पाँचपटक म्याद थप्दा पनि सकिएन विद्युत् गृहको काम

हिमाल प्रेस १८ पुष २०७९ १५:५४
14
SHARES
पाँचपटक म्याद थप्दा पनि सकिएन विद्युत् गृहको काम रानी जमरा सिँचाइ आयोजना।

कैलाली- राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत जानकी गाउँपालिका-९ मा निर्माणाधीन विद्युत् गृहबाट गएको असार मसान्तसम्म विद्युत् उत्पादन सुरु गरिने बताइएको थियो।

सन् २०१४ मा सुरु भएको विद्युत् गृह निर्माणको काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको समयावधि पनि सर्दै गएको छ।

हालसम्म आयोजनामा पाँचौँ पटक म्याद थप भएको छ। पछिल्लो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म रहेको छ। तर पछिल्लो थप गरिएको समयमा पनि विद्युत् गृह निर्माण सम्पन्न नहुने देखिएको छ।

आयोजना प्रमुख केदार श्रेष्ठले गत असोजमा आएको बाढीले निर्माणाधिन विद्युत् गृहमा क्षति पुर्‍याएका कारण काम ढिला भएको बताए।

‘जडान भएको सामान बाढीले क्षति पुर्‍याएपछि झिकेर मर्मत गर्नुपर्ने भयो,’ उनले भने, ‘त्यसभन्दा पहिले विद्युत् गृहका सामान आयातमा पनि समय लाग्यो।’

तुन्दी कन्स्ट्रक्सनका इञ्जिनियर उदय पोख्रेलका अनुसार सुरुका २ वर्ष वन विभागले रुख काट्न आदेश नदिएका कारण पनि निर्माणको काम ढिला भयो। उनले आयोजनाको म्याद चैतसम्म मात्रै भए पनि सबै काम सम्पन्न गरेर आगामी असारसम्म विद्युत् उत्पादन हुने बताए।

हालसम्म आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भएको छ। विद्युत‍्गृह नेपाल सरकारको ९० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। यसबाट ४.७१ मेगावाट विद्युत् उत्पादन हुनेछ।

प्रकाशित: १८ पुष २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =