शेखर-गगन भिडन्त या देउवा सर्वसम्मत?

हिमाल प्रेस ३ पुष २०७९ १६:३५
516
SHARES
शेखर-गगन भिडन्त या देउवा सर्वसम्मत?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। चुनावअगाडि प्रधानमन्त्री बन्ने उद्घोष गरिसकेका थापा दलको नेता नभए पनि प्रमुख नेताका लाइनमा रहेन नीतिमा देखिएका हुन्।

पार्टीको गत महाधिवेशनमा थापालाई साथ दिएका नेता डा. शेखर कोइराला पनि संसदीय दलको नेता बन्ने तयारीमा छन्। कोइरालाले आफू दलको नेता लड्ने घोषणा भने गरिसकेका छैनन्।

महामन्त्री थापाले अब प्रधानमन्त्री हुन ढिला भइसकेको भन्दै त्यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै आएका छन्। उनले पार्टीमा युवापंक्तिलाई तान्न सफल भए पनि अग्रजको मन भने जित्न सकेका छैनन्। त्यसैले उनलाई संसदीय दलको नेता बन्न त्यति सजिलो छैन।

८९ सदस्यीय कांग्रेस संसदीय दलमा कांग्रेस सभापति शेरबहादुर देउवा शक्तिशाली छन्। देउवा संसदीय दलको नेता उठ्ने र जित्ने पक्कापक्की छ। महामन्त्री थापाको संसदीय दलको नेता बन्ने तयारीलाई देउवापछिका शक्तिशाली नेता बन्ने नीतिका रूपमा लिइएको छ। देउवापछि को भन्ने विषयमा कोइराला र थापाबीच सहमति भइसकेको छैन। सभापति देउवा भने महामन्त्री थापालाई चुनावमा चौथो बनाउने रणनीतिमा रहेको उनी निकट नेताहरू बताउँछन्। त्यसकै लागि उनले अर्को व्यक्तिको खोजी गरिरहेको एक नेताले बताए।

महाधिवेशनपछि थापा कोइराला समूहका नेता भनेर चिनिँदै आएका छन्। त्यसअघि थापा सिटौला समूहमा थिए। महामन्त्री थापा अब पार्टीमा आफ्नै समूह बनाउने पक्षमा छन्। कांग्रेसमा विगतदेखि नै विभिन्न समूहको अस्तित्व रहँदै आएको छ। एक नेता भन्छन्, ‘पञ्चायत कालमा सूर्यप्रसाद उपाध्याय समूह, बीपी समूह र पछि छत्तीसे र चौहत्तरे समूह अस्तित्वमा रहेकै हुन्।’

कुनै बेला कांग्रेसमा किशुनजी समूह र कोइराला समूह सक्रिय थियो। कांग्रेसको चौधौँ महाधिवेशनअघिसम्म देउवा समूह, कृष्ण सिटौला समूह, रामचन्द्र पौडेल समूह, विमलेन्द्र निधि समूह सक्रिय थिए। यति बेला पार्टीमा संस्थापन पक्षमा देउवा छन् भने इतर समूहको नेतृत्वका डा. शेखर कोइराला छन्।

महामन्त्री थापा निकट एक नेता भन्छन्, ‘अरूको समूहबाट किन नचिनिई आफ्नै समूह अस्तित्वमा ल्याउने महामन्त्रीज्यूको रणनीति हो।’ थापाको यो चाहना पूरा भएमा तत्कालका लागि फेरि देउवा शक्तिशाली बन्नेछन्। तर डा. कोइरालाले देउवासँग भित्री मिलाप गरिदिए भनेचाहिँ संसदीय दलको नेता बन्न महामन्त्री थापाले अझै केही वर्ष पर्खनुपर्नेछ। महामन्त्री थापाले भने कोइरालालाई आगामी महाधिवेशनमा पार्टी सभापति बनाउने पक्षमा छन्। ‘जति भोट आए पनि संसदीय दलमा चुनाव लड्ने महामन्त्री थापाको तयारी छ। उहाँले सकेसम्म डा. कोइरालालाई आश्वस्त बनाउनु हुनेछ’, ती नेता भन्छन्।

सभापति देउवासँग कोइराला र थापााहेक वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन्। यद्यपि पौडेलको यो धम्क्याउने नीति हो। उनको चाहना राष्ट्रपति बन्नु रहेको निकटस्थहरू बताउँछन्।

चौधौँ महाधिवेशनअघि कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका पौडेल महाधिवेशनको मुखमा आएर भने देउवालाई सघाउन पुगे। पौडेल निकट एक नेता भन्छन्, ‘उहाँलाई देउवाले केही वचन दिनुभएको हुनुपर्छ। सोहीअनुसार मौन रहनुभएको हो।’ देउवाले पौडेललाई दिएको वचन के थियो भन्ने थाहा पाउनचाहिँ केही समय पर्खनैपर्नेछ। किनकि देउवा वचनमा पक्का मानिन्छन्।

कोइरालाले कांग्रेसको चौधौँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेकाले दलको नेतामा उनको दाबी स्वाभाविक छ। पार्टीमा देउवापछिको नेताका रूपमा कोइराला नै उदाएका छन्। उनी निकट एक नेता भन्छन्, ‘पार्टी संगठनमा अक्सिजन भर्ने काम गरेका डा. शेखरको चाहना आफूलाई अब्बल नेताका रूपमा स्थापित गर्ने छ। त्यसका लागि उहाँले संसदीय दलको नेतामा उठ्नुपर्ने विषयमा आन्तरिक छलफल गरिरहनुभएको छ।’

महामन्त्री थापाले नेतृत्वसँग सल्लाह नै नगरी संसदीय दलको नेता उठ्ने र प्रधानमन्त्रीमा दाबी गर्ने अभिव्यक्ति दिएकाले डा. कोइराला समस्यामा परेका छन्। थापाले घरदैलामा पुग्दा प्रधानमन्त्री हुनेछु भनेर मतदातालाई आश्वासन बाँडेका छन्। सोही कारण उनी पछि हट्न नसक्ने अवस्था छ।

देउवा इतर पक्षलाई साँच्चै बलियो बनाउने हो भने डा. कोइरालालाई समर्थन गरेर अघि बढ्नुपर्ने सुझाव थापा पक्षकै कतिपय नेताको छ। कोइरालालाई पार्टीको अभिभावक भएर बस्न र थापालाई अघि बढन् उनीहरूले सुझाव दिएका हुन्। पार्टीको महाधिवेशन सकिएको एक वर्ष मात्रै भएको छ। कोइराला निकट अर्का एक नेता भन्छन्, ‘पार्टीको नेतृत्व लिन त अर्को महाधिवेशनसम्म पर्खनुपर्छ।’

‘कोइराला र थापा दुवै मैदानमा हुनु राम्रो हुँदैन। त्यसैले हस्तक्षेप गर्न फुटेर र लालचमा परेर होइन जुटेरै जानुपर्छ।’

अहिलेकै अवस्थामा संसदीय दलमा महामन्त्री थापा बलिया देखिँदैनन्। त्यसैले उनले कोइरालालाई अघि बढाउने आकलन पनि कतिपयको छ। तर यसका लागि महामन्त्री थापा र नेता कोइरालाबीच सहमति आवश्यक हुन्छ। राजनीतिशास्त्री हरि शर्मा भन्छन्, ‘अब महामन्त्री थापा कोइरालाको अभिभावकत्वमा अघि बढ्नुपर्छ। तर त्यसअघि दुवैले स्थितिको मूल्यांकन र आपसी सल्लाह गर्न आवश्यक छ।’

शर्माले जो अघि बढ्दा सम्मानजनक मत आउने अवस्था छ उसैले चुनाव लड्नुपर्ने बताए। उनले भने, ‘कोइराला र थापा दुवै मैदानमा हुनु राम्रो हुँदैन।’ दलको सभापति देउवाले टिकट वितरणदेखि नै आफूअनुकूल बनाउँदै आएका छन्। शर्मा भन्छन्, ‘त्यसैले हस्तक्षेप गर्न फुटेर र लालचमा परेर होइन जुटेरै जानुपर्छ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलको साथ लिएर दलको नेतामा चुनाव लड्ने थापाको तयारी छ। कोइरालालाई अभिभावक मानेर अर्का महामन्त्री शर्मा र नेता पौडेललाई आफ्नै समूहमा समेट्न सक्ने हो भने महामन्त्री थापाका लागि सजिलो हुने बुझाइ शर्माको छ। तर प्रदीप पौडेललाई देउवाले आफू अनुकूल प्रयोग गर्ने सम्भावना प्रबल रहेको नेताहरू बताउँछन्।

देउवा पक्षीय नेता भने कोइराला र थापा भिड्दा देउवालाई नै सजिलो हुने बताउँछन्। ‘संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा. कोइराला र थापा भिड्दा देउवालाई नै सहज हुनेछ। कोइराला र थापाको समूह पनि तोडिएको सन्देश बाहिर जानेछ’, देउवा पक्षको एक नेता भन्छन्।

कांग्रेस नेताहरुका अनुसार महामन्त्री थापा यसपटक दलको नेता बनेर प्रधानमन्त्री बन्नु भन्दा पनि भाबी मार्ग प्रस्ट पार्न चाहन्छन्। त्यो भनेको अर्कोपल्ट प्रधानमन्त्रीको लाइनमा उभिने। त्यसैले थापाले यसपटक दलको नेतामा जसरी पनि चुनाव लड्न चाहेका हुन्। तर उनको यो चाहना पूरा हुन डा. कोइरालाको भूमिका प्रबल हुनेछ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय दलको नेतामा देउवाले अत्यधिक मतले जित्ने बताए। उनले भने, ‘अन्य साथीहरूले सहयोग गरेर सर्वसम्मत हुनेछ।’ उनी पनि सर्वसम्मतको बाटोमा जाँदा कोइराला र थापालाई पनि फाइदा हुने देख्छन्। प्रवक्ता डा. महत सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने बताउँछन्। उनी भन्छन्, ‘अन्य दलसँग मिलेर सरकार गठन गर्नुपर्ने भएकाले दलको नेता सर्वसम्मत चयनका लागि सक्दो पहल हुनेछ।’

राजनीतिक उचाइमा फड्को मार्ने थापाको रणनीति पुरानै हो। १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित थापाले १३ औँ महाधिवेशनमा महामन्त्रीमै चुनाव लडेर तेस्रा भए। १४ औँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर महामन्त्री जितेका थापा अब संसदीय दलको नेता बन्ने प्रयासमा छन्।

कांग्रेसले जितेको ८९ सांसदमध्ये पृष्ठभूमिका आधारमा देउवाले पचास मत पाउने सम्भावना छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरू शशांक कोइराला र प्रकाशमान सिंहले देउवालाई साथ दिने पक्कापक्की छ। पूर्वउपसभापति विमलेन्द्र निधि र उपसभापति पूर्ण खड्का देउवाकै पक्षमा छन्।

कांग्रेसमा भने संसदीय दलको नेताको चुनावमा संस्थापन इतर समूह भनेर चिनिएको समूहबाट दुई जना छन्। एउटै खेमाबाट यी दुईजना भिड्दा देउवालाई सहज हुने र अन्य निर्णय लिन पनि मौका मिल्ने देखिन्छ।

एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, विनोद चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजाले देउवालाई नै मत दिने नेताहरू बताउँछन्।

डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङले कोइराला/थापालाई मत दिने सम्भावना कम छ।

यस्तै ऐनबहादुर शाही, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, ज्ञानेन्द्र कार्की र नारायण खड्का पनि देउवाकै साथमा छन्।
बाँकी सांसदमध्ये शेखरले चुनाव लडेमा थापाले मत पाउने अवस्था देखिँदैन। तर यिनै सांसदमध्येबाट मत ल्याउने गरी थापाले दलको नेताको चुनाव लड्ने मनसाय बनाइरहेका छन्। कांग्रेसले संसदीय दलको नेता पाउन अझै केही समय कुर्नुपर्ने हुन्छ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ। राष्ट्रपति कार्यालयमा आयोगले बुझाएको समानुपातिकतर्फका सांसदहरुले सोमबार प्रमाणपत्र बुझ्नेछन्। त्यसपछि दलहरुले दलको नेता चयन गर्नेछन्।

दलको नेता चयन भएपछि सरकार गठनको बाटो खुला हुने संवैधानिक व्यवस्था छ। त्यसअनुसार अबको प्रमुख काम राजनीतिक दलहरुभित्र दलको नेता चयन हुनेछ।

चुनावमा सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। ती दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टी छन्। यी दलहरुले दलको नेता चयन गरेपछि प्रधानमन्त्रीको उम्मेदवार देखिनेछन्।

कम्युनिस्ट र अरु साना दलमा संसदीय दलको नेता लगभग निश्चित छ। कुनै नाटकीय परिवर्तन नआएमा दलको प्रमुख नै नेता चयन हुनेछन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव हारेकाले अरु नेता चयन हुनेछन्। एमालेबाट अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल दलको नेता हुने लगभग निश्चित छ।

कांग्रेसमा भने संसदीय दलको नेताका लागि चुनाव हुने देखिएको छ। त्यो पनि संस्थापन इतर समूह भनेर चिनिएको समूहबाट दुई जना छन्। एउटै खेमाबाट यी दुईजना भिड्दा देउवालाई सहज हुने र अन्य निर्णय लिन पनि मौका मिल्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =