नेपाली फिल्मकर्मीसँग काम गर्न चाहन्छु : प्रकाश झा

हिमाल प्रेस २२ मंसिर २०७९ १६:५३
10
SHARES
नेपाली फिल्मकर्मीसँग काम गर्न चाहन्छु : प्रकाश झा

काठमाडौँ– २० औँ संस्करणको ‘काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)’ आजदेखि सुरु भएको छ। फिल्म महोत्सवको उद्घाटन समारोहमा बलिउडका निर्देशक प्रकाश झा प्रमुख वक्ताका रूपमा थिए।

फिल्म निर्देशनसँगै निर्माता, पटककथा लेखक तथा अभिनेताको पहिचान बनाएका झाले आफू सधैँ नयाँ पात्र, नयाँ कथाको खोजीमा रहने बताए। ‘दर्शकले बुझ्ने भाषामा फिल्म बनाउनु निकै चुनौतीपूर्ण कार्य हो,’ उनले भने, ‘त्यो चुनौतीको सामना गर्न म सधैँ तयार रहन्छु। समयअनुसार नयाँ पात्र, नयाँ कथाको खोजीमा हुन्छु।’

निर्देशनमा मात्र सीमित नभई फिल्म निर्माण, अभिनय सबैतिर काम गरिरहेको उनको भनाइ छ। ‘जुनसुकै काम गरे पनि त्यसलाई राम्रो गर्ने प्रयास गर्छु,’ उनले भने, ‘रमाइलो गर्दै शत प्रतिशत दिने प्रयास गर्छु।’

ओटीटी प्लेटफर्ममा झाको निर्देशन रहेको फिल्म ‘परीक्षा’ रिलिज भएको थियो। सत्य घटनाबाट प्रेरित फिल्ममा एक रिक्सा चालकको कथा देखाइएको छ। जसले आफ्नो छोरालाई सकेसम्म राम्रो शिक्षा दिन चाहन्छ।

पछिल्लो समय बलिउड बदलिएको छ। जहाँ व्यावसायिक फिल्मले ‘एक हजार करोड क्लब’को दौडमा रहन्छन्। यस्तो अवस्थामा शिक्षा, बेराजगारी, युवा, भ्रष्टाचारलगायत सामाजिक विषयवस्तु भन्न रुचाउने झा आफूलाई कहाँ पाउँछन्, कार्यक्रममा शेखर खरेलले प्रश्न गरेका थिए।

त्यसको उत्तरमा झाले अहिले बलिउडमा फिल्म होइन, ‘प्रोजेक्ट’ बनिरहेको बताए। ‘पैसाका लागि बनाइएका फिल्ममा कथा हुँदैन,’ उनले भने, ‘तिनको एउटै उद्देश्य हुन्छ, पैसा। त्यसैले फिल्मका कलाकार, लोकेसनदेखि फिल्म बनाउँदा प्रयोग हुने प्रविधि भव्य हुन्छन्। ती फिल्म होइनन्, प्रोजेक्ट हुन्।’

हिन्दी सिनेमामा आफूजस्ता कथा भन्न चाहने मानिस अझै रहेको उनको भनाइ छ। उनले भने, ‘म र मजस्ता धेरै मान्छे छन्, जो सँग कथा छ, जसलाई हामी पर्दामार्फत दर्शकसम्म पु¥याउन चाहन्छौँ। पु¥याउन सक्छौँ। त्यसैले फिल्म बनाउँछौँ।’

एक हजार करोड क्लबमा पुग्ने होडबाजीका कारण पछिल्लो समय बलिउडका फिल्मको गुणस्तर खस्किँदै गएको उनले बताए। ‘हिन्दी सिनेमाको गुणस्तर खस्किएको छ,’ उनले भने, ‘त्यसैले त बलिउडकाले दक्षिण भारतीय फिल्मको रिमेक बनाइरहेका छन्। हुँदाहुँदा निर्देशकसम्म पनि उताबाटै ल्याउँदैछन्।’

कुनै पनि फिल्मलाई न्याय गर्न आफ्ना वरिपरि भइरहेका घटनाबारे जानकार हुनुपर्ने झाले बताए। ‘हाम्रो वरपर शिक्षा, जात व्यवस्था, बेरोजगारी, भ्रष्टाचारलगायत विभिन्न समस्या छन्,’ उनले भने, ‘तीबारे म सधैँ सचेत रहन्छु। आफ्ना वरिपरि भइरहेका घटनाबारे जानकारी राख्छु। समस्याको कारण र समाधान पत्ता लगाउने प्रयास गर्छु।’

त्यसैले आफूलाई एउटा फिल्म बनाउन कम्तीमा पाँच–छ वर्ष लाग्ने उनको भनाइ छ। ‘अझै पनि म हातले कपीमा पेन्सिलले स्क्रिप्ट लेख्ने गर्छु,’ उनले भने, ‘एउटा फिल्ममा चार, पाँच, छ वर्ष जति पनि समय लागोस्। तर जसरी भए पनि काम राम्रो हुनुपर्छ भन्ने लाग्छ।’

कार्यक्रममा झाले आफू दोस्रोपटक काठमाडौँ आएको बताए। ‘सीता, बुद्ध, हिमाल, मधेश–पहाडको सम्बन्धलगायत विभिन्न विषयवस्तुमा फिल्म बनाउन सकिन्छ,’ उनले भने, ‘नेपालमा धेरै कथा छन्। जसमा राम्रा–राम्रा फिल्म बन्न सक्छन्।’

आफू नेपाली फिल्मकर्मी, लेखकसँग सहकार्य गर्न तयार रहेको पनि झाले कार्यक्रममा बताए। ‘नेपाली लेखक जो सँग राम्रो कथा छ, जसमा फिल्म बनाउन सकियोस्,’ उनले भने, ‘म काम गर्न तयार छ।’

भारत, बिहार, चम्पारनमा जन्मे-हुर्केका झाले सन् १९८४ मा फिल्म ‘हिप हिप हुर्रे’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्।

झाले ‘मृत्युदण्ड’, ‘गंगाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘सत्याग्रह’, ‘चक्रब्युह’ लगायत फिल्मको निर्देशन गरेका छन्। उनी अभिनीत फिल्म ‘मट्टो की साइकल’ को किम्फमा विशेष प्रदर्शन हुँदै छ। एम गनीको निर्देशनमा बनेको फिल्म गत सेप्टेम्बरमा रिलिज भएको थियो।

त्यसबाहेक तापसी पन्नू र भूमि पेडनेकर अभिनीत फिल्म ‘साँड की आँख’मा पनि झाले अभिनय गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eighteen =