झापा– पुस लागेदेखि नै यहाँका पर्यटकीयस्थल वनभोजमय बन्न पुगेका छन्। अरूबेला सार्वजनिक बिदाका दिन घुइँचो देखिने त्यस्ता ठाउँमा अचेल सातैबार चहलपहल हुने गरेको छ।
कनकाई नदीको ५ किलोमिटर वरपर आधा दर्जन ठूला पर्यटकीयस्थल रहेका छन्। धार्मिक महत्त्वको कोटीहोम र माईधारमा धार्मिक पर्यटकको घुइँचो लाग्छ भने मनोरञ्जन तथा घुमफिरका लागि यहाँको दोमुखा, धनुषकोटी, जामुनखाडी र हेप्पीलेन्ड नामका प्राकृतिक तथा मानव निर्मित पर्यटकीयस्थल सञ्चालनमा छन्।
कनकाई नदीको दोमुखास्थित पूर्वी र पश्चिम किनारमा १ सातायता दैनिक सयभन्दा बढी समूह वनभोजका लागि आउने गरेका छन्। तीर्थस्थलका रूपमा नदीमा पूजापाठका लागि आउने धार्मिक पर्यटकको संख्या वनभोजमा आउनेभन्दा दोब्बर हुने गरेको छ।
चुरे पहाड छिचोलेर तराईमा फुत्त निस्किएझैं लाग्ने कनकाई नदीको कलकल पानी, हरिया प्राकृतिक डाँडाकाँडा, चिल्ला ढुंगाको बगर, मानवनिर्मित मनोरञ्जन उद्यानले कनकाई नदीवारिपारि आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनबहादुर लावती बताउँछन्।
नदीको पश्चिमतिर शिवसताक्षी-१० मा रहेको दोमुखा पर्यटकीय क्षेत्र विगत तीन दशकदेखि वनभोजका लागि आकर्षक गन्तव्य बन्दै आएको छ। यहाँको प्राकृतिक सौन्दर्य र पर्यटकीय महत्त्वलाई समेटेर दर्जनौँ सिनेमा, सयौँ वृत्तचित्र र हजारौँ गीति भिडियो बनिसकेका छन्।
पुस लागेयता वनभोजका लागि दैनिक ५ हजार आन्तरिक पर्यटक दोमुखा क्षेत्रमा आउने गरेको अध्यक्ष लावतीले जानकारी दिए। पर्यटक सत्कारका लागि यहाँका होटल तथा अन्य व्यवसायीहरूले विभिन्न तालिमसमेत लिएका छन्।
दोमुखाको अर्को आकर्षण यहाँ तीन दशकअघि निर्मित नहरको बाँध पनि हो। कनकाई सिँचाइ परियोजनाले बाँधेको बाँधले एकातिर पानीको सतह बढेको छ भने अर्कातिर नहरतिर बग्ने पानी मनमोहक देखिन्छ। यहाँ बल्छीमा माछा मारेर खानेहरू पनि आउने गर्छन्। पूर्वपश्चिम राजमार्गको माईधार चोकबाट करिब चार किलोमिटर उत्तर रहेको सो क्षेत्रमा पर्यटकलाई बास बस्न र खानका लागि आधा दर्जन सुविधासम्पन्न होटल सञ्चालन भइसकेका छन्।
होटलमा मौलिक खानेकुराका रूपमा कनकाई नदीको माछा, घुँगी, गंगटासमेत पाइन्छ। दोमुखा क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण र व्यवस्थापनका लागि शिवसताक्षी नगरपालिकाले २३ करोड रुपैयाँको लगानीमा पर्यापर्यटन गुरुयोजना अघि बढाएको छ। आन्तरिक स्रोतले मात्र नभ्याउने भएकाले प्रदेश र संघीय सरकारबाट समेत बजेट जुटाउने कार्य भइरहेको छ।
सो क्षेत्रका प्रतिनिधिसभा सदस्य लालप्रसाद (एलपी) साँवाले यसै वर्ष माईधारदेखि दोमुखासम्मको ग्राभेल सडकलाई कालोपत्र गरिने जानकारी दिए।
मुलुकको आर्थिक विकास र जनताको समृद्धिको मुख्य आधार नै पर्यटन भएको जनाउँदै उनले धार्मिक तथा पौराणिक महत्त्वको कनकाई नदी र स्थानीय पर्यटकीयस्थलको पूर्वाधार विकासमा सबै तहको सरकारलाई लगानीका लागि पहल गरिने बताउनुभयो ।
नदीको पूर्वी किनारमा कनकाई नगरपालिकामा रहेको सुकेडाँगी तथा धनुषकोटी पर्यटकीय क्षेत्र रहेको छ। शिवसताक्षीको दोमुखा र कनकाईको धनुषकोटीलाई जोड्न कनकाई नदीमा फलामे झोलुंगे पुल निर्माण गरिएको छ।
नदी, बाँध र उत्तरतिरको चुरे पहाडलाई पृष्ठभूमिमा राखेर झोलुंगे पुलमा फोटो खिचाउनेको भीड लाग्ने गरेको पत्रकार सरोज भट्टराई बताउँछन्।
कनकाई-२ स्थित सुकेडाँगी सामुदायिक वनभित्र कनकाई नदीको पूर्वी किनारमा रहेको धनुषकोटी धाम तथा पर्यटकीयस्थल झापा र जिल्ला बाहिरबाट वनभोजका लागि आउने आन्तरिक पर्यटकको रोजाइ बन्ने गरेको छ। पूर्वपश्चिम राजमार्गबाट ३ किलोमिटर कालोपत्र सडक हुँदै सहज रूपमा पुग्न सकिने धनुषकोटीमा वनभोजका लागि चौर, उद्यान, बिजुली, पानी, शौचालय आदिको सम्पूर्ण पूर्वाधारको व्यवस्था छ।
संघ-संस्था र युवा क्लबको साधारणसभा, जन्मोत्सव र वनभोजका कारण पुस तथा माघमा धनुषकोटी पर्यटकीय क्षेत्र पर्यटकले भरिभराउ हुने गरेको सुकेडाँगी सामुदायिक वनका अध्यक्ष शान्ति उपाध्यायले बताइन्।
सामुदायिक वनले पर्यटकलाई सुविधा पुर्याउन बर्सेनि पूर्वाधार निर्माणमा लगानी थप्ने र सरसफाइमा ध्यान दिने गरेको उनले जानकारी दिइन्।
यहाँ दैनिक ४ हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन्। वनको सात सय ४२ हेक्टर वन क्षेत्रमध्ये ५ हेक्टर क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गरिएको र त्यहाँ तीनजना सरसफाइ कर्मचारी खटाइएको उनको भनाइ छ।
जिल्लाका विभिन्न पालिकाबाट मात्र नभएर मोरङ, सुनसरी, इलाम, चितवन र भारतको दार्जिलिङबाट समेत डुलफिर तथा वनभोजका लागि पुसको पहिलो सातादेखि नै हरेक दिन सरदर ३० वटा समूह वनभोजका लागि आउने गरेको उनले जानकारी दिइन्।
वनभोजका लागि नजिकै रहेको अर्को प्रसिद्ध पर्यटकीयस्थल जामुनखाडी सिमसार हो। जामुनखाडी सिमसार नजिकै हेप्पीलेन्ड पार्क नामक पर्यटकीय आकर्षणको केन्द्र रहेको छ। जामुनखाडी, हेप्पीलेन्ड र धनुषकोटीलाई पर्यटक मार्ग नाम दिएर सडक सञ्जालले जोडिएको छ भने त्यहाँबाट दोमुखा जान कनकाईमा राजमार्गको पुल र दोमुखामै झोलुंगे पुल रहेको छ।
कनकाईमा रहेका पर्यटकीयस्थललाई सडक सञ्जालले जोड्नका लागि कनकाई नगरपालिकाले४३ लाख बजेट विनियोजन गरिसकेको छ भने स्थानीय सामुदायिक वनहरूले यसमा बजेट थपेका छन्।
कनकाई-१ र २ मा फैलिएको जामुनखाडी सिमसार झापाको पुरानो तथा देशमै पहिचान बनाइसकेको पर्यटकीयस्थल हो। कोरोना महामारी आउनुभन्दा अघिसम्म हरेक वर्ष अढाइ लाख आन्तरिक पर्यटक भित्र्याउन सफल यसको उसबेलाको वार्षिक आम्दानीतीन करोडसम्म हुन्थ्यो।
‘कोरोना महामारीपछि पर्यटकीय क्षेत्र सुस्तायो, चहलपहल नै घट्यो,’ जामुनखाडी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौलाले भने, ‘यस वर्षदेखि पर्यटकीय चहलपहल फेरि बढेको छ, वनभोज खान र डुलफिरका लागि टाढादेखि पर्यटक आउन थाल्नु सुखद विषय हो।’
जामुनखाडी सिमसारमा ०६० सालमा निर्मित दुई ठूला ताल छन्। जहाँ डुंगा सयरका लागि पर्यटक आकर्षित हुने गरेका छन्। वनले मिनी चिडियाखाना सञ्चालन गरेका कारण पर्यटक लोभिने गर्छन्। जिल्लाका सामुदायिक वनले आफ्नो प्राकृतिक स्रोत र साधनको पहिचान तथा प्रचार गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गरेका छन्। चन्द्रगढी, खुट्टेडाँगी, कालिका, बाँसबारीलगायतका दर्जनौँ सामुदायिक वनले वनभोजस्थलको पूर्वाधार निर्माण गरेर पर्यटकीय आकर्षण बढाएका छन्।