युवाका लागि देशमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकार लाग्‍नुपर्छ : मुख्यमन्त्री अधिकारी

हिमाल प्रेस २७ पुष २०७९ १९:०३ | Wednesday, January 11, 2023
युवाका लागि देशमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकार लाग्‍नुपर्छ : मुख्यमन्त्री अधिकारी खगराज अधिकारी

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भए पनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताएका छन्। युनाइटेड क्लबद्वारा पोखराको अमरसिंह चौरमा आयोजित ११ औँ संस्करणको महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन्।

आम नेपालीको चाहना समृद्ध नेपाल भएकाले अबको सरकार समृद्धितर्फ अगाडि बढ्न जरुरी भएको उनको भनाइ छ। रोजगारीको अवसर खोज्दै लाखौँ युवा विदेशिने गरेको भन्दै उनीहरूलाई रोजगारीको सिर्जना नेपालभित्र नै गर्नेतर्फ तीनै तहको सरकार लाग्नुपर्नेमा उनले जोड दिए।

सरकारले आफ्ना कार्यक्रम बनाउँदा युवा लक्षित हुनुपर्ने भनाइ उनको छ। नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश भएकाले यहाँ हुने महोत्सवले सांस्कृतिक रूपमा ठूलो महत्त्व राख्ने बताउँदै मुख्यमन्त्री अधिकारीले महोत्सवको सफलताको कामना गरे।

कोभिडले थला परेको अर्थतन्त्र यस्ता मेला महोत्सव सञ्चालन हुँदा केही मात्रामा भए पनि अर्थतन्त्र चलायमान हुने विश्वास उनले व्यक्त गरे।  महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुने युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २७ पुष २०७९ १९:०३ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast