दुई वर्षअघिको बागलुङ घटनाका १६ दोषीलाई जन्मकैद

हिमाल प्रेस २८ पुष २०७९ १६:४७ | Thursday, January 12, 2023
दुई वर्षअघिको बागलुङ घटनाका १६ दोषीलाई जन्मकैद

काठमाडौँ- जिल्ला अदालत बागलुङले १६ जनाविरुद्ध जन्मकैदको फैसला सुनाएको छ। २०७७ साल चैत १५ गते फागुपूर्णिमामा ‘होली’ खेल्ने क्रममा जिल्लाको बल्देधुरीमा भएको झडपपछि लखेटेर दुई युवालाई भीरबाट खसालेर मारेको आरोपमा १६ जनालाई जन्मकैद फैसला सुनाइएको हो। फैसला पुस २६ गते भएको हो।

जिल्ला न्यायाधीश डा.दिवाकर भट्टको इजलासले अभियोग लागेर पूर्पक्षका लागि थुनामा रहेका सबैलाई कैद सजाय सुनाएको हो। घटनामा संलग्न एक जना भने बालक छन्। ती बालकलाई भने सुधारगृह पठाइनेछ।

‘१६ जनालाई जन्म कैदको फैसला सुनाइएको छ। १६ जनामध्ये एक जना बालक छन्। उनलाई अरूको सजायको दुई तिहाइ सजाय हुने फैसला सुनाइएको छ’ बागलुङ जिल्ला अदालतका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले हिमालप्रेससँग भने। मुलुकी फौजदारी संहिताको दफा १७७ (२) अनुसार उनीहरूलाई जन्मकैद फैसला भएको हो।

२०७७ साल चैत १५ गते बागलुङको बडिगाडसहित, गुल्मी र प्यूठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो। मेलामा गएका युवाबीच रङ लगाएको विषयमा विवाद भयो। विवाद चर्किँदै गएपछि झडप भएको थियो।

युवाबीचको झडपमा परेर बागलुङ निसीखोला गाउँपालिका ७ का प्रकाश कुँवर र दीपक परियारको मृत्यु भएको थियो। उनीहरू दुवैलाई बडिगाड गाउँपालिका-१० का युवाले कुटपिट गर्दै भीरबाट खसालेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका-१० का १९ जना युवा पक्राउ परेका थिए। पक्राउ परेकामध्ये १६ जनालाई जन्मकैद भएको हो।

प्रकाशित: २८ पुष २०७९ १६:४७ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast