नेपालमा रंगशाला बनाउन कतार तयार छ : राजदूत मोहम्मद अल हेल [अन्तर्वार्ता]

हिमाल प्रेस २२ मंसिर २०७९ १८:३९
60
SHARES
नेपालमा रंगशाला बनाउन कतार तयार छ : राजदूत मोहम्मद अल हेल [अन्तर्वार्ता]

खाडी मुलुक कतारमा फिफा विश्वकपको २२ औँ संस्करण जारी छ। कतिपय मुलुकले कतारले सफल रूपमा प्रतियोगिता सम्पन्न गर्न लागेको भनेर तारिफ गरिरहेका छन्। केही पश्चिमा मिडियाहरूमा भने मजदुरको रगतमाथि फुटबल खेलाएको भनेर कतारको आलोचना भइरहेको छ। त्यसैले यति बेला विश्वको नजर कतारतर्फ छ। नेपालस्थित कतारका राजदूत मोहम्मद अल हेल पनि फुटबलमा रमाइरहेका छन्। त्यसो त उनी कतार युथ फुटबलका प्रशिक्षकसमेत हुन्। राजदूत हेल कहिले कलाकार, कहिले राजनीतिज्ञ त कहिले पत्रकारलाई निवासमा बोलाएर विश्वकप हेर्दै आएका छन्। उनी यतिबेला नेपालमा रहेका राजदूतको डिन पनि हुन्। नेपाललाई दोस्रो घर भन्न रुचाउने उनै डिन राजदूत हेलसँग विश्वकप आयोजना र त्यहाँको अवस्थाबारे हिमालप्रेसले गरेको संक्षिप्त कुराकानी :

विश्वकप आयोजना गर्न कति गाह्रो हुँदो रहेछ?

यसअघिका विश्वकप आयोजकहरूको पनि आलोचना भएकै थियो। यस मामिलामा कतारमात्रै एक्लो छैन। तर विश्वकपको इतिहासमा हामीले सम्भवतः सबैभन्दा धेरै आलोचना खेपिरहेका छौँ। युरोपका धेरै देशमा यसपल्टको विश्वकप बहिष्कार गर्नुपर्ने आवाजसमेत उठ्यो। फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले नै कतारलाई विश्वकप आयोजना गर्न दिएर गल्ती गरिएको बताए। तर कतारले सही ढंगमा विश्वकप आयोजना गर्ने प्रयास गरेको छ। फुटबल खेलको इज्जत राख्न र समर्थकलाई निराश नबनाउन हामी सदैव सचेत रहिआएका छौँ।

आप्रवासी श्रमिक अधिकारका विषयमा भइरहेको आलोचनालाई के भन्नुहुन्छ?

हामीले आप्रवासी कामदारको अधिकार सुनिश्चित गर्नका लागि धेरै काम गरेका छौँ। म के पनि भन्न चाहन्छु भने कतार रचनात्मक आलोचनालाई स्वागत गर्छ। तर अनावश्यक टिप्पणी सहँदैन। खेललाई राजनीति, कसैप्रति घृणा र रंगभेद फैलाउन प्रयोग गर्नु हुँदैन। खेल त विश्वभरका मानिसलाई एक ठाउँमा ल्याउन प्रयोग गर्ने सशक्त माध्यम हो। हामी मानवीय मूल्यमान्यताको सम्मान गछौँँ। कतारमा सबैलाई स्वागत गर्न चाहन्छौँ।

पुगनपुग चार लाख जनसंख्या भएको देशमा निर्माण गरिएका महँगा पूर्वाधार विश्वकपपछि प्रयोगमा नआउने खतरा छैन?

विश्वकपका लागि निर्माण भएका खेलकुद पूर्वाधार (र अरू पूर्वाधार पनि) भविष्यका लागि पनि हो। यी पूर्वाधारको प्रयोग आउँदो पुस्ताले पनि गर्न पाउनेछ। कतारको ‘भिजन २०३०’ योजना छ। सोहीअनुसार कतारले खेलकुद सहर निर्माण गर्दैछ। जहाँ ठूलाठूला प्रतियोगिता आयोजना गर्न सकियोस्। विश्वकपका लागि जेजति पूर्वाधार बनाइएका छन्, ती सबै त्यही योजनाअन्तर्गतका हुन्।

विश्वकप आयोजना हुँदै गर्दा कतारी नागरिक, पूर्वखेलाडी र पूर्वप्रशिक्षकका रुपमा तपाईँलाई कस्तो महसुस भइरहेको छ?

कतारमा विश्वकप आयोजना हुनु सबै कतारीका लागि गर्वको कुरा हो। कतारका लागि मात्र नभई समग्र खाडी र अरब क्षेत्रकै लागि यो ऐतिहासिक अवसर हो। यस क्षेत्रमा फुटबलप्रतिको स्नेह प्रगाढ छ। मलाई लाग्छ, विश्वकप आयोजना आउँदा पुस्ताका लागि गर्वको विषय बन्नेछ।

भविष्यमा कतारले नेपालमा एउटा रंगशाला निर्माण गरिदिन सक्छ?

कतार विश्व खेलकुदको शक्ति बन्न प्रयासरत छ। हामीले फ्रान्सेली फुटबल लिगमा क्लब खरिद गरेका छौँ। दोहा लगायतका सहरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै आएका छौँ। नेपालजस्ता विकासशील देशको खेलकुद विकासमा कतारले सहयोग गरिरहेको छ। उदाहरणका लागि रंगशाला निर्माण। विश्वकप खेल भइरहेका कतारी रंगशाला निर्माणमा हजारौँ नेपाली खटिएका थिए। नेपालीहरू कतार विकासमा नै खटिएकाले नेपाली प्रति हामी ऋणी नै छौँ ।

कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघबीच एमओयू गरिएको छ। यहाँको ओलिम्पिक कमिटीसँग पनि हामीले एमओयू गरेका छौँ। यसरी कतार औपचारिक रुपमै नेपाली खेलकुदको साथमा छ। कतारले नेपाली राष्ट्रिय फुटबल टिमका लागि प्रशिक्षकसमेत उपलब्ध गराउँदै आएको छ। कयौँ नेपाली खेलाडीको उपचार अस्पायर एकेडेमीमा हुँदै आएको छ। कतार एयरवेजले यहाँको लिग प्रायोजन गरेको छ। नेपालमा रंगशाला निर्माण गर्न कतार सहयोग गर्न तयार छ। तर यस विषयमा हामीलाई कुनै किसिमको लिखित प्रस्ताव आएको छैन। हामीले यससम्बन्धी कागजात पाएका छैनौँ।

प्रकाशित: २२ मंसिर २०७९ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =