मासिक ७ हजार लिटर खानेपानीको बिल भरतपुर महानगरले व्यहोर्ने

हिमाल प्रेस २१ मंसिर २०७९ १७:४२
10
SHARES
मासिक ७ हजार लिटर खानेपानीको बिल भरतपुर महानगरले व्यहोर्ने

भरतपुर– भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि उपभोक्ता समिति र व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ। महानगरकी म्य रेनु दाहालले मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले व्यहोर्ने निर्णय गरेकी हुन्।

सोही निर्णय कार्यान्वयन गर्नका लागि बुधबार आयोजित कार्यक्रमबीच उपभोक्ता समिति र बोर्डसँग महानगरले सम्झौता गरेको हो। महानगरभित्रका १० उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग महानगरले सम्झौता गरेको हो।

सम्झौता पत्रमा भरतपुर महानगरपालिकाका तर्फबाट वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका सिनियर डिभिजन इन्जिनियर लक्ष्मी भण्डारी र उपभोक्ता समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन्।

मेयर दाहाल, उपमेयर चित्रशेन अधिकारीको रोहबरमा सम्झौता गरिएको हो।

सम्झौतासँगै महानगरपालिकाले गरेको निर्णय यही मंसिरदेखि कार्यान्वयनमा आउने भएको छ। सम्झौता कार्यक्रममा मेयर दाहालले दुई वर्षमा महानगरवासीलाई खानेपानीको समस्या नहुने गरी योजना अघि बढाइएको बताइन्।

‘खानेपानी समस्या समाधानका लागि ठूला आयोजना निर्माणको चरणमा छन्। केही समयमा महानगरवासीले खानेपानीको समस्या झेल्नुपर्दैन,’ उनले भनिन्।

अहिले महानगरभित्र खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिका गरी ४५ हजार २ सय ३ वटा धारा जडानको काम सम्पन्न भएको उनले जानकारी दिइन्।

४७ हजार ५० धारा जडानको क्रममा रहेको पनि उनले बताइन्।

उपमेयर अधिकारीले महानगरका ३ स्थानमा खानेपानी आयोजना निर्माणको चरणमा रहेको र छिट्टै सम्पन्न हुने उल्लेख गरिन्। दुई वर्षभित्र महानगरका हरेक घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको उनको भनाइ छ।

पहाडी क्षेत्रमा डीप बोरिङबाट खानेपानीको समस्या समाधान हुन नसकेको भन्दै उनले पहाडी क्षेत्रमा मुहानको पानीको व्यवस्था गर्ने तयारी गरिएको स्पष्ट पारिन्।

कार्यक्रममा मेघौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवलाल भुर्तेल र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती पराजुलीले महानगरको यो कार्य प्रशंसनीय रहेको उल्लेख गरे।

प्रकाशित: २१ मंसिर २०७९ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =