ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

हिमाल प्रेस २७ मंसिर २०७९ १२:३०
10
SHARES
ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

बागलुङ- बागलुङको ताराखोला गाउँपालिका ३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ। तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो।

पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्थानीय कृष्ण अठारे मगरको भनाइ छ। ‘तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन सकेको छैन’, उनले भने, ‘तालसम्म पहुँचका लागि पूर्वाधार निर्माण हुने हो भने पर्यटकीय गतिविधि बढ्ने थियो।’

स्थानीय नीरज बगालेले यतिबेला आफूहरू यतिबेला ताल संरक्षण र प्रचारप्रसारमा जुटेको बताए। उनले स्थानीयहरू ताल छेउछाउ कहिलेकाहीँ वनभोजका लागि जाने गरे पनि बाहिरबाट आउने पर्यटक नभएको बताए।

गाउँपालिकाले गत आर्थिक वर्षमा ताल संरक्षणका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने यसवर्ष प्रदेश सरकारले सहयोग गरेको उनले जानकारी दिए। ‘स्थानीय, प्रदेश र संघबाट आवश्यक बजेट विनियोजन गरी ताल संरक्षण र संरचना निर्माणमा लाग्ने हो भने पर्यटकको संख्या बढाउन सकिन्छ’, उनले भने।

ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पनि यसका लागि पहल सुरु गरेको छ। यसवर्ष प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँ बजेटबाट ताल मर्मत सम्भार गरिने ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिए।

‘बागलुङका तीन वटा ताल यसवर्ष संरक्षण र मर्मत सम्भार हुँदैछन्’, उनले भने, ‘ताराखोलाको खिउ बराह, ढोरपाटनको रुद्र र तामानखोलाको बराह तालमा काम भइरहेको छ।’

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले ताराखोला गाउँपालिकामा भएका तालतलैया र धार्मिकस्थलको प्रवर्द्धनका लागि नीति बनाएर अघि बढाउने बताए।

प्रकाशित: २७ मंसिर २०७९ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =