बागलुङको एउटै गाउँमा फल्यो ३ करोडको सुन्तला

हिमाल प्रेस १७ पुष २०७९ १६:४५
बागलुङको एउटै गाउँमा फल्यो ३ करोडको सुन्तला फाइल तस्बिर- रासस

बागलुङ– बागलुङ नगरपालिका-८ स्थित सिगानामा यस वर्ष झण्डै ३ करोडको सुन्तला उत्पादन भएको छ। उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ। सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ। ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे २ करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै ५० लाख रुपैयाँको सुन्तला बिक्री हुन बाँकी छ।

८ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष ५ लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताउनुभयो। उहाँले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गरे।

‘सिगानामा म जस्तै झण्डै ६०भन्दा बढी किसान रहेको अनुमान छ, तथ्यांक संकलनमा अझै कमजोर छौँ, स्थानीय वडा कार्यालयलाई यसको कुनै जानकारी छैन, कुनै किसानले न्यूनतम २५ हजारदेखि अधिकतम ५ लाखसम्म सुन्तलाको व्यापार गर्र्दछन्’, किसान खड्काले भने, ‘यस वर्ष सुन्तलाको दाना निकै राम्रो छ तर धेरै स्थानमा उत्पादन बढेपछि सुन्तला व्यापारीले कम मूल्यमा सुन्तला खरिद गरेको पाइयो, हाम्रो अनुमानमा सिगानामा यस वर्ष ३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ।’

उहाँका अनुसार पोखराका व्यापारीले यहाँ किसानका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन्। बगैँचा विस्तार र मलजल राम्रो गरेपछि यस वर्ष किसानले सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका हुन्।

यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको जानकारी दिनुभयो। उहाँले औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताए।

गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै २ करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्यांक छ। यस वर्ष पनि सुन्तला बिक्रीको तथ्यांक संकलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्यांक संकलनमा ढिलाइ भएको जानकारी दिए।

बिक्री लक्ष्यअनुसार ३ करोडको सुन्तला उत्पादन भएको बताउनुभयो। पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर उनले बजार पुर्‍याउने गरेका छन्।

नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक ५० लाखका दरले सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिएका छन्। सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइरहेको छन् भने १० हजारभन्दा बढी बोट उत्पादनको तयारीमा छन्। यहाँका किसान सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर भइसकेका र आधा दर्जनभन्दा बढी सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना भइसकेको यहाँका किसानले जनाएका छन्।

सिगानामा ५ वर्षअघिदेखि सुन्तलाखेती वृद्धिका लागि अन्य रुख फँडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो। यहाँ अहिले सुन्तला प्रतिकिलो होलसेलमा ५० देखि ६० का दरले बिक्री भइरहेको छ। बोटबाटै सुन्तला खरिद गर्ने व्यापारीले सुन्तलाको दाना हेरेर एकमुष्ट बगैँचाको मूल्यमै सम्झौता गरेर सुन्तला टिप्न थालेका छन्।

स्थानीय निकायमार्फत विगत ५ वर्षयता २८ हजार सुन्तलाका नयाँ बिरुवा रोपिएको छ। वितरण गरिएको बिरुवाले अबको २/३ वर्षपछि उत्पादन दिन थाल्नेछन्। सिगाना सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको ३/चार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले जानकारी दिए।

सिगानाको बेँसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ। सिगानामा उत्पादन भएका सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायत स्थानमा निर्यात हुने गरेको छ।

यहाँको सुन्तला पोखराका बजारमा अत्यधिक माग हुने गरेको पोखराबाट बागलुङका सिगानामा सुन्तला खरिद गर्न आउनुभएका व्यापारी सोमबहादुर तामाङले जानकारी दिए।

‘सिगानाको सुन्तला बगैँचामै टिपेपछि ग्रेडिङ हुन्छ, एक क्यारेटको बढीमा ८ सयदेखि घटीमा ३ सयसम्म पर्दछ, सुन्तलाको दानाअनुसार पोखराको बजारमा मूल्य निर्धारण हुने भएकाले सुन्तलालाई ग्रेडिङ गरेर मात्रै बजारमा लैजाने गर्दछौँ’, उहाँले भने, ‘अहिले सुन्तलाको उत्पादन धेरै भएकाले बजार भाउ केही सस्तो छ, हामीले मंसिरदेखि माघसम्म गाउँगाउँ पुगी सुन्तला खरिद गरेर बजारीकरण गर्दै आएका छौँ।’

सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत ठाउँ सुन्तलाखेतीका लागि उर्वर मानिन्छन्। जिल्लामा करिब ५ हजार हेक्टरभन्दा बढी जमिनमा सुन्तलाखेती हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। -रासस

प्रकाशित: १७ पुष २०७९ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =