बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

हिमाल प्रेस २५ मंसिर २०७९ १९:०२
6
SHARES
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

बुटवल– बुटवल औद्योगिक क्षेत्र उद्योग संघ बुटवलले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै संघले कार्यालयमा तालाबन्दी गरेको हो।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालबन्दी गरेका हुन्।

कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यावहारिक रूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको भन्दै उनीहरूले यसअघि नै आन्दोलनको घोषणा गरेका थिए।

तालबन्दीपछि आयोजित सभामा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले आइतबार सांकेतिक रूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने बताए।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरूको भावना र सुझावविपरीत एकैपटक ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षड्यन्त्रमा लागेको जनाउँदै व्यवस्थापनको मिचाहा प्रवृत्तिका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको जानकारी दिए।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले वर्तमान असहज अवस्थामा उद्योगलाई कसरी बचाउने र बन्द हुन नदिनेतर्फ सोच बनाउनुपर्नेमा भाडा बढाएर आतंक सिर्जना गरेको बताउँदै अहिले बढाएको भाडा उद्योगीहरूले तिर्नसक्ने अवस्था नरहेकाले तत्काल भाडा बढाउने निर्णय फिर्ता लिन आग्रह गरे।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोड रुपैयाँसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट ५३ करोड रुपैयाँ भाडा बापतको बक्यौता उठाउन बाँकी छ।

०७५ साल साउनदेखि लागू हुने गरी लिमिटेडको सञ्चालक समितिले औद्योगिक क्षेत्रको ६३ देखि साढे पाँच सय प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो।

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ को नियम २३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हकमा ५/५ वर्षमा भाडादर पुनरावलोकन गर्ने व्यवस्था उल्लेख छ। लिमिटेडले देशका विभिन्न १० वटा औद्योगिक क्षेत्रबाट यसअघि पनि अलग-अलग भाडा लिँदै आएको थियो भने वृद्धि गर्दा पनि सोहीअनुसार वृद्धि गरेको जनाएको छ।

बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ भाडा लिँदै आएकामा ०७५ सालमा १६ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको थियो। अहिले गरिएको भाडावृद्धि १ सय १६ प्रतिशत हो। त्यसयता उद्योगीहरूले विभिन्न ढंगले भाडा घटाउन दबाब दिँदै आएका छन्।

प्रकाशित: २५ मंसिर २०७९ १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =