 
                             
                                            गण्डकी- तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छण्। नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवा आँखे तालको प्रवद्र्धनमा लागिपरेका छन्।
पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ। परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवा त्यसको संरक्षण र प्रवद्र्धनमा जुटेका हुन्।
चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए। उनीहरूबाट ९० हजार रुपैयाँ संकलन गरी सो अभियान सुरु भएको आँखे ताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले बताए।
ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिरसमेत बनाउन स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गरे।
मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार नगद खर्च भएको छ। ‘निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ,’ सचिव ढकालले भने, ‘त्यही सहयोगले मन्दिर निर्माणलाई अन्तिम चरणमा पु¥याउनुका साथै ताललाई केही मात्रामा भने पनि व्यवस्थित बनाउन सकेका छौँ।’
यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको जानकारी उनले दिए। ‘यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको छ,’ उनले भने।
मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं १ बाट २ लाख ५० हजार रुपैयाँ र वडा नं २ बाट ५० हजार रुपैयाँ प्राप्त भएको र बाँकी रकम चन्दामार्फत जुटाइएको छ।
यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परावूर्वकालदेखि नै तालका रूपमा लिने गरिएको स्थानीय बताउँछन्। युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत गृह फर्पिङको जलाशयको स्वरूपमा स्टिलको रेलिङसहित गोलाकार रूपमा संरक्षण गरिएको छ।
आँखे तालको अस्तित्व प्राचीनकालदेखि रहिआएको ८९ वर्षीय शिवप्रसाद पौडेलले बताए। ‘यो स्थल धार्मिक आस्था एवं विश्वासका कारण पनि महत्ववूर्ण छ,’ उनले भने, ‘यस क्षेत्रमा छ पुस्ताअघिदेखि नै मन्दिर रहेको छ। मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट संकेत गरेका छन्। यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन सकिनेछ।’
कोत्रे तथा गगनगौडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताए।
जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ (भुवान) परेछ। त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ। ज्योतिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो। त्यसै समयदेखि नै यहाँको जलाशयलाई ‘आँखे ताल’ भनिएको उनले बताए।
युवाहरूको प्रयासमा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन र विकास गर्दा टेवा पुग्ने उनको भनाइ छ। मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवं सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता ‘सिद्धिकाली कप’ भलिबल प्रतियोगिता पनि गर्दै आएको छ।
पृथ्वी राजमार्गको गगनगौडाबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो। पछिल्ला समयमा दुवै खोलामाथि पक्की पुल बनेपछि स्थानीय खुसी छन्।
पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट आँखे तालसम्म ८-१० मिनेटमै पुग्न सकिन्छ। खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको ३ करोड ७५ लाख १२ हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो। गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोड रुपैयाँको लागतमा सम्पन्न हो। -वासुदेव पौडेल, रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 