काठमाडौँमा फेरि आयो मेलम्चीको पानी, वर्षैभरि वितरण गर्ने प्रतिबद्धता

हिमाल प्रेस २३ मंसिर २०७९ १३:४२
14
SHARES
काठमाडौँमा फेरि आयो मेलम्चीको पानी, वर्षैभरि वितरण गर्ने प्रतिबद्धता खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी पुनःवितरणको उद्घाटन गर्दै। तस्बिर : रासस

काठमाडौँ- वर्षायाममा बन्द भएको मेलम्ची आयोजनाको खानेपानी काठमाडौँ उपत्यकामा पुनः वितरण थालिएको छ। खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार एक कार्यक्रमबीच पानी वितरण कार्यको पुनः शुभारम्भ गरेका हुन्। मेलम्चीको पानी काठमाडौँमा वितरण कार्य शुभारम्भ गरिएको यो तेस्रो पटक हो।

गत वैशाख ११ देखि अस्थायी संरचनाबाट मेलम्ची वितरण सुरु भएको थियो। बर्षा लागेसँगै सम्भावित क्षतिलाई न्यूनीकरण गर्न जेठ १८ देखि सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको थियो। आयोजनाले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी ल्याएर उपत्यकाका १० वटा ट्यांकीबाट ५ करोड ८३ लाख लिटर पानी वितरण गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ।

हाल काठमाडौँ उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर रहेको केयूकेएलले जनाएको छ। आयोजनाबाट उपलब्ध हुने पानी काठमाडौँ महानगर, गोकर्णेश्वर, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर, भक्तपुर, मध्यपुर थिमि, टोखा, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा आलोपालो वितरण गरिने केयूकेएलका उप कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले बताए।

यसपटकको बाढीले हेडवक्र्स बक्ससम्मको पहुँचमार्गमा क्षति पुगेको थियो। मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अस्थायी रूपमै भएपनि काठमाडौँ उपत्यकावासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाए।

उनले मेलम्चीको पानीको दीर्घकालीन रूपमा स्थायी समस्या समाधानका लागि एडीभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिएको मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए।

मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडीभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा १२ महिनै काठमाडौँवासीलाई पानी खुवाउन सकिने बताए। कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव मणिराम गेलालले हरेक वर्ष जेठमा बन्द गरेर कात्तिकमा खोल्नुपर्ने चक्रलाई अन्त्य गर्न एसियाली विकास बैंकको विज्ञको टोलीले मेलम्ची खानेपानी आयोजनाको साइटमा काम गरिरहेको जानकारी दिए।

उनले मेलम्चीमा नियमित आउने सामान्य बाढीका कारण खानेपानी वितरण बन्द गर्न नपरोस भन्ने तर्फ मन्त्रालय रहेको उल्लेख गरे।

 

 

प्रकाशित: २३ मंसिर २०७९ १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =