 
                             
                                            सोलुखुम्बु- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन्।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित शिला हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री अधिकारीले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि प्रगाढ रहँदै आएको र अनन्तकालसम्म पनि यस्तो सम्बन्ध रहिरहने विश्वास व्यक्त गरे। उनले शिला हस्तान्तरणले दुई देशको धार्मिक सम्बन्ध थप मजबुत बनेको बताए।
राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो। दुई देशका यी पावन भूमिका लाखौँलाख नेपाली र भारतीय दर्शनार्थीको भीड लाग्ने उनले उल्लेख गरे।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चराम गुरुङको अध्यक्षतामा आयोजित शिला हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिसमेत सहभागी थिए। विश्वमै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीको दुई थान शिला जनकपुरधाम हुँदै हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या पु¥याइने छ।
एउटा शिलामा रामको बाल्यकालको अवस्था झल्किने प्रतिमा तथा अर्कोमा सीताको प्रतिमा निर्माण गरिने रामलला मन्दिर निर्माण ट्रष्ट भारतका सचिव राजेन्द्रसिंह पंकजले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 