कोभिड-१९ महामारी : यो डिसेम्बर त्यो जनवरी

अजय अलौकिक २ पुष २०७९ ११:३९
96
SHARES
कोभिड-१९ महामारी : यो डिसेम्बर त्यो जनवरी

डिसेम्बर ७ मा चीनले कोभिड-१९ महामारी प्रतिरोधसम्बन्धी दस सूत्रीय सुधारका कदम सार्वजनिक गरेको छ। योसँगै हाल चीनमा निर्वाध रूपमा आवतजावत गर्न सुविधा मिलेको छ। यसअघिसम्म न्युक्लिक एसिड परीक्षणको २४, ७२ घण्टे नतिजा अनिवार्य थियो।

दस सूत्रीय सुधारका कदम सार्वजनिक गरेसँगै (कोभिड-१९) कोरोना महामारी प्रतिरोध तथा रोकथामको तीन वर्षयता महामारी प्रतिरोध र सामाजिक विकास बीचको सन्तुलन तुलनात्मक रूपमा राम्रो रहेको चीनको ठम्याइ छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गत महामारी व्यवस्थापन कार्य टोलीका प्रमुख विशेषज्ञ ल्याङ वानन्येनले महामारीको यो तीन वर्षमा चीनले महत्त्वपूर्ण रणनीतिक उपलब्धि हासिल गरी महामारी प्रतिरोध र सामाजिक विकासबीचको सन्तुलन गर्न सफल रहेको औँल्याएका हुन्।

साथै महामारीको प्रतिरोधसम्बन्धी नीति र कदमले निरन्तर सुधारका लागि जग बसालेको उनको भनाइ छ।

प्रमुख ल्याङ वानन्येनले चीनले भाइरस परिवर्तन र रोगको विशेषतालाई निरन्तर रूपमा ध्यान दिँदै महामारीको प्रतिरोध गर्ने क्षमतालगायत आधारभूत अवस्थाबारे सोचविचार गरी महामारीको प्रतिरोधसम्बन्धी नीति र कदममा लगातार रुपमा सुधार गर्ने तथा महामारीको प्रतिरोध र सामाजिक तथा आर्थिक विकासबीचमा सन्तुलन ल्याउने कुरामा पनि जोड दिएका छन्।

दस सूत्रीय सुधारका कदमहरूमा जोखिम क्षेत्रहरूको वैज्ञानिक र सही विभाजन, आइसोलेसन विधि अनुकूलन र समायोजन, वृद्धवृद्धाको खोपलाई तीव्रता लगायत दस वटा विषय समावेश छन्।

यो नयाँ कदमपछि जनताको स्वास्थ्य र जनतालाई प्राथमिकता नीति अवलम्बन गर्दै महामारी नियन्त्रणको स्तर थप उकासिने देखिएको छ। जनजीवन, सुरक्षा र सुस्वास्थ्यको संरक्षण गरिनुबाहेक आर्थिक तथा सामाजिक विकासमा महामारीको प्रभावलाई ठूलो हदसम्म घटाइने विश्वास छ।

यो खुकुलो नीतिसँगै चिनियाँ र चीनमा बसोबास गर्दै आएका विदेशीहरू तथा चीनको भ्रमण गर्न चाहने र ओहोरदोहोर गर्नेहरू सबैलाई सहज र सुविधा मिलेको छ।

कहीँकतै जानुपरेमा न्युक्लिक एसिड टेस्टको नेगेटिभ नतिजा देखाउनु अनिवार्य थियो। जता गए पनि स्वास्थ्य सम्बन्धी क्युआर कोडको स्क्यान अनिवार्य थियो। हाइ रिस्क क्षेत्र या कतै कोभिड रोगी भए त्यो ठाउँ जान वर्जितजस्तै थियो।

आमचिनियाँहरू आफ्नो नयाँ वर्ष र वसन्त चाडको तामझाममा थिए। वर्ष दिनको पारिवारिक मिलन र भेटघाटको मेसोमा रहेका चिनियाँलाई मास्कले नाकमुख छोप्ने बाध्यता आइलागेको थियो।

रोगीको आइसोलेसन प्रक्रिया र त्यहीअनुसारको अस्पतालको व्यवस्था यस्ता धेरै नियम थिए। आवतजवातको क्रममा क्वारेन्टाइनका प्रक्रियाबाट धेरैपटक ओहोरदोहोर गर्नेहरू आजित थिए।

यद्यपि यी सबै नियम र पालन एक सङ्क्रमितबाट अर्कोमा नसरून भन्ने उद्देश्य हो। एकबाट तुरून्त सयौँ बिरामी हुने भयानक अवस्थाबाट बच्न र बचाउन यी उपाय अवलम्बन गरिएका थिए।

तीन वर्षपछि चीनले महामारी नियन्त्रण नीतिमा संशोधन गरेको छ। तीन वर्षदेखि निरन्तर जारी महामारीको प्रतिरोधबाट प्राप्त उपलब्धिका आधारमा यो नीति र सुविधा आमजनताले पाएका हुन्।

चीनले सन् २०१९ को डिसम्बरको अन्योल, सन् २०२० को जनवरीको महापीडा र त्यसपछिको अनवरत प्रयास तथा भाइरसमाथिको विजयका लागि महाभारत युद्ध लडेको छ।

आजको यो ‘नयाँ कोरोना भाइरस कोल्ड’ अघि यो ‘नयाँ कोरोना भाइरस निमोनिया’ थियो। जसले विश्वका धेरै मानिसका आफन्तजनको इहलीला समाप्त पारेको थियो।

अहिले यो सात, दस दिनको साधारण रूघाखोकी जस्तो भएको छ। सन् २०२० को जनवरीमा नांगो आँखाले नदेखिने अदृश्य वस्तुको न कसैलाई उद्गम थाहा थियो न त यसको अन्त्य।

मानिसहरू भटाभट संक्रमित भइरहेका थिए, कतै पुक्लुक्क ढलेर मर्दै थिए। सन् २०२० को जनवरीमा एउटा अदृश्य र भयंकर भय बोकेर आएको थियो।

आमचिनियाँहरू आफ्नो नयाँ वर्ष र वसन्त चाडको तामझाममा थिए। वर्ष दिनको पारिवारिक मिलन र भेटघाटको मेसोमा रहेका चिनियाँलाई मास्कले नाकमुख छोप्ने बाध्यता आइलागेको थियो।

जनवरी २४ तारिखदेखि वसन्त चाडको बिदा थियो तर २३ तारिख यो पंक्तिकारलाई बेइजिङस्थित कार्यालयमा ‘अलि सतर्क रहनु होला, ऊहानबाट बेइजिङ आएका केही व्यक्तिमा सरूवा रोग देखिएको छ,’ चिनियाँ सहकर्मीले यसो सुनाउँदै मास्क लगाएर हिँड्न सल्लाह दिएका थिए।

यो रोग के हो? सन् २०२० जनवरी २३ तारिख बिहान ११ बजेसम्म बेइजिङमा १४ जना र चीनभरि विभिन्न प्रान्त, सहर र क्षेत्रमा फैलिँदै ५७१ जना बिरामी र १७ जनाको मृत्यु भइसकेको थियो। साथै थाइल्यान्डमा चार र दक्षिण कोरिया, अमेरिका र जापानमा पनि एकएकजना संक्रमित भेटिएका थिए।

एक करोडभन्दा बढी जनसंख्या भएको हुपै प्रान्तको सदरमुकाम सहर ऊहानलाई २३ जनवरी बिहीबार बिहान दस बजेदेखि नै स्थानीय सरकारले सार्वजनिक यातायातका साथै विमानस्थल र रेलवे स्टेसनसमेत पूर्ण रूपमा बन्द गरी लकडाउन गरिसकेको थियो। यहाँ डिसम्बर ३१ मा पहिलोपल्ट यस भाइरस संक्रमित भेट्टाइएको थियो।

ऊहानपछि हुपै प्रान्त र चीनका विभिन्न सहर तथा प्रान्तसँगसँगै बेइजिङले पनि शनिबार जनवरी २५ मा सार्वजनिक स्वास्थ्यका लागि पहिलो स्तरको संकटकाल घोषणा गरेलगत्तै जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले चीनबाहेक अन्य १८ मुलुकमा पनि कोरोना भाइरस फैलिएपछि ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो।

हावामा पनि भाइरस रे!, भाँडावर्तन, फलाम, स्टिल, प्लास्टिकमा कयौँ दिनसम्म बाँच्ने भाइरस, रोगको लक्षण, स्प्रेड दर अनि एसिम्टोम्याटिक, साइलेन्ट क्यारियर यस्ता शब्दावलीहरूको प्रयोग धेरै भए। यस भाइरसको प्रकृति कोरोना भाइरसजस्तै देखिएकोले नयाँ कोरोना भाइरस भनिएको थियो र विश्व स्वास्थ्य संगठनले फेब्रअरीमा यस रोगलाई कोरोना भाइरस रोग २०१९ (कोभिड-१९) नामकरण गरेको थियो।

आज, चीनले यस भाइरसमाथि जित हासिल गरिसकेको छ भन्दा अत्युक्ति हुँदैन। भाइरसको केन्द्रबिन्दु मानिएको ऊहान सन् २०२० अप्रिल ८ बाट नै पूर्वस्थिति रूपमा फर्केको थियो।

शून्य कोभिड नीति अवलम्बन गर्दै चीनले प्रभावकारी ढंगले आमजनताको स्वास्थ्यमा विशेष ध्यान दिएको थियो। चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ जनताको जीवन र स्वास्थ्यलाई पहिलो स्थानमा राख्दै आएको छ।

यसविरुद्धको प्रभावकारी खोप बनिसकेको छ। हाल चीनमा यसविरुद्धको खोप लगाउने मात्रा ९० प्रतिशतभन्दा बढी पुगेको छ। यसविरुद्धको चिनियाँ परम्परागत औषधिदेखि उपचारका विविध औषधिको विकास र उत्पादन गरेको छ।

चीनले तीन वर्ष लामो महामारी रोकथाम तथा नियन्त्रणमा बिताएको समय, अध्ययन तथा अनुसन्धान र विश्लेषणपछि सुधारका कदम चालेको हो। महामारी रोकथाम तथा नियन्त्रणमा वैज्ञानिक अवधारणासँगै आर्थिक तथा सामाजिक विकासमा महामारीको प्रभावलाई कम गर्दै जाने र आममानिसको स्वास्थ्यको प्रत्याभूति दिइनेछ।

तीन वर्षको समयमा कोरोना भाइरसको उत्परिवर्तित रूप र यसको कहरको सामना गरेको छ। अल्फा, बिटा हुँदै ओमिक्रोनसम्म सयौँ रूप फेरेको यो अवतारी भाइरसले नयाँ रूपसँगै नयाँ रङ देखाएर आममानिसलाई चुनौती दिएको थियो।

अहिले यो भाइरसको मानवीय क्षति गर्ने क्षमता क्षीण भएको देखिन्छ। साथै यसलाई निमिट्यान्न पार्ने विधि आममानिसले जानिसकेका छन्। हुन त सन्त्रास अझै पनि छ, म्युटेन्टका सम्भावना अझै पनि छ तर अब डराउने दिन गएको मान्न सकिन्छ।

यही अवस्था र तीन वर्षदेखिको अध्ययन तथा महामारीविरुद्धको निरन्तर युद्धपछि हाल चीनले ‘सुधारका कदम’ चालेको हो।

यो समाज र अर्थतन्त्रलाई अघि बढ्न बढाउन ठूलो सहयोग हुनेछ। साथसाथै, तीन वर्ष लगातार तीनवटा वसन्त चाड र नव वर्ष मनाउन नपाएका आमचिनियाँले यसपटक पारिवारिक पुनःमिलन सँगसँगै निसंकोच भएर भाइरसलाई तल पार्दै खुसी साटासाट गर्नेछन्।

यद्यपि अझै पनि कोभिड-१९ महामारी सकिएको छैन। यस वर्ष मात्र महामारीबाट विश्वभर दस लाखभन्दा बढी मानिसको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अझै पनि अन्तर्राष्ट्रिय ध्यानाकर्षण आपतकालीन सार्वजनिक स्वास्थ्य गतिविधिका रूपमा घोषणा गरेको छ। साथै निरन्तर अनुगमन तथा प्रतिरोध कार्यक्रम नवीकरण गर्न विभिन्न देशहरूलाई आग्रह गरेको छ। डब्लूएचओका अनुसार गत साता मात्रै विभिन्न देशमा २५ लाखभन्दा बढी नयाँ संक्रमण देखिएको छ।

वास्तवमा आज त्यो जनवरीमा जस्तो भय, आशंका, त्रास र डरको स्थिति छैन। महामारीको रोकथाम तथा नियन्त्रणको प्रक्रिया चलिरहनेछ।

चीनले तीन वर्ष लामो महामारी रोकथाम तथा नियन्त्रणमा बिताएको समय, अध्ययन तथा अनुसन्धान र विश्लेषणपछि सुधारका कदम चालेको हो।

महामारी रोकथाम तथा नियन्त्रणमा वैज्ञानिक अवधारणासँगै आर्थिक तथा सामाजिक विकासमा महामारीको प्रभावलाई कम गर्दै जाने र आममानिसको स्वास्थ्यको प्रत्याभूति दिइनेछ। यो नै तीन वर्षसम्मको महामारीको प्रतिरोध तथा नियन्त्रणबाट प्राप्त गरेको उपलब्धि हो। यसरी चीन अन्तिम सफलतातिर लम्किँदैछ।

प्रकाशित: २ पुष २०७९ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =