लुम्बिनी केवलकार दुई महिनापछि सञ्‍चालनमा आउने

मुख्यसचिव बैरागीसहितको टोलीले गर्‍यो निरीक्षण

हिमाल प्रेस २ पुष २०७९ १६:५७
4
SHARES
लुम्बिनी केवलकार दुई महिनापछि सञ्‍चालनमा आउने

काठमाडौँ– लुम्बिनी प्रदेशमा निर्माणधीन केवलकार अबको दुई महिनापछि सञ्‍चालनमा आउने भएको छ। लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको सबै काम पूरा भइसकेकाले अबको १/२ महिनामै केबलकार सञ्चालनमा आउने जानकारी दिएका छन्।

शनिबार नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीसहितको टोलीले शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गरेको छ। मुख्यसचिव बैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको सरकारी टोलीले केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएको हो।

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगति विवरण लिनुका साथै केवलकारको सञ्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखे। यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न उनले आग्रहसमेत गरे।

उक्त अवसरमा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष ढकालले केवलकार निर्माणको प्रगतिबारे जानकारी गराउँदै अबको २ महिनाभित्रै केबलकार सञ्चालनमा आइसक्ने बताए।

केवलकारको झण्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने उनले जानकारी दिए। ‘अबको १/२ महिनापछि केबलकार सञ्चालनमा आउँछ। तर बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरूको निर्माणकार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ,’ अध्यक्ष ढकालले भने।

केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ। लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र नेपालको सीमाक्षेत्रका भारतीय पर्यटकलाई यो केबलकारसहितको रिसोर्ट नयाँ पर्यटकीय गन्तव्य बन्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =