मोहन राईको ‘निर्देशकको यात्रा’ सार्वजनिक

हिमाल प्रेस १८ पुष २०७९ १२:२८
24
SHARES
मोहन राईको ‘निर्देशकको यात्रा’ सार्वजनिक

काठमाडौँ-आजभन्दा दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशित भएको छ। गत शुक्रबार राजधानीमा एक कार्यक्रम गरी किताब विमोचन गरियो।

मोहन राईले अनुवाद गरेको पुस्तकको अभि सुवेदी, जोएल हिबोनेट, नवीन सुब्बा, सुषमा राईले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। राईले ‘महानगर’ फिल्मको निर्देशन गरेका छन्।

कार्यक्रममा युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताइन्। पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा उनले कार्यक्रममा राखेकी थिइन्।

‘यसको महत्त्वलाई बुझेर युरोपियन युनियनले पनि नेपालमा युरोपियन फिल्म फेस्टिभल गरिरहेको छ,’ उनले भनिन्, ‘यस्ता किताबको प्रकाशनले नेपाली फिल्मकर्मीलाई थप प्रतिस्पर्धी सिनेमा बनाउन मद्दत गर्छ भन्ने विश्वास छ।’

कार्यक्रममा निर्देशक नवीन सुब्बाले निर्देशनसम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब मोहन राईले अनुवाद गरेकोमा आफूलाई ईष्र्या लागेको बताए। ‘यो किताब अगाडि राखेर मात्र पनि फिल्म निर्देशन गर्ने हो भने अहिले बनिरहेका भन्दा उत्कृष्ट नेपाली फिल्म बनाउन सकिनेछ,’ उनले भने।

पुस्तक दुई दशकअघि प्रकाशित भएकाले पछिल्लो समयको ज्ञान यसमा नसमेटिए पनि अनुदित किताब हरेक फिल्मकर्मीको ‘बुकसेल्फ’मा हुनैपर्ने जिकिर सुब्बाको थियो।

मोहन राईले दिग्गज फिल्मकर्मीसँगको अन्तर्वार्तामा आधारित ‘जक्स्टापोजिसन’ प्रकाशन गरेका छन्। लेखक अभि सुवेदीले मोहन राई आफ्नो प्रिय शिष्यमध्ये एक रहेको बताउँदै उनको सक्रियता लोभलाग्दो रहेको बताए। उनले किताबको अनुवादमा अलि क्लिष्ट शब्द प्रयोग भए पनि किताब फिल्मका लागि मात्र नभएर थिएटरका लागि पनि उत्तिकै उपयोगी रहेको बताए।

‘यो किताब फिचर फिल्म निर्देशनमा केन्द्रित भए पनि यसले सहकार्यको कुरामा जोड दिएको छ,’ सुवेदीले भने, ‘अहिले थिएटर र सिनेमामा यस्तो अभ्यास देख्न सकिन्छ। थिएटरका मान्छे फिल्ममा गइरहेका छन् र फिल्मका मान्छे थिएटर गर्न इच्छुक छन्। यो किताबमा त्यस्ता कुरा सम्बोधित भएका छन्।’

अनुवादक राईले आफूले सात–आठ वर्ष अगाडिदेखि यो पुस्तकमा काम गरिरहेको बताए। ‘लामो समयदेखि यसमा काम गर्दै आए पनि विविध कारणले ढिलो हुन गयो,’ उनले भने।

आफू यस्ता प्राज्ञिक काम निःशुल्क गर्न तयार रहे पनि यसमा संस्थागत साथसहयोग आवश्यक पर्ने उनको भनाइ थियो। ‘म त निःशुल्क पनि यस्ता काम गर्न तयार छु,’ उनले भने, ‘तर एक जनाले मात्र गरेर यो सम्भव हुन्छ जस्तो लाग्दैन। मेरो अघिल्लो पुस्तक पनि प्रकाशनका लागि चलचित्र विकास बोर्ड धाएँ। तर, ठोस उपलब्धि नभएपछि आफैँ प्रकाशन गर्न कस्सिएको हुँ।’

कार्यक्रममा लेखक मार्क ट्राभिसले पनि राईलाई अनुवादका लागि भिडियो सन्देशमार्फत शुभकामना दिएका थिए।

प्रकाशित: १८ पुष २०७९ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =