्टले आफ्नो सरकारमा पठाएको सन् १९०२ को वार्षिक प्रतिवेदनमा लेखेका छन् – ‘नेपालले यस वर्ष ८ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि जापान पठाएको छ। गभर्मेन्ट अफ इन्डियाको अनुमतिमा युनाइटेड प्रोभिन्स अफ आग्रा एन्ड अबधको अफिस अफ दी एकाउन्टेन्ट जनरलको कार्यालय इलाहाबादमा उक्त प्रान्तमा अपनाइएको लेखा प्रणालीको अभ्यासबारे सिक्न दुई जना थप युवालाई भारत पठाएको छ।’ (नेपालस्थित ब्रिटिस रेजिडेन्टले आफ्नो सरकारलाई पठाएको सन् १९०२ को वार्षिक रिपोर्ट)

नेपालस्थित ब्रिटिस रेजिडेन्ट र प्रधानमन्त्री चन्द्रशमशेरका बीचमा भएका पत्राचारअनुसार भारत जाने युवामा डम्बरशमशेर थापा र गंगाबहादुर बस्नेत थिए। डम्बरशमशेर थापा केशरसिंह थापाका छोरा थिए। केशरसिंह खड्गशमशेर, देवशमशेर, चन्द्रशमशेर र भीमशमशेरका मामा थिए।

१९४३ सालमा खड्गशमशेर पर्वमा वीरशमशेरले खड्गशमशेरलाई पाल्पा धपाउँदा मामा केशरसिंह थापालाई सल्यान पठाएका थिए। केशरसिंह थापाको ठाहिँला छोराका रूपमा डम्बरशमशेरको जन्म १९४० सालमा काठमाडौँको नक्सालमा भएको थियो। डम्बरशमशेरले १७ वर्षको उमेरमा १९५६ मा प्रथम श्रेणीमा म्याट्रिक पास गरेका थिए। दुई वर्षपछि १९५८ सालमा द्वितीय श्रेणीमा एफए उत्तीर्ण गरेका थिए। उनी एफए उत्तीर्ण गरेलगत्तै कप्तानको पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए। (डायरीका पाताबाट क.क. स्वर्गीय डम्बरशमशेर थापा)

डम्बरशमशेर थापा र गंगाबहादुर बस्नेतले इलाहाबादको एकाउन्टेन्ट जनरल अफिसमा १९५९ साल कात्तिक ४ (तदनुसार सन् १९०२ अक्टोबर २०) देखि लेखा प्रणाली सिक्न थालेका थिए। यसलाई क.क. डम्बरशमशेर थापाको डायरीका पातामा यसरी उल्लेख गरिएको छ –  ‘१९५९ सालमा सरकारले दुई वर्षसम्म एकाउन्टेन्ट जनरल अफिस इलाहाबादमा स्रेस्ताको काम सिक्न पठायो।’

जापान गएकामध्ये देवनरसिंह बिरामी भएर अरूभन्दा पहिले नै नेपाल फर्किए। इम्पेरियल युनिभर्सिटीबाट दीक्षित सात जना नेपाली विद्यार्थीलाई १९०५ को २३ जुलाईका दिन एङ्ग्लो इन्डियन एसोसिएसनले एक कार्यक्रमका बीच बिदाइ गरेको थियो। (दी जापान विक्ली मेल, योकोहामा, २९-जुलाई-१९०२)

तीन वर्ष जापानमा रहेर सन् १९०५ मा नेपाल फर्किएका ती युवालाई नेपालमा पनि सम्बन्धित काममा लगाइएको थियो। बरुवाका अनुसार जंगनरसिंह राणा, भक्तबहादुर बस्न्यात, बालनरसिंह रायमाझी र हेमबहादुर राजभण्डारीलाई हतियार कारखानामा काम लगाइएको थियो। दीपनरसिंह राणालाई सप्तरीमा चन्द्रनहर बनाउने जिम्मा दिइएको थियो। देवनरसिंह बिरामी भएकाले केही चाँडो नेपाल फर्किए र उनको छिट्टै निधन भयो। रुद्र र विचारमानले कहाँ काम गरे भन्ने जानकारी छैन।

भारतमा लेखा प्रणाली सिकेर १९६१ मा नेपाल फर्किएका डम्बरशमशेर थापा र गंगाबहादुर बस्नेतले नेपालमा त्यही लेखाप्रणाली क्षेत्रमा के कस्तो काम गरे भन्ने खोजीकै विषय छ। डम्बरशमशेर थापाले राणाकालमा गैरराणाले प्राप्त गर्ने सबैभन्दा उपल्लो पद कमान्डिङ कर्नेल पद प्राप्त गरेका थिए। गंगाबहादुरबारे थप जानकारी उपलब्ध छैन। तर चन्द्रशमशेरकै पालामा कुनै समय गंगाबहादुरलाई छाला अड्डाको नेतृत्व दिइएको थियो। नेपालको आधुनिक लेखा प्रणालीको इतिहासका अध्येताका लागि लेखा प्रणाली सिक्न भारत जाने ती दुई युवाको योगदान उपयोगी हुन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast