यसरी बनाइन्छ नेवारी परिकार यो:मरी(तस्बिरसहित)

दिपेश श्रेष्ठ २२ मंसिर २०७९ १३:२२
28
SHARES
यसरी बनाइन्छ नेवारी परिकार यो:मरी(तस्बिरसहित)

काठमाडौँ- नेवार समुदायको परिकार मध्ये योःमरी पनि एक हो। योःमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ। चामलको पिठोलाई शुद्ध घ्यु हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ। योःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ। नरम हुने गरी मुछिएको डल्लोलाई हावाबाट बचाउन सफा मलमलको कपडाले छोपिन्छ।

हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने र योःमरी बनाउन कठिन पर्ने साथै बनेको योःमरी फुट्ने डर हुन्छ। मुछेर तयार पारिएको पिठोको डल्लोलाई चोर औँलाको सहायताले घुमाउँदै पातलो पार्दा झन्डै शंखको आकारमा परिणत हुन्छ।

योस्मरीको माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो परेको हुन्छ भने तल्लो भागमा खोक्रो ठाउँ बन्छ। सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र योःमरी तयार हुन्छ। आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ।

योःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ। सो हाँसीमा योःमरी राखेर बाफले योःमरी पकाइन्छ। करिब पाँच मिनेट जति बफाएपछि योःमरी खानको लागि तयार हुन्छ । अचेल भने योःमरी बफ्याउने मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ।

पानीको बाफबाट पकाइने यो नेवारी परिकार निक्कै स्वादिलो हुन्छ। सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम योःमरी अर्थात् मनपर्ने रोटी रहन गएको हो भन्ने भनाइ पनि छ।

 

 

प्रकाशित: २२ मंसिर २०७९ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =