बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै

हिमाल प्रेस २३ मंसिर २०७९ ११:५७
2
SHARE
बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै

बाँके- समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ। शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मृगौलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्।

भेरी अस्पताल, नेपालगञ्जमा मृगौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरूको पालो आएको छैन।

भेरी अस्पतालमा अहिले ३६ बिरामीले नियमितरुपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा पारस श्रेष्ठले जानकारी दिए। उनका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन्। उनीहरूले पालो पाएका छैनन्।

भेरीमा चार वटा डायलासिस मेसिन छन्। तीमध्ये एउटा आपत्कालीन अवस्थामा र अरू तीन वटा नियमितरूपमा बिरामीका लागि प्रयोग गरिँदै आएको छ। गत भदौदेखि शिक्षण अस्पताल कोहलपुरभित्र ठेकेदार कम्पनीले चलाएको डायलासिस मेसिन बिग्रिएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको श्रेष्ठले बताए।

अहिले शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा ठप्प छ। कोहलपुरमा मेसिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउँदा चाप बढेको डा श्रेष्ठको भनाइ छ।

कोहलपुरमा डायलासिस सेवा नभएपछि अप्ठेरो अवस्थामा पुगेकाहरू निजी तथा भेरीको आपत्कालीन कक्षमा आएर सेवा लिन थालेका छन् । नियमित डायलासिस सेवा लिनेहरू भेरीमा लाइनमा बस्ने गरेका छन्। भेरीको तीनवटा मेसिनले पहिलेदेखि नै पालोअनुसार सेवा दिइरहेको छ। भदौदेखि यता नयाँ बिरामीको पालो आएको छैन।

भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले मिर्गौलाका बिरामीको अवस्थालाई मध्यनजर गरेर पाँचवटा डायलासिस मेसिन थप गर्ने तयारी भएको बताए। आठवटा मेसिन सञ्चालन भएपछि पाँचवटा मेसिनबाट सामान्य, दुईवटाबाट संक्रमित र एउटा मेसिनबाट आपत्कालीन बिरामीलाई सेवा दिने योजना रहेको उनको भनाइ छ।

प्रकाशित: २३ मंसिर २०७९ ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =