भद्रगोल धरान : अराजक हर्क, असहयोगी विपक्षी

विवेक विवश रेग्मी ३ पुष २०७९ ११:४१
210
SHARES
भद्रगोल धरान : अराजक हर्क, असहयोगी विपक्षी

इटहरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) विवादको भुमरीमा परेका छन्। सामाजिक सञ्जालमा आएका लाइक, कमेन्ट र सेयरमा रमाएर आफ्नो हैसियत भुल्न थालेको भन्दै मेयर साम्पाङको आलोचना हुन थालेको छ।

विवादकै कारण उपमहानगरपालिका कार्यपालिकाको बैठक स्थगित हुँदै आएको छ। कार्यपालिका बैठक बस्न नसक्दा धराने जनताको सुशासन र विकासका लागि हुनुपर्ने र गरिनुपर्ने अनिवार्य निर्णय र कामकारबाही अवरुद्ध भएको स्वयं मेयर साम्पाङले बताएका छन्।

हर्क साम्पाङ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएका थिए। विद्रोही छवि बनाएर मेयरमा चुनिएका उनले विगतकै गतिविधि दोहोर्‍याइरहेकाले समस्या बढेको हो।

काम लिएर उनलाई भेट्न पुगेका नगरवासी, पत्रकार तथा अन्य मानिसलाई ‘तपाईं कुन पार्टीको,’ ‘पार्टीको झोले’ जस्ता अभिव्यक्ति दिइरहेका कारण पनि उनी पछिल्लो समय थप आलोचित बनेका छन्।

पछिल्लो विवादको विषय हो, उनले फेसबुकमा लेखेको एउटा स्टाटस। उनले लेखेका थिए, ‘बल होइन बुद्धि लगा, चमारे बुद्धि’। उनले लेखेको स्टाटसप्रति राष्ट्रिय दलित आयोगले आपत्ति जनायो। यस्ता अभिव्यक्तिबाट दलित समुदायमाथि चोट पुर्‍याएको र जातीय सद्‍भाव खलबलिने द्वैष फैलाएकाले उनले आत्मालोचना गर्नुपर्ने आवाज उठ्यो।

उपमहानगरका कार्यपालिका सदस्यहरूले पनि आत्मालोचना गर्न माग गरे। तर मेयर साम्पाङले भने आफ्नो उद्दण्ड शैली झन् बढाउन थालेका छन्। सार्वजनिक पदमा बसेको व्यक्तिले एउटा समुदायमाथि लक्षित गर्दै होच्याएर स्टाटस लेखेकोप्रति उनी विवादित बनेका हुन्।

उनले माफी माग्नुको सट्टा पत्रकार सम्मेलन गर्दै कार्यपालिका सदस्यहरूको राजीनामा माग गरेका छन्। धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेश गजमेर भन्छन्, ‘मेयर सा’ब निरंकुश शैलीमा अगाडि बढ्नुभयो, उहाँमा आफू मात्र सही, अरू गलत हो भन्ने बुझाइ रह्यो।’

‘मेयर एक्लैले धरानको विकास हुने होइन। उहाँ मात्रै पनि निर्वाचित होइन। उहाँ आफ्नो जिद्दीमा अडिग हुनुहुन्छ। उहाँको शैली नकारात्मक बाटोमा अगाडि बढिरहेको छ।’

कार्यपालिका बैठकमा सदस्यहरूमाथि गरेको व्यवहार र सञ्जालमा दलित समुदायलाई अवहेलना हुने गरी लेखिएको स्टाटस अस्वाभाविक र निरंकुश रहेको बताए।

‘बैठक भनेको छलफल गर्ने र छलफलबाट निष्कर्ष निकाल्ने थलो हो,’ गजमेरले हिमालप्रेससँग भने, ‘छलफलमै कार्यपालिका सदस्यलाई नै ‘बाहिर जा’ भन्नु गलत हो, उहाँले माफी नमागेसम्म हामी बैठकमा जाँदैनौँ।’

मेयर साम्पाङले गरेका राम्रा कामको साथ दिन आफूहरू तयार रहे पनि साम्पाङले गरेका गलत कामको विरोध जनाउनेबित्तिकै सोही मानिसविरुद्व उत्रने स्वभाव सच्चिनुपर्ने गजमेर सुनाउँछन्।

‘मेयर एक्लैले धरानको विकास हुने होइन। उहाँ मात्रै पनि निर्वाचित होइन,’ उनले भने, ‘उहाँ आफ्नो जिद्दीमा अडिग हुनुहुन्छ। उहाँको शैली नकारात्मक बाटोमा अगाडि बढिरहेको छ।’ पछिल्लो समय मेयर साम्पाङ दम्भको बाटोमा अगाडि बढेको उनको तर्क छ।

मेयर साम्पाङ स्वेच्छाचारी र गैरजिम्मेवार भएको आरोप उनको छ। गजमेर भन्छन्, ‘उहाँ आफ्नै कारण विवादमा तानिनुभएको छ।’ धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) मेयर साम्पाङमा अनुभवको कमी रहेको टिप्पणी गर्छन्।

उनले गरेका गल्तीको आत्मालोचना नगर्ने भएका कारण पनि समस्या भइरहेको बताए। ‘उहाँ नगरको अभिभावक हो, तर अभिभावकको भूमिका खेल्न सक्नुभएन,’ राईले भने, ‘व्यक्तिगत कारणले पनि विवाद होला। तर मचाहिँ अनुभवको कमी देख्छु।’

भर्खरै निर्वाचित भएका कारण अनुभवको कमी भएको हुन सक्ने उनी बताउँछन्। सबै पक्षसँग छलफल गरी समस्या समाधानका निम्ति पहल भइरहेको उनले बताए।

विवाद कायमै

असोज १३ गते कार्यपालिका बैठक थियो। उक्त बैठक विवादित बनेपछि अहिलेसम्म बस्न सकेको छैन। मेयरकै कारण वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका थिए। धरान १७ मा रहेको सप्तरंगी पार्कका विषयमा विवाद बनेपछि कार्यपालिका बैठक स्थगित भएको थियो।

मेयर साम्पाङले सप्तरंगी पार्कलाई बहुसांस्कृतिक संग्रहालय बनाउने प्रस्ताव गरेका थिए। कार्यपालिका सदस्य अनुप देवानले सप्तरंगी पार्कको डीपीआर तयार भइसकेकाले त्यसको नाम परिवर्तन गर्न नहुने अडान गरे। उनको अडानमा अरू वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले समर्थन जनाएका थिए।

कार्यपालिका सदस्य देवानलाई मेयर साम्पाङले ‘तपाईंको बोल्ने पालो सकियो, अब बस्नुस्’ भने। देवानले भने आफ्नो कुरा अझै रहेको अडान गरेपछि उद्दण्ड शैलीमा साम्पाङले ‘नबस्ने हो भने निस्केर जानुहोस्’ भनेपछि विवादले चर्को रूप लिएको हो। त्यसै बेलादेखि कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका हुन्।

मेयर साम्पाङ अराजक बन्दै गएपछि अहिले धरान उपमहानगरका २० वटै वडाका वडाध्यक्ष र २८ जना कार्यपालिका सदस्य एकातिर र मेयर साम्पाङ अर्कातिर छन्। अराजकता र ‘हामी’बाट ‘म’ को बाटोमा लम्किएका कारण उनी सच्चिनुपर्ने कार्यपालिका सदस्यहरू बताउँछन्।

यही गतिविधि दोहोर्‍‍याइरहेको अवस्थामा भने विवाद थप उत्कर्षमा पुग्नसक्ने कार्यपालिका सदस्यहरू बताउँछन्। मेयर साम्पाङका पक्षमा कार्यपालिका सदस्यबाट मत नआएमा अराजक शैलीबाट उनी अगाडि बढ्ने गरेका छन्।

मेयर साम्पाङले भने सदस्यहरूले कार्यपालिका बैठक बहिष्कार गरेर सार्वभौम धराने जनताको आदेशअनुरूप आचरण नगरेको र विधिको शासन नमानेको भन्दै खेद प्रकट गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कार्यपालिका सदस्यहरूले कर्तव्य पूरा नगरेको, अनुशासनहीनता र लापरबाही देखिएकाले सबै कार्यपालिका सदस्यरू तुरुन्त सच्चिन आवश्यक देखिन्छ।’

नसच्चिने हो भने नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्न उनले कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘हाम्रा कामकारबाहीको मूल्यांकन गर्न पनि धराने जनतालाई अनुरोध गर्दछु।’

प्रकाशित: ३ पुष २०७९ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =