बैतडीको निंगलाशैनी मन्दिरमा मनाइयो जमानी जात्रा

हिमाल प्रेस २२ मंसिर २०७९ १६:३०
10
SHARES
बैतडीको निंगलाशैनी मन्दिरमा मनाइयो जमानी जात्रा

बैतडी– बैतडीको निंगलाशैनी भगवती मन्दिरमा जमानी जात्रा मनाइएको छ। दशरथचन्द नगरपालिका २ देहीमाण्डौँस्थित उक्त मन्दिरमा बिहीबार जात्रा भर्न आउने दर्शनार्थीको घुइँचो लागेको छ।

हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन यस मन्दिरमा जमानी जात्रा आयोजना हुने निंगलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मान बोहराले बताए।

जमानी जात्रामा निंगलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ।

भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा-टाढाबाट समेत भक्तजन दर्शनका लागि आउने गरेको स्थानीय दीपेन्द्र बोहराले जानकारी दिए।

हरेक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको विशेष पूजाआजा हुने गरेको छ।

जात्रामा भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीसमेत आउने गरेका छन्। जात्रामा निंगलाशैनी भगवतीको उत्पत्तिसँग जोडिएको ठाडो खेल र देउडासमेत खेल्ने गरिएको छ।

अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबली हुने भए पनि यो जात्रामा कुनै प्रकारको बली हुँदैन। जात्राअवधिभर देहिमाडौँ क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ।

निंगलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुदर्शी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन विशेष पूजाआजासहित जात्रा लाग्ने गर्छ।

प्रकाशित: २२ मंसिर २०७९ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =