पारिजातको जीवनीमा आधारित ‘सुश्री पारिजात’ लोकार्पण

हिमाल प्रेस २२ मंसिर २०७९ १९:४९
6
SHARES
पारिजातको जीवनीमा आधारित ‘सुश्री पारिजात’ लोकार्पण पुस्तक लोकार्पण गर्दै ढुंगाना, रोदन र प्रेरणा।

काठमाडौँ– गोविन्द गिरी ‘प्रेरणा’ लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ। बिहीबार प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित कार्यक्रममा प्राध्यापक भुवन ढुंगाना, लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ र लेखक प्रेरणाले पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै रोदनले पारिजातको व्यक्तित्व र उनको साहित्यिक यात्रा एवम् जीवन जगतबारे आफ्नो धारणा राखे। पारिजातका विषयमा खोजमूलक पुस्तक ल्याउनु आफैंमा चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

‘पारिजातको विषयमा यसअघि पनि कृति लेखिएका छन्, पछाडि पनि लेखिएलान्, तर अध्ययन र अनुसन्धान गरेर लेखिएको यो पुस्तक अरूभन्दा फरक छ,’ उनले भने।

प्राध्यापक ढुंगानाले पारिजातका विषयमा सुक्ष्म किसिमले अध्ययन गरी लेखिएको यो नै पहिलो पुस्तक भएको बताइन्। साथै उनले पारिजातसँगका आफ्ना सम्बन्ध एवम् भेटबारे पनि उल्लेख गरिन्।

यो पुस्तक पारिजातलाई बुझ्नका लागि मात्र नभएर उनका कृतिहरूबारे जान्नको लागि पनि उपयोगी रहने ढुंगानाले बताइन्।

कार्यक्रममा लेखक प्रेरणाले पुस्तकका लागि सामग्री खोजविन गरी तयार पार्न दुई दशक समय लागेको खुलाए। पारिजातलाई प्रत्यक्ष भेटेर गरेका संवाद अनि उनका विविध अन्तरंग सम्बन्धका विषयमा पनि उनले कार्यक्रममा उल्लेख गरे।

‘शिरीषको फूल’ उपन्यासका लागि मदन पुरस्कार पाएकी लेखक पारिजात आफ्नो समयमा सधैं नेपाली साहित्यको केन्द्रमा रहिन्। आजीवन लेखनको क्षेत्रमै समय बिताएकी उनले उपन्यास, कथा, कविता र आत्मसंस्मरणमार्फत् पाठकलाई आकर्षित गरिरहिन्।

‘सुश्री पारिजात’ले तत्कालीन साहित्यको अनौपचारिक इतिहाससमेत प्रस्तुत गर्ने प्रेरणाले बताए। त्रिभुवन विश्वविद्यालयमा २२ वर्ष काम गरी स्वेच्छिक अवकाश लिएका लेखक प्रेरणा हाल अमेरिकामा जीवन बिमा व्यवसायमा संलग्न छन्।

उनका कथा, उपन्यास, कविता, नियात्रा, निबन्धलगायत विधाका २६ पुस्तक प्रकाशित छन्।

प्रकाशित: २२ मंसिर २०७९ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =