अमेरिकामा बिक्री हुँदै कर्णालीको कृषि उत्पादन

हिमाल प्रेस २६ मंसिर २०७९ १६:३८
4
SHARES
अमेरिकामा बिक्री हुँदै कर्णालीको कृषि उत्पादन

काठमाडौँ– भूगोलमा पछि परेको कर्णाली क्षेत्रका कृषि उपजको पनि पछिल्लो समय ठूला सहरसम्म पहुँच पुगेको छ। जाजरकोट, जुम्ला र डोल्पालगायत जिल्लाका उत्पादन स्वदेशका सहरदेखि विदेशसम्म पुग्न थालेका छन्।

सहज यातायात व्यवस्था, अर्ग्यानिक उत्पादनप्रतिको आकर्षण र खानामा भातको विकल्प खोज्ने बानीका कारण यहाँका उत्पादनले ठूला सहरसम्म बजार पाएको छ।

जाजरकोटका गाउँमा उत्पादित मकै, सिमी, गाभा, सुन्तला, भटमास, अदुवा, लसुन तथा जुम्लामा उत्पादित मार्सी चामल, सिमी र कोदोको माग नेपालगञ्ज, काठमाडौँदेखि अमेरिका र क्यानडासम्म हुन थालेको छ।

१ हजार ६ सय क्विन्टलभन्दा बढी मकै नेपालगञ्ज पठाइएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले जानकारी दिए। उनका अनुसार यहाँबाट सुन्तला ५ टन, लसुन २ सय ५० क्विन्टल र ४ सय क्विन्टल भटमास नेपालगञ्ज पठाइएको छ।

यस्तै जुम्लामा उत्पादित खाद्यान्न स्वदेशका विभिन्न सहरसहित विदेशसम्म पुग्ने गरेको छ । जुम्ला घर अग्र्यानिक एन्ड सुपर फुड्स प्रालिले यहाँ उत्पादन गरेका कृषिउपज विदेशमा बिक्री भइरहेको छ।

कम्पनीका सञ्चालक राज शाहीले अघिल्लो वर्ष मात्र जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्य सामग्री क्यानडा पुर्‍याएइएको जानकारी दिए। कम्पनीले यसवर्ष १ टन सिमीको दाल, १ टन मासको दाल र १० किलो स्याउको चाना जापान पठाएको छ।

कम्पनीले गतवर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात गरेको थियो। कम्पनीले स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पीठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाउँदै आएको छ। जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ भने गत वर्ष मात्रै ४० क्विन्टल मार्सी चामल पठाइएको शाहीले बताए।

खलंगास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौँसम्म पठाउने काम गरिरहेको छ। गत वर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करिब ३० टन स्याउ बंगलादेश पठाएको थियो।

जुम्लामा २ हजार आठ सय ५० हेक्टरमा मार्सी धान लगाइन्छ भने उत्पादन बार्षिक ६ हजार १ सय २७ टन हुन्छ । यसवर्ष चिनो ६५ टन, कागुनो १५ टन र सिमी चार सय ७१ टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिए।

प्रकाशित: २६ मंसिर २०७९ १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 17 =