धुमधामले मनाइँदै ‘यो:मरी पुन्हि’

हिमाल प्रेस २२ मंसिर २०७९ १०:१०
8
SHARES
धुमधामले मनाइँदै ‘यो:मरी पुन्हि’

काठमाडौँ- लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ। यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘योःमरी पुन्हि’।

हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ। नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ।नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन्। मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन्।

मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने योःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान योःमरीबाट प्रख्यात छ। ‘यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान योःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम योःमरी पुन्हि रहन गएको हो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने।

कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो। यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समुदायले उधौली पर्व मनाउँछन्। त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ।

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। योःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन्। योःमरीमा धरतीको रूपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रूपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ।

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ। भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै योःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ।

धानका भकारीलगायत अन्नका भण्डारमा योःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ। यसरी चढाएको योःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ।

योःमरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो। योःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ।

योःमरी माग्दा यसरी गीत गाउने गरिन्छ।

त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, योःमरी छगः ती यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
योःमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा

अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देउ, यो सालको बाली भित्रियो योःमरी एउटा देउ, योःमरी दिए तरुनी नदिए चाउरी बूढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, योःमरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बूढी।

उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु सो भाका गाउँदै योःमरी माग्न भने जान छाडेका छन्। युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदै जाँदा योःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदै गएको संस्कृतिकर्मी बताउँछन्।

योःमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ। योःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ।

नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा योःमरी बनाउन कठिन पर्ने र योःमरी फुट्ने डर हुन्छ ।

त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ। सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र योःमरी तयार हुन्छ। आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ।

योःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ। सो हाँसीमा योःमरी राखेर बाफले योःमरी पकाइन्छ। करिब पाँच मिनेट जति बफाएपछि योःमरी तयार हुन्छ । अचेल मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ।

पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ। त्यसैले यो सबैलाई मन पर्दछ। सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम योःमरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुर्षोत्तमलोचन श्रेष्ठ बताउँछन्।

नेवार समुदायमा योःमरीको सांस्कृतिक एवं धार्मिक महत्त्व रहेको छ। धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योःमरी पुन्हिका दिन सबैले योःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ।

विशेष गरी जन्मदिनलगायतका विशेष शुभकार्यमा योःमरी नभई नहुने पकवानमध्ये एक हो। योःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिनजस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा डा श्रेष्ठले बताए। ‘बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म योःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ’, श्रेष्ठले भने।

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ। त्यसबेला पनि कुनै कुनै समुदायमा एक सय आठ वटा योःमरी लैजानुपर्ने चलन रहेको छ। त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर योःमरी खसाल्ने चलन छ।

वैज्ञानिक हिसाबले पनि योःमरीको महत्त्व रहेको पाइन्छ। जाडो महिनामा मनाइने योःमरी पुन्हिमा पकाइने पकवान योःमरीमा रहेको चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ।

यस पूर्णिमाका रातलाई सबैभन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ। यस पूर्णिमाको भोलिपल्टदेखि योःमरीको चुच्चो जतिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास पनि रहेको छ।

धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे।

उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पतिपत्नीको एक पटक परीक्षा गर्नुपर्‍यो भन्दै गरिबको भेष धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन्।

गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पतीले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठोमीठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिबरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन्। केही बेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि योःमरी बनाउने विधि सिकाइ बफाउने तामाको भाडासमेत दिई अन्तर्घ्यान भएछन्।

कुबेरले सिकाएबमोजिम सुचन्द दम्पतीले नयाँ चामलको पिठोको योःमरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन्। योःमरी आफूले खाई अरूलाई पनि बाँडेछन्।

त्यसपछि उनीहरूले अन्नहरू जति दान दिन्छन् त्यति नै भरिने भएछ। श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ। कुबेरको प्रतीक योःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ।

यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन्। बौद्धमार्गीले योःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दुमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अर्थ्याउँदै आएका छन्। रासस

प्रकाशित: २२ मंसिर २०७९ १०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast