सुदूरपश्चिम प्रदेशसभा : प्रत्यक्षमा महिला सांसद शून्य, समानुपातिकबाट १७ जनालाई अवसर

पदमराज भट्ट २० मंसिर २०७९ १७:१५
6
SHARES
सुदूरपश्चिम प्रदेशसभा : प्रत्यक्षमा महिला सांसद शून्य, समानुपातिकबाट १७ जनालाई अवसर

धनगढी- सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फको ३२ वटै क्षेत्रमा पुरुष निर्वाचित भएका छन्। यहाँ ११ सिटका लागि १२ महिलाले मात्रै उम्मेदवारी दर्ता गराएका थिए। तर, कसैले पनि जित हासिल गर्न सकेनन्।

प्रत्यक्षतर्फ कांग्रेसले १२, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र एकीकृत समाजवादीका तीनतीन र एक जना स्वतन्त्र निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ महिला सांसद शून्य भएपछि सुदूरपश्चिममा कम्तीमा १७ जना महिलालाई समानुपातिक प्रणालीबाट संसद् प्रवेश गराउनुपर्ने भएको छ।

प्रदेशसभाका कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सदस्य छानिन्छन्। अब १७ जना महिला सदस्य अनिवार्य हुनुपर्छ।

समानुपातिकबाट कांग्रेस र एमालेले सातसात, माओवादीले तीन, नागरिक उन्मुक्तिले दुई तथा एकीकृत समाजवादी र राप्रपाले एकएक सिट पाउने देखिन्छ। आफूले पाएका सिटबाट दलहरूले छनोट गर्दा खसआर्य ६०.०२, दलित १७.२९, थारू १७.२१, जनजाति ३.६१, मधेशी १.६४ र मुस्लिम ०.२३ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ। यसरी छान्दा अल्पसंख्यक समुदायबाट २.३७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट १२.७८ प्रतिशतको नाम समावेश गर्नुपर्ने हुन्छ।

कांग्रेसबाट मधु भारती, सरस्वती खड्का, डम्मरी महरा, जुनाकुमारी दानी, ललिता सुनार, गीताकुमारी चौधरी र धनबहादुर बुढा सांसदमा चुनिने सम्भावना बढी छ।

यस्तै एमालेबाट सन्तोषकुमारी शर्मा, जानकी बम, राधिका भुजेल, राजेन्द्रसिंह रावल, भरत साउद, हिरा सार्की र कुलदिव चौधरी, माओवादी केन्द्रबाट गीतादेवी माल, जानकीदेवी कुँवर र लक्ष्मी बिक, नागरिक उन्मुक्ति पार्टीबाट टीका थापा र इन्दिरा गिरी, एकीकृत समाजवादीबाट माया पन्त तथा राप्रपाबाट पूर्णबहादुर चन्द समानुपातिक प्रणालीबाट सांसद बन्ने सम्भावना बलियो छ।

दुई दल बाहिरिए, दुई नयाँ थपिए

सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकालमा सहभागी दुई दल बाहिरिएका छन्। अहिलेको निर्वाचनबाट थप दुई दल भित्रिएका छन्।

सुदूरपश्चिम प्रदेशसभामा २०७४ को निर्वाचनमा सहभागी भएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले थ्रेसहोल्ड कटाउन सकेनन्। प्रत्यक्षमा पनि जित निकाल्न सकेनन्।

मंसिर ४ को निर्वाचनबाट सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र राप्रपा नयाँ दलका रूपमा प्रदेशसभामा उपस्थित हुनेछन्। नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभाको पहिलो निर्वाचनमै अर्थपूर्ण सहभागिता जनाउँदैछ।

प्रत्यक्षबाट ५ र समानुपातिकबाट दुई गरी नागरिक उन्मुक्तिका सात जना प्रदेशसभामा सहभागी हुनेछन्।

प्रत्यक्ष निर्वाचनमा सफल नभए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक प्रणालीमा प्राप्त गरेका मतका आधारमा प्रदेश सभामा सहभागिता जनाउने भएको छ। सुदूरपश्चिममा समानुपातिक प्रणालीमार्फत राप्रपाले एक सिट पाउने निश्चित भएको छ।

सुदूरपश्चिम प्रदेशसभामा सहभागिता जनाउने जम्मा दलको संख्या ६ नै कायम हुने भएको छ। प्रदेशसभाको पहिलो कार्यकालको अन्त्यतिर पनि प्रदेशसभामा सहभागिता जनाउने दलको संख्या ६ पुगेको थियो।

२०७४ को निर्वाचनपछि सुरुमा सुदूरपश्चिम प्रदेशसभामा सहभागिता जनाउने दलको संख्या चार थियो। एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको प्रदेशसभामा सहभागिता थियो।

राष्ट्रिय जनता पार्टीले २०७४ को निर्वाचनमा एक सिट प्रत्यक्ष र एक सिट समानुपातिक कोटाबाट जितेको थियो। तर निर्वाचनको केही समयमै एमाले र माओवादी केन्द्र मिलेर (नेकपा) बनेपछि प्रदेश सभामा सहभागी दलको संख्या तीन कायम भएको थियो।

तर, प्रदेशसभाको मध्य कार्यकालसम्म आइपुग्दा अदालतले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काइदिएपछि प्रदेशसभामा पुनः सहभागी दलको संख्या चार पुगेको थियो। त्यसलगत्तै एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी बन्यो। यता जसपाबाट फुटेर लोसपा गठन भएपछि प्रदेशसभा सहभागी दलको संख्या ६ पुगेको थियो।

प्रकाशित: २० मंसिर २०७९ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =