शीतलहरको उच्च सम्भावना, सावधानी अपनाउन विज्ञको सुझाव

हिमाल प्रेस १७ पुष २०७९ १५:११
4
SHARES
शीतलहरको उच्च सम्भावना, सावधानी अपनाउन विज्ञको सुझाव

काठमाडौँ– देशभर अत्याधिक चिसो बढ्ने भएपछि बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्। पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तार-चढाव भइरहेको छ।

आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ। जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेकाले आइतबार (आज)देखि तीन दिनसम्म देशको अधिकांश भागमा शीतलहरको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरे।

अबका केही दिनमा चिसो अत्याधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने उल्लेख गरे। पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि उनले बताए।

मर्निङ वाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने उनको भनाइ छ। फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरूमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने उनले जानकारी दिए।

जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए। हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर पर्ने उनले बताए।

‘पछिल्लो समय एकपछि अर्को पश्चिमी वायुका कारण चिसो बढेको छ। पश्चिमी क्षेत्रबाट प्रवेश गरेको वायुले नेपालको तराई क्षेत्रमा र पहाडी क्षेत्रमा पनि केही हिमालभन्दा माथि जान्छ, केही हिमालभन्दा तल जान्छ। अहिलेको परिस्थितिमा उत्तरबाट हावा पश्चिमहुँदै दक्षिणतिर बहिरहेको छ। जस कारण हिमालको चिसो हावा तल आइरहेको छ,’ उनले भने, ‘हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदुषणमा हुन्छ।’

जलवायुविज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसतभन्दा कम रहेकाले चिसो बढिरहेको बताउनु भयो। उहाँले न्युनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे।

तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउनु जरुरी रहेको बताए।

हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदुषण बढ्ने बताउनु भयो। गत वर्षको यो सिजनमा पानी परिसकेको भएपनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने उनको भनाइ छ। मौसम अनुकूल नहुँदा पश्चिम तराईका केही जिल्लाहरूमा चिसोका कारण बिरामीहरू बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लाहरूमा समेत यसको प्रभाव देखिने उनले स्पष्ट पारे।

डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँडडुल भरसक नगर्ने वा घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरै बेर नभिज्ने, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सीमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गर्ने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए।

प्रकाशित: १७ पुष २०७९ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =