संरक्षणको पर्खाइमा घुमाउने घर

हिमाल प्रेस ४ पुष २०७९ १२:४५
8
SHARES
संरक्षणको पर्खाइमा घुमाउने घर

पर्वत- पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन्।

गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन्। गाउँमा पनि आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो।

पर्या–पर्यटनका लागि आर्थरडाँडाखर्क सम्भावना बोकेको गन्तव्य हो। सदरमुकाम कुश्मा र पोखारदेखि सजिलै पुग्न सकिने भएकाले आन्तरिक पर्यटक गाउँले वातावरणमा रमाउन यहाँका पाहुना घरमा आउने गर्छन्। भत्केको भए पनि पुरानो शैलीका घुमाउने घरले पर्यटकको ध्यान तान्ने गरेको छ।
‘परम्परागत घुमाउने घर लोप हुनु भनेको जातीय, भौगोलिकताको पहिचान र मौलिकता गुमाउनु हो’, पर्वत उद्योग वाणिज्य संघ, पर्वतका सचिव राजन गुरुङले भने।

आर्थरको पर्यटनलाई बढवा दिन भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले पनि केही दिन अघि खबर शिविर सञ्चालन गरेको थियो।

‘घुमाउने घरले गाउँको संस्कृति, मौलिकता र समुदायको परम्परालाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ’, जिल्ला शाखाका अध्यक्ष सन्तोष थापाले भने।

कुश्मादेखि सार्वजनिक यातायातमा डेढघण्टाको यात्रा गरेपछि आर्थर पुगिन्छ। यहाँ आउने पर्यटकको बसाइँलाई ध्यानमा राख्दै प्रत्येकजसो घरमा पाहुना घर स्थापना गरिएका छन्।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेकोडाँडा पुग्न पनि आर्थर हुँदै जानुपर्छ। ‘कुश्मादेखि नजिकै भएर पनि यस गाउँ टाढिए जस्तो देखिन्छ’, स्थानीयवासी रुपा थापा गुरुङले भने, ‘गाउँमा रहेको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कलासंस्कृति झल्कने ढुंगाका पुराना र घुमाउने घर समेटिने गरी गुरुङ सङ्ग्रहालय बनाइ गाउँकै प्रवर्द्धक लाग्नुपर्ने देखिन्छ।’

ढुंगाले छाएको छानो र रातो माटोले बनेका पुरानो घर यस गाउँका विशेषता भएपनि ती घरमा मान्छे बस्न छाडेको वर्षौ भइसकेको छ।

प्रकाशित: ४ पुष २०७९ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fifteen =