प्रतिद्वन्द्वी सिटीमाथि युनाइटेडको रवाफ

हिमाल प्रेस ३० पुष २०७९ २०:३२ | Saturday, January 14, 2023
प्रतिद्वन्द्वी सिटीमाथि युनाइटेडको रवाफ

काठमाडौँ- एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि शनिबार राति २–१ को जित दर्ता गरेको छ। ओल्ड ट्राफोर्डमा ६० औँ मिनेटमा ज्याक ग्रिलिसले गोल गरेपछि पछाडि परेको युनाइटेडले निर्धारित समयको अन्तिम १२ मिनेटभित्र लगातार दुई गोल फर्काएको थियो।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ७८ औँ मिनेटमा बराबरी गोल गरे भने चार मिनेटपछि मार्कस रासफोर्डले निर्णायक गोल गरे।

म्यानचेस्टर डर्बीमा हासिल गरेको यो जितका कारण युनाइटेडले इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानको सिटीसँगको दूरी एक अंकमा झारेको छ। सिटीले १८ खेलपछि ३९ अंक जम्मा गरेको छ भने युनाइटेडको अब ३८ अंक भएको छ। शीर्षस्थानको आर्सनलसँग १७ खेबलाट ४४ अंक छ।

सिटीलाई खेलमा अघि बढाउन सब्स्टिच्युट ग्रिलिसले कप्तान केभिन डे ब्रुएनाको क्रसमा गोल गरेका थिए। गोलको मुभ रियाद माहरेजबाट सुरु भएको थियो। माहरेजले राइट विंगबाट बल अघि बढाउँदै बक्सभित्र रहेका डे ब्रुएनालाई पास दिएका थिए। त्यसपछि कप्तान डे ब्रुएनाले बललाई क्रस गरे जसलाई ज्याक ग्रिलिसले सहजै हेड गर्दै गोलमा परिणत गरे।

युनाइटेडको बराबरी गोल कासिमिरोको पासका कारण सम्भव भयो। प्रिमियर लिगमा तेस्रो असिस्ट गर्न ब्राजिलियन मिडफिल्डरले सिटीको बक्सतर्फ दौडिरहेका रासफोर्डलाई लक्षित गरेर लामो पास निकालेका थिए। तर त्यहीबेला बक्सबाहिर पुगेका ब्रनोले बललाई नियन्त्रणमा नलिइकनै प्रहार गरे। जसलाई सिटीका गोलरक्षक एडरसनले रोक्न सकेनन्।

त्यसको चार मिनेटपछि नै युनाइटेडले दोस्रो गोल गरेको थियो। मैदानको मध्यभागबाट ब्रुनोले अलेहान्द्रो गारनाचोलाई पास दिएका थिए। लेफ्ट विंगमा रहेका गारनाचोको क्रस निकाल्ने पहिलो प्रयास म्यानुएल अकान्जी बाधक बने। रिबाउन्डमा आएको बललाई गारनाचोले नियन्त्रणमा लिए, नाथन आकेलाई बिट गर्दै क्रस गरे। जसलाई बक्सभित्र अनमार्क्ड रहेका रासफोर्डले पोस्टको दिशा देखाए।

प्रकाशित: ३० पुष २०७९ २०:३२ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast