काठमाडौँ महानगरभित्रका विद्यालय प्रवेश गर्न विभागबाट स्वीकृति लिनुपर्ने

हिमाल प्रेस २० पुष २०७९ १६:४१
4
SHARES
काठमाडौँ महानगरभित्रका विद्यालय प्रवेश गर्न विभागबाट स्वीकृति लिनुपर्ने

काठमाडौँ– काठमाडौँ महानगरपालिकामातहतका विद्यालय प्रवेश गर्न स्वीकृति लिनुपर्ने भएको छ। विद्यालयसँग असम्बन्धित व्यक्तिहरू विद्यालय हातामा प्रवेश गरी अवाञ्छित र अनुचित क्रियाकलाप गरेको भेटिएपछि महानगरले मातहत विद्यालय प्रवेशमा कडाइ गरेको हो।

विभिन्न राजनीतिक दल, भातृ संगठन, सामाजिक-धार्मिक संघ संस्थाका नाममा विद्यार्थी तथा शिक्षकसँग जबरजस्ती आर्थिक सहयोग माग्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, असम्बन्धित कामका लागि उक्साउनेजस्ता क्रियाकलाप भएपछि महानगरले यस्तो कडाइ गरेको हो।

महानगर शिक्षा विभागको स्वीकृतिबिना विद्यालयमा कसैलाई प्रवेश गर्न नदिन महानगरले मातहतका विद्यालयको नाममा परिपत्र जारी गरेको छ।

महानगरले अतिथि शिक्षकलगायत विभिन्न नाममा विद्यालयमा अवाञ्छित क्रियाकलाप भइरहेको हुँदा अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकाले विद्यालय प्रवेशका लागि विभागको स्वीकृति अनिवार्य गरेको हो।

‘विद्यालयमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, गेष्ट लेक्चर, चन्दा आदिका नाममा विद्यालय तथा शिक्षक विद्यार्थीसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीलाई अवाञ्छित गतिविधिका लागि उक्साउनेजस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकोले पूर्वस्वीकृतिबिना प्रवेश नगराउन र आमन्त्रण गर्नुपर्ने भएमा जानकारी गराएर मात्र प्रवेश गराउनुपर्ने छ,’ विभागले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ।

विद्यालय व्यवस्थापकले पठन पाठन समयमा हुने यस्ता क्रियाकलापले विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने गुनासो गर्दै आएको थियो।

प्रकाशित: २० पुष २०७९ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =