काठमाडौँ– नेपाल प्रेस इन्स्टिच्यूट अध्यक्षमा पत्रकार तीर्थराज कोइराला सर्वसम्मत रूपमा चयन भएका छन्। आइतबार सम्पन्न इन्स्टिच्यूटको १७ औँ साधारणसभाले पत्रकार कोइरालाको अध्यक्षतामा कार्यसमितिसमेत गठन गरेको छ।
संस्थाको उपाध्यक्षमा नीता सापकोटा, महासचिवमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा अमिका रजथला तथा सदस्यहरूमा तपानाथ शुक्ल, मन्टेश्वरी राजभण्डारी, कपिल काफ्ले, मोहन नेपाली, गंगादेवी गुरुङ, अरुण पौडेल, वसन्त रुपाखेती तथा श्रीमन् शर्मा (विज्ञान) चुनिएका छन्।
साधारणसभामा निवर्तमान अध्यक्ष निलकण्ठ उप्रेतीले एन पी आईलाई देशकै प्रतिष्ठित सञ्चार संस्थाका रूपमा अघि सार्न आवश्यक रहेको चर्चा गर्दै इन्स्टिच्यूटको सान्दर्भिकता अझै जीवित रहेको बताए।
नवनिर्वाचित अध्यक्ष कोइरालाले एन पी आईले सञ्चालन गरिरहेका १० महिने पत्रकारितासमेतका अन्य तालिमलाई थप व्यवस्थित गर्नुपर्ने खाँचो औंल्याए। सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव लक्ष्मण उप्रेतीले आफ्नो स्थापनकालदेखि नै संस्थाले नेपालमा सञ्चार र पत्रकारिताको क्षेत्रमा समर्पित भएर काम गर्दै आएको स्मरण गरे।
आजको परिवर्तित परिस्थितिमा अझ स्तरीय र व्यावसायिक पत्रकारिताका हितका कार्यक्रम अघि बढाउनु समयको माग रहेको उनले बताए।
एन पी आईका हाल काठमाडौँमा केन्द्रीय कार्यालय तथा नेपालगञ्ज र विराटनगरमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालनमा छन्। संस्थाले काठमाडौँमा १० महिने पत्रकारिता तालिम तथा स्रोत केन्द्रमार्फत पत्रकारिता तालिम र एफएम रेडियो सञ्चालन गरिरहेको छ।