जनकपुरधाम- भारतको अयोध्यामा निर्माण भइरहेको राममन्दिरमा भगवान् रामको प्रतिमा निर्माणका लागि ल्याइएको देवशिला सोमबार अयोध्या पठाइने भएको छ। म्याग्दीको कालीगण्डकी नदीबाट ल्याइएको शालिग्राम शिला सोमबार अयोध्या पठाउन लागिएको हो।
शालिग्राम शिला पाइने नेपालको एक मात्र कालीगण्डकी नदीबाट दुई विशाल शिला जनकपुरधाम ल्याइएको हो। यी शिलालाई भोलि (सोमबार) अयोध्या पठाइनेछ।
अयोध्या पठाउनका लागि कालीगण्डकीबाट ल्याइएको सो दुवै शिलालाई आज (आइतबार) जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा पूजा अर्चना गर्दै महाआरती गरिएको छ।
शिला पूजन तथा महाआरतीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, धनुषा ३ का प्रतिनिधिसभा सांसद जुलीकुमारी महतो, जानकी मन्दिरको महन्थ रामतपेश्वर दास वैष्णवलगायतको उपस्थिति थियो।
नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान रामको बालस्वरुप निर्माण गरिनेछ।
शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार सो ढुंगाबाट निर्माण गरिने भगवान रामको बालस्वरुप मन्दिरको गर्भगृहमा स्थापित गरिने छ।
दुवै शिलाबाट रामको बालस्वरुप निर्माण गरिने छ भने निर्मित दुवै प्रतिमामध्ये उत्कृष्ट प्रतिमालाई गर्भगृहमा राखिने छ।
५ सय वर्षको लामो संघर्षपछि भारतको अयोध्यामा राम मन्दिर निर्माण भइरहेको हो।
जानकी मन्दिरका महन्थ वैष्णवले भने, ‘मन्दिरको गर्भगृहमा राखिने भगवान रामको बालस्वरूपको प्रतिमा नेपालकै शिलाबाट निर्माण हुनु गर्वको विषय हो।’
यसले नेपाल–भारतबीचको वर्षौं पुरानो धार्मिक सांस्कृतिका सम्बन्ध थप प्रगाढ हुने उनको भनाइ छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

