चुनाव समीक्षा

प्रमुख दललाई सुध्रिने मौका, नयाँलाई चुनौती

प्रा. सुरेन्द्र चन्द ५ पुष २०७९ ८:१४
36
SHARES
प्रमुख दललाई सुध्रिने मौका, नयाँलाई चुनौती

निर्वाचन परिणाम विश्लेषण गर्दा नेपाली जनता स्थापित राजनीतिक पार्टीप्रति अलिक उदासीन भएको देखिएको छ। दलहरूले नेतृत्वमा पुग्दा जनताका चाहना पूरा गर्न नसकेकाले यस्तो भएको हो। जनता सुशासन चाहन्छन्। सरकारबाट कम्तीमा आधारभूत आवश्यकता परिपूर्ति होस् भन्ने चाहनु स्वाभाविकै हो।

भौतिक पूर्वाधारले सम्पन्न भएमा देश अघि बढ्ने विश्वास जनताको छ। तर जनताका यस्ता आशामा दलहरू संवेदनशील देखिएनन्। यतिसम्म कि प्रमुख राजनीतिक दलले निर्वाचनका बेला सार्वजनिक घोषणापत्रमा व्यक्त संकल्प पूरा गर्न उदासीन भए। सत्ता केन्द्रित राजनीतिमा डुब्नु दलहरूमा देखापरेको अन्य विकृति हो। परिणामतः प्रमुख दलप्रति जनताको विश्वास घट्न पुगेको छ।

चुनावको अर्को पक्ष गठबन्धन राजनीतिलाई आमजनताले बुझेको देखिएन। गठबन्धन केका लागि र किन गरिएको हो भनेर दलहरूले जनतालाई बुझाउन पनि सकेनन्।

गठबन्धनको लाभहानिबारे जनता अनभिज्ञ रहे। तथ्यपरक कुराबाट जनता वञ्चित भए। गठबन्धनमा आबद्ध दलहरूले चुनावी घरदैलोका क्रममा आश्वासनका पोका बाँडे पनि गठबन्धनको औचित्यबारे वस्तुनिष्ठ रूपमा छर्लंग बनाउने प्रयासै गरेनन्। तर पनि गठबन्धनका पक्षमा मत आएको छ। यो भनेको जनतामा अझै पनि प्रमुख राजनीतिक दलप्रति विश्वास कायमै रहेको प्रमाण हो।

दलहरू सुध्रिएनन् भने भविष्य त्यति राम्रो देखिँदैन। दलका नेताहरूले आफ्नो प्रवृत्ति सुधार नगरेमा जनतामा लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्यमान्यताप्रति उदासीनता बढ्ने देखिन्छ।

त्यसैले दलहरूले जनताको अभिमत कसरी प्रस्तुत भएको छ भन्ने हेक्का राख्नुपर्छ। साथै जनताका चाहना कतातिर छ भन्ने विषयमा गहन विश्लेषण गर्न ढिलाइ गर्नु हुँदैन। विगतमा गरेका गल्तीबाट पाठ सिकेर दलहरूले प्रवृत्ति सुधार गर्नुपर्छ।

जनताको अभिमत सबैभन्दा ठूलो हो। चुनावमा जनताको मत कतातिर रहेछ भन्ने विषयमा पनि दलहरूले विश्लेषण गनुपर्छ। दलहरूले आत्ममूल्यांकन गरेर अघि बढ्ने हो भने जनताको विश्वास फर्कन सक्छ।
नेपालका प्रमुख दलहरूको पृष्ठभूमि लामो छ। राणाशासनको अन्त्यदेखि परिवर्तनका हरेक आन्दोलनमा यिनै दलको भूमिका छ। त्यसैले प्रमुख दलको सांगठनिक संरचना पनि बलियो छ।

प्रमुख दलकै गलत कार्यशैलीका कारण केही साना दल अस्तित्वमा आएका हुन्। स्थापित राजनीतिक दलका क्रियाकलापले जनताको विश्वास जित्न सकेन। दलहरूले आसेपासे र नातागोतालाई मात्रै संरक्षण गरेका कारण पनि कैयौँ कार्यकर्ता निराश भएका छन्। कुन कार्यकर्तालाई कस्तो जिम्मेवारी दिएमा पार्टी र संगठन सुदृढ हुन्छ भन्ने विषयमा नेताहरूलाई चासो छैन।

राजनीतिक दर्शन र सांगठनिक सञ्जाल प्रभावशाली नभएको शक्ति धेरै टिकिरहने सम्भावना हुँदैन। राम्रो काम गर्न सकेमा क्षेत्रीय दलका रूपमा अघि बढ्न सक्ने सम्भावना छ। नयाँ दल पनि प्रमुख दलका गलत प्रवृत्तिमा रमाउन थाले भने उनीहरूमाथि जनाविश्वास घट्नेछ।

२०४७ सालपछि निर्वाचन आयोगमा धेरै दल दर्ता भए। केही दलहरू पटकपटक विभाजित हुन पुगे। तर अहिले औँलामा गन्न सकिने पार्टी मात्रै अस्तित्वमा छन्। नयाँ दल स्थापित हुन त्यति सजिलो छैन।

कुनै राजनीतिक आन्दोलनको अगुवाइ गरेको, सुशासनमा काम गरेको, नागरिक अधिकारका पक्षमा आवाज उठाइरहने दल मात्रै जनताको रोजाइमा पर्न सक्छन्। त्यसैले नयाँ दलका सामु धेरै चुनौती छन्।

जनताका आकांक्षा परिपूर्ति गर्ने दिशामा दीर्घकालीन नीति बनाउन सकेमा नयाँ दलको अस्तित्व कायमै रहिरनेछ। सरकारमा जानुभन्दा प्रतिपक्षी भूमिकामा रहेर जनजीविकाका सवाल उठाएमा उनीहरूप्रति विश्वास बढ्नेछ।

निर्वाचनमा केही नयाँ दल जबरजस्त उदाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनतमत पार्टीले स्थापित प्रमुख दललाई चुनौती दिए। बहुदलीय प्रणालीमा नयाँ दल स्थापना हुनु सकारात्मक हो। नयाँ दल उदाउनुको प्रमुख कारण त मुख्य दलहरूकै गलत कार्यशैलीले हो।

संविधानअनुरूप जनताले जुन चाहना राखेका थिए, त्यो चाहना परिपूर्ति गर्न नसकेपछि एउटा दबाब समूहका रूपमा नयाँ दल देखा परे। यी दलहरू सांगठनिक रूपमा बलिया भएर भन्दा पनि प्रमुख दलका नेताहरूको गैरजिम्मेवार चरित्रका कारण आएका हुन्।

मुख्य दलले बाटो बिराउन खोजेपछि जनताले पनि वैकल्पिक शक्तिको खोजी गर्नु स्वाभाविकै हो। स्थानीय तह निर्वाचनमा केही पालिकामा स्वतन्त्र उम्मेदवारी दिएर जितेका जनप्रतिनिधिको कार्यशैलीका कारण पनि जनतामा वैकल्पिक शक्तिप्रति भरोसा देखिएको हो। यसरी उदाएका दलहरू कहाँसम्म पुग्छन्, तत्काल केही भन्न सकिने अवस्था छैन।

राजनीतिक दर्शन र सांगठनिक सञ्जाल प्रभावशाली नभएको शक्ति धेरै टिकिरहने सम्भावना हुँदैन। राम्रो काम गर्न सकेमा क्षेत्रीय दलका रूपमा अघि बढ्न सक्ने सम्भावना छ। नयाँ दल पनि प्रमुख दलका गलत प्रवृत्तिमा रमाउन थाले भने उनीहरूमाथि जनाविश्वास घट्नेछ।

नेपालमा अब राजनीतिक आन्दोलन आवश्यक छैन। आर्थिक, सामाजिक, शैक्षिक सुधारका धेरै मुद्दाहरू सम्बोधन गरेर मुलुकलाई समृद्ध बनाउने दिशामा सबै एकजुट हुनुपरेको छ। नयाँ दलले कुनै क्षेत्रमा प्रभावकारी काम गरेर जनताको मन जितेमा उनीहरू स्थापित हुन सक्छन्।

संघीय सरकार गठबन्धनकै बन्ने निश्चित छ। चुनावमा गठबन्धन गरेर गएका दलहरू नै सत्तामा जान्छन् या समीकरण बदलिन्छ भन्ने थाहा पाउनचाहिँ केही समय पर्खनैपर्छ।

सत्तासीन दल गठबन्धन गरेर चुनावमा गए। गठबन्धनका तर्फबाट ती दलहरूले जनतासामु केही प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसलाई पूरा गर्ने हो गठबन्धनकै हिसाबले अघि बढ्नुपर्छ।

नेपालमा सत्ता स्वार्थकै राजनीति गर्ने पुरानो रोग हो। नेताहरूबीच नागरिकका अधिकार वा विकास निर्माणका विषयमा बहस भएको विरलै सुन्न पाइन्छ।

त्यसैले दलका नेताहरूमा पदका लागि मात्रै माथिल्लो तहमा जान खोज्ने परम्पराको विकास हुँदै आएको छ। जनताको अन्तरमन बुझेर अगाडि बढ्न सकेको अवस्थामा दलहरू लोकप्रिय बन्न सक्छन्। अनि देशले पनि फड्को मार्न सक्नेछ।
(राजनीतिशास्त्रका प्राध्यापक चन्द कैलाली बहुमुखी क्याम्पसका पूर्वप्रमुख हुन्।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =