 
                             
                                            काठमाडौँ– किसानलाई आर्थिक रूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि गरेको छ।
स्याङ्जाको गल्याङ नगरपालिकामा पनि यस्तै भएको छ। अदुवाको बीउ खरिद लागत अनुमान कानुनबमोजिम नभएको भनी परेको उजुरीमाथि छानविन गर्दा नगरपालिकाका तत्कालीन मेयर, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीसमेत भ्रष्टाचारमा संलग्न भएको पाइएको छ।
मनासिव कारणविना नै अस्वाभाविक रूपमा अदुवा खरिदका लागि दररेट तय गरेर नगरपालिकालाई गैरकानुनी रूपमा हानि पुर्याएको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख भूपराज अधिकारीविरुद्ध १३ लाख बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए।
यस्तै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेसिफिकेशनमा उल्लेखित कागजातको परीक्षण नै नगरी अदुवाको बीउ खरिद गरी भुक्तानीका लागि आदेश दिएको पाइएको छ। उनीहरूले पटकपटक गरीदुई करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको भुक्तानी दिएको पाइएको छ।
आयोगले आय करबापतकोतीन लाख ७९ हजार ५ सय १ बराबरको रकम घटाइएको करोड ९७ लाख ७० हजार ४ सय ९९ बराबरको बिगो दाबी गर्दै प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीविरुद्ध बिगो असुल उपर गरी कडा कारवाहीको माग गरिएको छ।
यस्तै अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्सका प्रतिनिधि शिव न्यौपानेविरुद्ध पनि २ करोड १० लाख ७० हजार ४ सय ९९ बराबरको बिगो कायम गर्दै सोमबार नै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। -रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 