स्टाडियो म्यारोडोनामा युभेन्टसको लज्जास्पद हार

हिमाल प्रेस ३० पुष २०७९ ७:३९ | Saturday, January 14, 2023
स्टाडियो म्यारोडोनामा युभेन्टसको लज्जास्पद हार

काठमाडौँ- सन् १९९० यता इटालियन सिरी ए जित्न नसकेको नापोलीले यसपालि भने च्याम्पियन बन्ने सम्भावना बलियो बनाउँदै लगेको छ। शुक्रबार राति युभेन्टसमाथि ५–१ को जित दर्ता गरेपछि नापोलीले उपाधि दौडमा १० अंकको अग्रता कायम गर्‍यो।

घरेलु मैदान स्टाडियो डिएगो एरमान्डो म्याराडोनामा नापोलीलाई जिताउन नाइजेरियन स्ट्राइकर भिक्टर ओसिमेन एक्लैले दुई गोल गरे। उनीबाहेक भिचा काराट्सखेलिया, आमिर राहमानी र एल्जिफ एल्मासको नाममा एक–एक गोल रह्यो। युभेन्टसबाट एंगल डि मारिया एक्लो गोलकर्ता बने।

यो जितसँगै नापोलीको १८ खेलबाट ४६ अंक भएको छ। यो दोस्रो स्थानमा रहेको एसी मिलानको भन्दा १० अंकले बढी हो। च्याम्पियन मिलानले शनिबार राति लेचेलाई हराएर अंक दूरी सात अंकमा झार्न सक्छ। नापोलीसँग पराजित युभेन्टसको पनि मिलानको जस्तै ३७ अंक नै छ। चौथो स्थानको इन्टर मिलानले अहिलेसम्म ३४ अंक बटुलेको छ।

युभेन्टसलाई तहसनहस पार्न नापोलीका काराट्सखेलिया र ओसिमेनको साझेदारी महत्त्वपूर्ण साबित भयो। यी दुईले एकअर्कालाई गोलका लागि पास उपलब्ध दिलाएका थिए। ओसिमहेनबाहेक राहमानीलाई पनि काराट्सखेलियाले नै असिस्ट गरे। जारी सिरी ए मा काराट्सखेलियाको गोल र असिस्ट संख्या सात–सात पुगेको छ। ओसिमेनले भने १२ गोल गरिसकेका छन्।

‘दुई गोल गर्न सकेकोमा खुसी छु। बलियो टिमबाट तीन अंक लिन सक्यौँ। हामी यो लयलाई कायम राख्न चाहन्छौँ,’ जितपछि ओसिमेनले भने, ‘अझ लामो बाटो तय गर्नुछ। लक्ष्य भनेको यसरी नै खेल जितिरहने हो। मलाई लाग्छ हामीले उपाधि जित्ने सम्भावना प्रबल छ।’

युभेन्टस गोल नखाई लगातार आठ खेल जितेर नापोलीसँग भिड्न स्टाडियो म्याराडोनामा पुगेको थियो। सिजनको सुवातमा खराब लयबाट गुज्रिए पनि पछिल्ला जितहरूका कारण उपाधि दाबेदार बनेको युभेन्टसले लगभग एक घण्टाभित्रै चार गोल खान पुग्यो। युभेन्टस मे, १९९३ यता सिरी ‘ए’मा पहिलो पटक पाँच गोल खाएर हारेको हो।

‘हामीले धेरै गल्ती गर्‍यौँ। नापोी जस्तो टिमसँग खेल्दा त्यसरी गल्ती गर्ने हो भने हारिन्छ नै। नापोली बलियो टिम हो। उसले त्यत्तिकै शीर्षस्थानमाथि कब्जा जमाएको होइन,’ सिरी ए मा ४५० औँ खेल सम्हालेका युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने।

प्रकाशित: ३० पुष २०७९ ७:३९ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast