पर्यटकको रोजाइमा बुटवलको फूलबारी-नुवाकोटगढी पदमार्ग

हिमाल प्रेस ४ पुष २०७९ १७:१७
12
SHARES
पर्यटकको रोजाइमा बुटवलको फूलबारी-नुवाकोटगढी पदमार्ग

बुटवल– बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ। ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्त्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्त्वपूर्ण हिल स्टेशनका रूपमा रहेको छ। नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकारसमेत निर्माण भइरहेको छ। बुटवल-नुवाकोटगढी नयाँ पदयात्रा (हाइकिङ) पर्यटकीय गन्तव्यका रूपमा विकास थालिएको छ।

लुम्बिनी घुम्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी बुटवल-नुवाकोटमा एकदिने हाइकिङका रूपमा विकास गर्ने योजनासहित पर्यटन व्यवसायी लागेका छन्। नेपाल एशोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा भन्ने नारासहित पदयात्रा (हाइकिङ) को सुरुवात गरिएको छ।

फूलबारी-नुवाकोट हाइकिङ पर्यटन प्रवर्द्धनमा नेपालकै महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न लाग्नुपर्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताए। ‘यस क्षेत्रका लागि फूलबारी-नुवाकोट पर्यटकीय दृष्टिकोणले मात्रै नभएर स्वास्थ्य, प्रकृति र वातावरणका हिसाबले पनि महत्त्वपूर्ण ऐतिहासिक गन्तव्य हो,’ उनले भने।

लुम्बिनी प्रदेश सरकारका पूर्वपर्यटनमन्त्री लीला गिरीले बुटवलबाट बिहानी हिँडाइमाथि नुवाकोटगढीमा पुगेर पुनःबुटवल फर्किंदा आममानिसका लागि स्वास्थ्यका हिसाबले उत्तम हुने बताए। उनले विदेशी पर्यटक लागि पनि यो छोटो दूरीको अन्त्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई फूलबारी नुवाकोटको हाइकिङमा सहभागी गराउने गरी पर्यटन व्यवसायीले प्याकेज तयार गर्नुपर्ने उल्लेख गरे।

सिद्धार्थनगर भैरहवाका प्रमुख इस्तियाक अहमद खानले भैरहवाको गर्मी छल्न नजिकै रहेको फूलबारी नुवाकोट हाइकिङ फलदायी हुने बताए। ‘भैरहवाको मात्रै नभएर छिमेकी राष्ट्र भारतका पर्यटकका लागि पनि यो हाइकिङ महत्त्वपूर्ण गन्तव्य र आकर्षकस्थल बन्न सक्छ। हामी सबै मिलेर यसको प्रचारमा जुटौँ,’ उनले भने।

पर्यटन प्रवर्द्धनका लागि नाट्टाले हाइकिङका रूपमा विकास गर्ने योजनाले यस क्षेत्रको पर्यटनमा नयाँ गन्तव्यको विकास भएको नाट्टा प्रदेश अध्यक्ष रचना पन्तले बताइन्। यात्रामा विभिन्न संघकाका प्रमुख, निजी क्षेत्रका अगुवा, सुरक्षाकर्मी, कलेजका विद्यार्थी, पत्रकारलगायत गरी साढे ३ सयभन्दा बढीले साढे ३ किलोमिटरको उकालो चढेर माथि नुवाकोट पुगी पुनःतल फूलबारी फर्केका थिए।

प्रकाशित: ४ पुष २०७९ १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twenty =