सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्यामा ७० प्रतिशतले वृद्धि

हिमाल प्रेस २० पुष २०७९ २१:३४
6
SHARES
सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्यामा ७० प्रतिशतले वृद्धि फाइल तस्बिर।

काठमाडौँ– सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो ५ महिनाको तथ्यांकलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्यामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको पाइन्छ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांकअनुसार गत आवको पहिलो ५ महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन्। चालु आवको साउनमा ३ सय ८५, भदौमा छ सय ९०, असोजमा छ हजार सात सय ३१, कात्तिकमा १३ हजार एक सय ५८ र मंसिरमा चार हजार ६५ पर्यटक खुम्बु पुगेको निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए।

५ महिनामा २१ हजार ८ सय ५३ विदेशी र ३ हजार १ सय ७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलको भनाइ छ। भ्रमण गर्ने विदेशी पर्यटकमध्ये एक हजार नौ सय ९० सार्क मुलुकका र १० हजार ८ सय ६३ अन्य मुलुकका रहेको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट ५ महिनामा ३ करोड ५५ लाख ७७ हजार एक सय ७६ राजस्व संकलन गरेको छ। विदेशी पर्यटकबाट प्रतिपर्यटक ३ हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार ५ सय र नेपालीबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ।

अघिल्लो वर्ष कोभिड महामारी नियन्त्रणका लागि गरिएको लकडाउन तथा संक्रमण जोखिमका कारण पर्यटक आवागमन न्यून बनेको सगरमाथा क्षेत्रमा यस वर्ष जोखिम हटेसँगै पर्यटक आवागमन बढेको निकुञ्जले जनाएको छ।

०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। पू्र्वीनेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन्।

प्रकाशित: २० पुष २०७९ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =