बेनीमा नौ करोडका गौरवको आयोजना

हिमाल प्रेस २१ मंसिर २०७९ ८:२७
8
SHARES
बेनीमा नौ करोडका गौरवको आयोजना फाइल तस्बिर।

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ।

नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट नौ करोड एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर बिमलरञ्जन कार्कीले सातवटा ठूला योजनाको ठेक्का लागिसकेको बताए। ‘ठेक्काबाट दुईवटा योजना निर्माण सुरु भइसकेका र पाँचवटा सुरु हुने तयारीमा छन्’, उनले भने, ‘तीनवटा योजनाको ठेक्का आह्वान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाने तयारीमा छौँ।’

नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नं ६ अर्थुङ्गेबाट वडा नं ९ को सिमानासम्मको सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौँले ६६ लाख ९३ हजार तीन सय ९१ रुपैयाँ मा ठेक्का पाएको छ। एक करोड २१ लाख रुपैयाँ लागत अनुमान गरिएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक निर्माणका लागि उत्तरगंगा निर्माण सेवा बेनीले ८५ लाख ४० हजार रुपैयाँमा ठेक्का पाएको छ।

गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ, नगरपालिकाको गौरवको योजना शीर्षकमा २५ लाख रुपैयाँ र समपूरक कोषबाट ४६ लाख रुपैयाँ विनियोजन गरेको थियो। यो योजनामार्फत वडा नं ६ को बाँसबोटसम्म तीन–तीन सय मिटर ढलान र कालोपत्रका साथै नाली निर्माण गर्ने लक्ष्य छ।

७० लाख रुपैयाँ लागत अनुमान गरिएको बेनी–महारानीथान–छाप–ठूलोखोला सडक योजना खुसीहोम बिल्डर्सले ५८ लाख रुपैयाँमा ठेक्का लिएको छ। वडा नं ४ र ६ को भूगोलमा ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्न लागिएको हो। २५ लाख रुपैयाँ विनियोजन भएको बेनी–ज्यामरुककोट सडकको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो खण्डमा नाली बनाउन भगवती मालिका कन्ट्रक्सनले २० लाख ५० हजार रुपैयाँमा ठेक्का लिएको छ।

२३ लाख ३० हजार रुपैयाँ विनियोजन भएको बेनपा–४ को तातोपानी बजार कालोपत्र गर्ने योजना सोमरस निर्माण सेवाले २१ लाख २२ हजार रुपैयाँमा ठेक्का पाएको छ। तल्लो तातोपानी बजारभित्र प्रिमिक्स प्रविधिको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ। ५० लाख रुपैयाँ विनियोजन भएको बेनी मिनी रंगशाला योजना निर्माणका लागि ३५ लाख ९३ हजार रुपैयाँमा ठेक्का लिएको उत्तरगंगा निर्माण सेवाले पर्खाल र प्यारापिट निर्माण सुरु गरेको छ।

नगरपालिकाको प्रशासकीय भवनको तला थप गर्ने योजनाको ठेक्का पाएको शंकर निर्माण सेवाले पनि काम तीव्ररूपमा गरिरहेको छ। ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको नगरपालिकाको भवनमा तला थप गर्ने योजना ५२ लाख ५८ हजार दुई सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। संघीय सरकारको एक–एक करोड रुपैयाँ अनुदान प्राप्त गाजने–नयाँगाउँ–ढोलठान–पुलाडाँडा र पात्लेखेत काछलुङ खानेपानी आयोजनाको ठेक्का आह्वान भएको छ।

विशेष अनुदानबाट ४९ लाख ३० हजार रुपैयाँ प्राप्त खबरा खानेपानी योजनाको अधुरो कामलाई पूर्णता दिन पनि ठेक्का आह्वान भएको छ। संघीय सरकारको ७० लाख रुपैयाँ, प्रदेश सरकारको ५० लाख रुपैयाँ अनुदान र नगरपालिकाले ७० लाख रुपैयाँ विनियोजन गरेको चिस्यान गृह निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ।

बेनी नगरपालिका–४ सिङ्गामा तीन सय मेट्रिक टन क्षमताको फलफूल र तरकारी भण्डारण गर्ने चिस्यान गृह बनाउन लागिएको नगरप्रमुख सुरत केसीले बताए। १५ लाख रुपैयाँसम्म बजेट विनियोजन भएका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नगरप्रमुख केसीले बताए।

प्रकाशित: २१ मंसिर २०७९ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =