सुदूरपश्चिम प्रदेशसभा : समानुपातिकबाट जम्मा तीन पुरुष सांसद

पदमराज भट्ट २९ मंसिर २०७९ १२:२५
12
SHARES
सुदूरपश्चिम प्रदेशसभा : समानुपातिकबाट जम्मा तीन पुरुष सांसद

धनगढीः सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकतर्फ तीन जना मात्रै पुरुषको नाम समेटिएको छ। त्यसमा पनि एमालेबाट मात्रै पुरुषले अवसर पाएका हुन्। खस आर्यबाट राजेन्द्रसिंह रावल, धर्म पाठक र दलित कोटाबाट हिरा सार्की समानुपातिक सांसद भएका छन्।

२१ समानुपातिक सांसद रहने सदूरपश्चिममा एमालेले ७ जना सांसद पाएको छ। एमालेले खस आर्यबाट चार जना, दलितबाट एक जना, थारुबाट एक जना र पिछडिएको क्षेत्रबाट एक जनालाई छनोट गरेको छ। त्यसमा अनिवार्य तीन जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।

खस आर्यबाट सन्तोषकुमारी शर्मा थापा, जानकी ऐर बम, राजेन्द्र सिंह रावल र धर्म पाठकले सांसद बन्ने अवसर पाएका छन्। दलित कोटाबाट हिरा सार्की छनोट हुँदा पिछडिएको क्षेत्रबाट निर्मला साउद र थारु कोटाबाट कोइलीदेवी चौधरी पनि समानुपातिक सांसद बनेका छन्।

त्यस्तै कांग्रेसको भागमा पनि ७ जना परेका छन्। खस आर्यबाट ५ जना, दलितबाट एक जना र थारुबाट एक जनाको नाम निर्वाचन आयोगमा सिफारिस भएको थियो। निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीको आधारमा खस आर्यबाट मधु भारती, सरस्वती खड्का, जुनाकुमारी दानी, डम्मरी महरा ‘रक्षा’ र तुलसा देवकोटा परेका छन्। यस्तै दलितबाट ललिता सुनार र थारुबाट गीताकुमारी चौधरीको नाम सार्वजनिक भएको छ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसले प्रत्यक्षतर्फ १२ क्षेत्रमा विजयी हुँदा नेकपा एमाले ३ सिटमा खुम्चिएको छ। प्रदेशका आठ निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव जितेको नेकपा माओवादीले भने समानुपातिकतर्फ तीन जना मात्रै पाएको छ। माओवादीको तर्फबाट तीनैजना महिला सांसद भएका छन्। खस आर्यबाट गीतादेवी माल र जानकीदेवी कुँवर तथा दलितबाट लक्ष्मी विक प्रदेश सभा सदस्य भएका छन्।

नागरिक उन्मुक्ति पार्टीले पनि सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ ५ क्षेत्रमा जित निकालेको छ। दुई जना समानुपातिक सांसद पाएको सो पार्टीले खस आर्यबाट टीका थापा र इन्दिरा गिरीलाई प्रदेशसभा सदस्य बनाएको छ।

प्रत्यक्षतर्फ तीन सिट जितेको नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ एक जना सांसद पाएको छ। जसमा खस आर्यबाट महिला कोटामा माया पन्त सांसद बनेकी छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ प्रत्यक्षतर्फ कुनै क्षेत्र जित्न सकेन। तर, समानुपातिक मत संख्याका आधारमा एक जना सांसद पाएको छ। जसमा खस आर्य कोटाबाट खेमादेवी विष्ट सांसद बन्ने मौका पाएकी छन्।

कुल ५३ सदस्यीय प्रदेशसभामा ३५ जना पुरुष सांसद छन्। सुदूरपश्चिममा उम्मेदवार बनेका महिला उम्मेदवारले प्रत्यक्षमा जित निकाल्न नसकेपछि समानुपातिक सांसद २१ मध्ये १८ जना महिला छनौट भएका हुन्।

सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फको ३२ वटै क्षेत्रमा पुरुष निर्वाचित भएका छन्। यहाँ ११ सिटका लागि १२ महिलाले मात्रै उम्मेदवारी दर्ता गराएका थिए। तर, कसैले पनि जित हासिल गर्न सकेनन्।

प्रत्यक्षतर्फ कांग्रेसले १२, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र एकीकृत समाजवादीका तीन-तीन र एक जना स्वतन्त्र निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ महिला सांसद शून्य भएपछि सुदूरपश्चिममा १८ जना महिलालाई समानुपातिक प्रणालीबाट संसद् प्रवेश गराउनु परेको हो।

प्रदेशसभाका कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सदस्य छानिन्छन्।

प्रकाशित: २९ मंसिर २०७९ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =