साइकलमा कर्मभूमि नेपालबाट ससुराली बंगलादेश पुग्दै जर्मन राजदूत थोमस प्रिन्ज

हिमाल प्रेस २ पुष २०७९ १९:१४
66
SHARES
साइकलमा कर्मभूमि नेपालबाट ससुराली बंगलादेश पुग्दै जर्मन राजदूत थोमस प्रिन्ज

काठमाडौँ- नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज यतिबेला साइकल यात्रामा छन्। काठमाडौँबाट यात्रा सुरु गरेका उनी नेपालका पहाडी, मैदानी भाग छिचोल्दै शुक्रबार भारतको पश्चिम बंगाल पुगे। अब त्यहाँबाट उनी बंगलादेशतिर लाग्दैछन्। बंगलादेशी राजधानी ढाका उनको अन्तिम गन्तव्य हो। गत सोमबारबाट उनको यात्रा सुरु भएको थियो। उनी बंगलादेशमा अझैँ केही दिन साइकल चलाइरहेका हुनेछन्।

प्रिन्जका लागि कूटनीति जागिर हो। अनि साइकल चाहिँ सोख। यही साइकलमार्फत उनी फरक किसिमको कूटनीतिक क्रियाकलापमा व्यस्त भएका हुन्। काठमाडौँस्थित जर्मन राजदूतावास सम्हाल्न आउने कूटनीतिज्ञमध्ये साइकल चलाउन मन पराउने पहिलो व्यक्ति होइनन्, प्रिन्ज। उनीअघि आएका जर्मन राजदूतहरुले पनि साइकल चलाएको देखिन्थ्यो।

दुई दशकअघि काठमाडौँ ओर्लिएका रुडिगर लेम्प पनि खुबै साइकल चलाउँथे। साइकलमै काठमाडौँ वरपरका विभिन्न ठाउँमा पुग्थे। नगरकोट, धुलिखेल, दक्षिणकाली क्षेत्रतिरको यात्रा साइकलमा गर्थे। प्रिन्ज चाहिँ काठमाडौँ उपत्यकामा सीमित हुन चाहेनन्। बरु अन्तरदेसीय यात्रामा निस्किएका छन्, आफ्नो प्यारो साइकल लिएर।

प्रिन्ज सामाजिक सञ्जाल ट्विटरमा आफ्नो यात्राबारे अपडेट गराइरहन्छन्। आफूले खिचेका सुन्दर तस्बिर पनि अपलोड गरिरहेका हुन्छन्। उनी खासमा ढाकामा क्रिसमस मनाउने उद्देश्य बोकेर साइकल यात्रामा निस्किएका हुन्। बंगलादेश उनको ससुराली देश हो। ढाकाको जर्मन राजदूतावासमा कार्यरत हुँदा उनले बंगलादेशी नागरिकसँग विवाह गरेका थिए। उनी बंगलादेशमा सन् २०१५ देखि २०१८ सम्म राजदूत थिए।

उनले यात्रा करिब आठ सय ५० किलोमिटर लामो हुने अनुमान गरेका छन्। हाल उनी दैनिक एक सय २५ किलोमिटरसम्म साइकल चलाइरहेका छन्। यात्राको पहिलो दिन नेपालको पहाडी क्षेत्र छिचोल्दा भने ७६ किलोमिटरमा सीमित भएको उनको भनाइ छ।

प्रिन्जले साइकलमा चार साना–साना ब्याग मिलाएर बाँधेका छन्। एक्लै यात्रामा निस्किएका उनले नेपाल सरकारसँग अनुमति पनि लिएका छन्। उनको यात्राबारे नेपाली सञ्चारमाध्यममा प्रशस्तै खबर छापिएका छन्। यद्यपि उनी ससुराली हिँडेका हुन् भन्नेबारे कमैलाई जानकारी होला।

प्रिन्जले सोमबार हेटौंडा पुगेपछि पहिलो दिनको अनुभव सुनाएका थिए। कठिन भूगोलका कारण अप्ठ्याराको सामना गर्नुपरे पनि मनोरम दृश्यबाट आफू अति प्रसन्न भएको ट्विटरमा लेखेका थिए। हेटौडा पुगेको भोलिपल्टै उनी नेपाल छिचोलेर भारतको बिहार पुगे।

बिहारको बैरगनिया पुग्न उनले एक सय १८ किलोमिटर यात्रा गर्नुप¥यो। त्यहाँ कृषकहरु धान थन्काउन व्यस्त रहेको अनुभव सुनाए। उनले ती व्यस्त कृषकका तस्बिर पनि ट्विटरमा अपलोड गरेका छन्।

सन् १९५९ मा जन्मिएका प्रिन्ज ३१ वर्षको उमेरमा कूटनीतिक सेवामा प्रवेश गरेका थिए। उनी दक्षिण एसिया ममिला जानकार हुन्। योक्षेत्रबारे उनले औपचारिक अध्ययन नै गरेका छन्। एक समय उनी पूर्वीएसियाको ताइवानमा थिए। उनीसँग सांघाई, काबुल र जकर्तास्थित जर्मन नियोगमा काम गरेको पनि अनुभव छ। त्यसबाहेक जर्मनीमै त्यहाँको विदेश मन्त्रालय र युरोपियन युनियनमा उनले कूटनीतिक अनुभव बटुलेका छन्। उनी दक्षिण एसियाका केही मुख्य भाषामा दख्खल राख्छन्।

संयोग नै मान्नुपर्छ प्रिन्जअघिका राजदूत माथियस मायर पनि उडेर भन्दा गुडेर यात्रा गर्न रमाउँथे। यद्यपि मायर बढीजसो गाडीमा यात्रा गर्थे। कतिसम्म भने मायर कार्यकाल सकिएपछि आफ्नो १८ सीडी ४ नम्बर प्लेट भएको गाडी हुइकाउँदै जर्मनी फर्किएका थिए। उनी नेपालबाट भारत, पाकिस्तान, इरान हुँदै जर्मनी पुगेका थिए। उनलाई घर पुग्न ४८ दिन लागेकाे थियाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =