विश्वकपका कारण रियलको लय खस्किएको छ : कार्लो एन्सिलोट्टी

हिमाल प्रेस २८ पुष २०७९ ११:५४ | Thursday, January 12, 2023
विश्वकपका कारण रियलको लय खस्किएको छ : कार्लो एन्सिलोट्टी

काठमाडौँ- थिबाउट कोर्टुवा पेनाल्टीमा निर्णायक साबित भएपछि रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति साउदी अरबको रियादमा रियल भ्यनलेन्सियाबीचको सेमिफाइनल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको थियो।

त्यसपछि भएको पेनाल्टीमा कोर्टुवाले भ्यालेन्सियाको अन्तिम पेनाल्टी बचाए। जसकारण रियल ४–३ को जितसहित फाइनलमा पुग्यो। भ्यालेन्सियाको अन्तिम पेनाल्टी जोसे गायाले प्रहार गरेका थिए।

रियलका कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, टोनी त्रुस र मार्को असेन्सियो पेनाल्टीमा सफल भए। भ्यालेन्सियाका लागि एडिन्सन काभानी, इलेइक्स मोरिबा र हुगो गुलामोनले मात्र गोल गरे। गाया जस्तै इरे कोमेर्टले पनि पेनाल्टीमा गाेल गर्न सकेनन्।

रियलले उपाधि भिडन्तमा बार्सिलोना वा रियल बेटिसको सामना गर्नेछ। दोस्रो सेमिफाइनलमा बार्सिलोना र बेटिस बिहीबार राति भिड्दैछन्।

गएको सिजन ला लिगा जितेको रियलले करिम बेन्जेमाको पेनाल्टी गोलमार्फत ३९ औँ मिनेटमा अग्रता लिएको थियो। तर दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै भ्यालेन्सियाले गोल फर्कायो।

रियादको किंग फहद रंगशालामा कोर्टुवा मात्र होइन भ्यालेन्सियाका गालरक्षक जियोर्जी मामादार्शभिलले पनि प्रभावशाली प्रदर्शन गरे। उनले रियलका कयौँ मबजुत प्रहार बचाएकैले खेल आतिरिक्त समयर्फ धकेलिएको थियो।

‘कोर्टुवा विश्वका चार वा पाँच सर्वोत्कृष्ट गोलरक्षकमध्येका हुन्। तर आज मेरा गोलरक्षकको प्रदर्शन पनि कम थिएन। उनले कम्तीमा पाँच राम्रा प्रहार बचाए। मलाई लाग्छ हामीलाई भाग्यले साथ दिएन। दुई पेनाल्टी पनि खेर फालियो। त्यसकारण पनि हारियो। फुटबलमा यस्तो हुन्छ,’ भ्यालेन्सियाका प्रशिक्षक जेनारो गाटुसोले भने।

भ्यालेन्सियाका पेनाल्टीकर्ताबारे पहिल्यै अध्ययन गरेर मैदान उत्रिएको कोर्टुवाको भनाइ थियो। ‘भ्यालेन्सियाका खेलाडीले कसरी पेनाल्टी प्रहार गर्छन् भन्ने थाहा थियो। जस्तै, गायाले पछिल्लो पेनाल्टी देब्रेतिर प्रहार गरेका थिए। सेभियाविरुद्ध उनले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थिएन। त्यसपछि बेटिसविरुद्ध उनले बीचमा प्रहार गर्दै गोल गरेका थिए। उनले आज पनि त्यसै गर्छन् जस्तो लागेको थियो। अन्ततः त्यही गरे,’ कोर्टुवाले भनेका छन्।

सुपर कप विगतमा ला लिगा र कोपा डेल रे विजेताबीच हुने गर्थ्यो। तर सन् २०१९/२० सिजनबाट भने दुवै प्रतियोगिताका उपविजेताहरूलाई पनि समावेश गर्न थालिएको हो। त्यहीबेलादेखि सुपर कप साउदीमा हुँदै आएको छ।

रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले जितका बाबजुद आफ्ना टिमको प्रदर्शनमा सन्तुष्ट हुन सकेनन्। पछिल्लो समय रियलले स्वभाविक प्रदर्शन गर्न नसकेको र यसको कारण कतार विश्वकप भएको इटालियन प्रशिक्षकको भनाइ थियो।

‘सिजनको बीचमा विश्वकप भयो। यसकारण यो सिजन पहिलेभन्दा फरक किसिमले अघि बढिरहेको छ,’ एन्सिलोट्टीले भने, ‘विश्वकपमा हाम्रो टिमका १४ खेलाडी थिए। ती खेलाडी रियल फर्किएको २० दिन भइसकेको छ। तर पनि टिमको प्रदर्शन लयमा फर्किइसकेको छैन।’

प्रकाशित: २८ पुष २०७९ ११:५४ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast