बागलुङ : तरकारी खेतीबाट मनग्य आम्दानी

हिमाल प्रेस २८ पुष २०७९ ७:५७ | Thursday, January 12, 2023
बागलुङ : तरकारी खेतीबाट मनग्य आम्दानी फाइल तस्बिर

बागलुङ- बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे। उमेरले बुढ्यौली लागे पनि उनमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन। सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो। उनको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ।

तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसकेका छन्। उनले छ भाइबहिनी, छोराछोरी हुर्काउने, पढाउने र विवाहसमेत तरकारी खेतीकै आम्दानीले गरे। बिहानै उनी बागलुङ बजारमा तरकारी बिक्री गर्न आउँछन्। ‘मसित पुर्ख्यौली सम्पत्ति थिएन, वर्षौं अरुको घरमा बसेर काम गरेँ, तरकारी खेतीमा लागेपछि घर सम्पत्ति जोडेँ’, सापकोटाले भने।

पहिला तरकारी खेती गर्ने चलन थिएन । उत्पादन भएको तरकारी पनि बिक्री हुँदैनथ्यो। ‘अहिले उत्पादन गरेको सबै बिक्री हुन थालेको छ, बजारमा तरकारीको माग बढ्दै गएको छ”, उहाँले भन्नुभयो । “हातखुट्टा चल्दासम्म तरकारी उत्पादन गर्छु’, उनले भने। तीन लाखदेखि पाँच लाखसम्म वर्षमा तरकारी बिक्रीबाट कमाइ हुने गरेको सापकोटाको भनाइ छ।

तरकारी खेतीले सापकोटा परिवारको जीवनशैलीनै बदलिएको छ। बिहान तरकारी बेच्ना बजार पुग्ने र दिसोउ साँझ बारीमा काम गर्ने आफ्नो दैनिकी भएको सापकोटाले बताए। कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले सापकोटालाई समय–समयमा अनुदानसँगै प्राविधिक सहयोग गर्दै आएको बताए।

सापकोटा निकै पुरानो कृषक रहेको भन्दै उनलाई नयाँ प्रबिधिसँग जोड्नका लागि तालिम, परामर्श र सुझाव दिँदै आएको पुनको भनाइ छ । कृषि ज्ञान केन्द्रले गत वर्ष उनलाई दुई लाख अनुदानसमेत दिएको पुनले बताए।

‘उहाँले निकै राम्रो तरकारी खेती गर्दै आउनुभएको छ, दिनदिनै बजारमा आउनुहुन्छ, कार्यालयमा आएर आवश्यक सहयोग पनि माग्नुहुन्छ, हामीहरुले पनि उहाँलाई सहज रुपमा सेवा दिई राखेका छौँ, निकै उत्साहका साथ लागि राख्नु भएको छ’, सूचना अधिकारी पुले भने, ‘अघिल्लो वर्ष पनि रु दुई लाख उहाँलाई अनुदान दिएका थियौँ, तालिम र परामर्श त हुनेनै भयो।’

प्रकाशित: २८ पुष २०७९ ७:५७ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast