स्थापना दिवसमा काठमाडौँ महानगरले चित्रकला र निबन्ध प्रतियोगिता गराउने

हिमाल प्रेस २१ मंसिर २०७९ १८:२२
10
SHARES
स्थापना दिवसमा काठमाडौँ महानगरले चित्रकला र निबन्ध प्रतियोगिता गराउने दिवसमा आयोजना गरिने कार्यक्रमबारे बुधबार जानकारी दिँदै महानगरका जनप्रतिनिधि र कर्मचारीहरू। तस्बिर सौजन्य- चन्द्रमणि भट्टराई

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा चित्रकला र निबन्ध लेखन प्रतियोगिता गराउने भएको छ। २८ औँ महानगर दिवसका अवसरमा महानगरपालिकाले मंसिर २९ गते उक्त प्रतियोगिता गराउने भएको हो।

बुधबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले दिवसका अवसरमा आयोजना हुने कार्यक्रमबारे जानकारी दिँदै यस्तो बताएको हो। कार्यक्रममा महानगरका प्रवक्ता नवीन मानन्धरले विगत वर्षमा आयोजना हुने कार्यक्रमलाई विशेष रूपमा निरन्तरता दिइने जानकारी दिए।

विशेष कार्यक्रमअन्तर्गत अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, बाजागाजामा युवाको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरका वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गर्ने पनि उनले बताए।

विगत वर्षमा गरिएकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरूको सम्मान, कला प्रवर्द्धनका लागि प्रतियोगात्मक चित्रकला प्रदर्शनी, महिला, उद्यमी मेला, खुला क्षेत्रको सरसफाइ, स्वास्थ्य शिविर सञ्चालन, हाडीगाउँ सम्पदा महोत्सव, जनचेतनामूलक सडक नाटक, विपद्को कृत्रिम अभ्यास कार्यक्रलाई पनि समेट्ने उनले उल्लेख गरे।

यस्तै फरक क्षमता भएका (सुस्त श्रवण, सुस्त मनस्थिति, विशेष विद्यालय) विद्यार्थीहरूका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने उनले जानकारी दिए।

बालाजु औद्योगिक क्षेत्रमा दमकल राख्ने कार्यक्रम पनि महानगरका दिवसका दिन नै उद्घाटन गरिने बताइएको छ।

०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषणा गरिएपछि हरेक वर्ष यसै दिनलाई महानगरले आफ्नो दिवसका रूपमा मनाउँदै आएको छ। १९७६ साल पुस २ गते स्थापित सफाइ अड्डालाई काठमाडौँ महानगरका रूपमा विकास गरिएको हो। हाल यस महानगरपालिकाअन्तर्गत ३२ वटा वडाहरू समावेश छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =