तनहुँमा घिरिङ सबस्टेसन तयार, नवलपरासीसम्म विद्युत् आपूर्ति हुने

हिमाल प्रेस २८ मंसिर २०७९ १५:३१
4
SHARES
तनहुँमा घिरिङ सबस्टेसन तयार, नवलपरासीसम्म विद्युत् आपूर्ति हुने फाइल तस्बिर

काठमाडौँ- तनहुँको घिरिङ गाउँपालिका–४ मा ३३/११ केभी क्षमताको घिरिङ सबस्टेसन निर्माण भएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत घिरिङ सबस्टेसन निर्माण गरिएको हो।

तनहुँ जलविद्युत् आयोजनाका अनुसार तनहुँका भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिका अन्तर्गतका भेगमा यसअघि खैरेनी सबस्टेशनबाट बिजुली पुर्‍याइएको थियो। अब ती क्षेत्रमा घिरिङ सबस्टेसनबाट बिजुली आपूर्ति हुने जनाइएकाे छ।

आयोजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ।

प्राधिकरणका अनुसार घिरिङ सबस्टेसनमा ६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ। ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ।

सबस्टेसनमार्फत् तनहुँका भीमाद नगरपालिका तथा घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी पूर्वका केही भागमा विद्युत् आपूर्ति हुनेछ।

तनहुँ विद्युतीकरण आयोजनाका इन्जिनियर कपिल पाण्डेका अनुसार आयोजनाअन्तर्गत नै तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।

यसैगरी तनहुँको मार्किचोक सबस्टेसनदेखि डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्‍याउने ३३ केभी लाइनको निर्माण पनि अन्तिम चरणमा छ।

आयोजनाअन्तर्गत तनहुँ जिल्लाका विभिन्न ठाउँमा विभिन्न क्षमताका ७० वटा नयाँ वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ।

दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इण्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मंसिरमा ठेक्का सम्झौता भएको थियो।

ग्रामीण विद्युतीकरण अन्तर्गतका सम्पूर्ण कार्य चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना बनाइएको हो।

प्रकाशित: २८ मंसिर २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =