कालीगण्डकी करिडोरसम्म पुग्‍ने सडक कलोपत्र गरिने

हिमाल प्रेस २५ मंसिर २०७९ १६:५२
10
SHARES
कालीगण्डकी करिडोरसम्म पुग्‍ने सडक कलोपत्र गरिने

बागलुङ– जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुनः अघि बढाइएको छ। यसअघि उक्त सडक कालोपत्र गर्ने काम संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो। यसबीचमा १ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको थियो।

जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम (कालीगण्डकी करिडोर) सडक कालोपत्रका लागि २ करोड रुपैयाँ विनियोजन गरेको उपमेयर हरिहर शर्माले जानकारी दिए। कुश्मीसेरादेखि जैमिनीधामसम्मको ३ किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक कालोपत्रका लागि रकम विनियोजन गरिएको हो।

३ वर्षसम्म समपूरक कोषबाट काम गर्दासमेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट थप सडक कालोपत्र गर्न लागेको हो। सडकको स्तरोन्नति र १ किलोमिटर सडक कालोपत्रका लागि यसअघि ८ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। पहिला दुई वर्षमा १ करोडभन्दा कम बजेट खर्च भएको उक्त सडकमा पछिल्लो वर्ष २ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो।

कोरोना महामारी, बाढीपहिरोलगायत समस्याका कारण समपूरक कोषमार्फत विनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रको काम बीचमै रोकिएको थियो। संघीय सरकारले एउटै योजनामा ३ वर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपूरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट विनियोजन गरेको शर्माले बताए।

‘करिडोर कालोपत्र हुने चरणमा छ, करिडोरसँग जोडिने यो सडक हामीले तत्काल कालोपत्र गर्दा जैमिनीको लाइफलाइन बन्छ,’ शर्माले भने,’हामीले संघ र प्रदेशसँगसमेत बजेट माग गरेका छौँ, अब पुरानो होइन् नयाँ डिपिआर गरेर बाँकी खण्डको काम कालोपत्र गर्छौं।’

सात मिटर चौडाइ सडक, नाली र दुई किलोमिटर लम्बाइ रहेको सडक कालोपत्रका लागि पाँच करोड रुपैयाँ लागत अनुमान भए पनि अपुग हुने रकम प्रदेश र संघीय सरकारसँग माग गरिने उपमेयर शर्माले बताए।

यो सडक कालोपत्र हुँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग पाँच/सात मिनेटको दुरीमा पालिकामा मुकाम जोडिनेछ। जैमिनी नगरपालिकाभित्रका सबै आर्थिक क्रियाकलाप सञ्चालन गर्न र पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने शर्माको भनाइ छ।

प्रकाशित: २५ मंसिर २०७९ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =